चीनमा ४४ जना नेपाली चेली अलपत्र

2019-06-27

बेइजिङ - गार्मेन्ट कारखानामा काम गर्न चीन आएका ४४ नेपाली महिला अलपत्र पारेका छन् । चीनको उत्तर–पूर्वमा पर्ने ल्याबोनिङ प्रान्तको तानतोङस्थित तानतोङ गार्मेन्ट कारखानामा काम गर्न आएका नेपाली चेली भिसा अवधि सकिएपछि अलपत्र परेका हुन् । उनीहरूलाई एकमहिने पर्यटक भिसामा काठमाडौंस्थित एक मेनपावर कम्पनीले चीन पठाएको थियो । अलपत्र नेपाली चेलीले आफूहरूलाई चीन पठाउने मेनपावर कम्पनी र बेइजिङस्थित नेपाली दूतावाससँग उद्धार गरी नेपाल पठाइदिन अनुरोध गरेका छन् ।

काठमाडौं गौशाला पिंगलास्थानमा रहेको कम्पास रिक्रुटमेन्ट मेनपावर कम्पनीले मोटो रकम लिएर आफूहरूलाई चीन पठाएको ती चेलीले बताएका छन् । उक्त मेनपावर कम्पनीले गार्मेन्ट कारखानामा कपडा ‘प्याकिङ’ गर्ने काम र आकर्षक तलब पाइने भन्दै झुक्याएर चीन पठाएको आरोप उनीहरूको छ । गत मे १२ मा ३९ जना र सोही महिनाको ३१ तारिखमा १० नेपाली महिला उत्तर कोरियाको सीमानजिकै पर्ने तानतोङ आएका थिए । उनीहरुमध्ये पाँचजना केही सातापछि नेपाल फर्किसकेका छन् भने ४४ जना अलपत्र परेका छन् । पहिलो चरणमा चीन आएका ३४ जनाको भिसा सकिएको दुई साता भइसकेको छ भने दोस्रो चरणमा आएका १० जनाको भिसा पनि सकिँदैछ । चिनियाँ कानुनअनुसार अवैधरुपमा चीन बस्ने विदेशीलाई दैनिक पाँच सय युआन जरिवाना हुन्छ । भिसा अवधि सकिएको तीन सातापछि हिरासतमा लिइन्छ । चीनमा अलपत्र पर्नेमा १९ देखि ३७ वर्ष उमेरसम्मका सामान्य साक्षरदेखि उच्च मावि तह उत्तीर्णसम्म छन् ।

उद्धारका लागि नेपाली दूतावास र मेनपावर कम्पनीसँग हारगुहार
कम्पास रिक्रुटमेन्ट मेनपावर कम्पनीका राम कार्की, गिरिराज घिमिरे र निर्णय पौडेलले मोटो रकम लिएर आफूहरुलाई चीन पठाएको अलपत्र नेपाली चेलीले बताएका छन् । नेपालबाट चीन पठाउँदा गार्मेन्ट कारखानामा कपडा ‘प्याकिङ’ गर्ने भनिए पनि आफूहहरूले यहाँ आएर मेसिनबाट लुगा सिलाउने काम गर्नुपरेको अलपत्रमध्येकी सविता भट्टराईले बताइन् । मेसिन चलाउन आउँदैन भन्दा पनि जबरजस्ती काममा लगाइएको र मेसिन वा गार्मेन्ट बिग्रिएमा क्षति तिर्नुुपर्ने भन्दै रोजगारदाताले धम्की दिने गरेको उनले बताइन् ।

एजेन्टमार्फत कम्पास मेनपावरको सम्पर्कमा आएका उनीहरुले जनही कम्तीमा ६० हजारदेखि एक लाख २० हजार रुपैयाँसम्म तिरेको पीडितमध्येकी सर्लाहीकी संगीता बखरेलले बताइन् । कम्पास मेन पावर कम्पनीले उनीहरुलाई ३५ हजार रुपैयाँ तलब हुने भनेको थियो तर यहाँ एक महिनाको तलब भन्दै तीन सय ४५ चिनियाँ युआन (पाँच हजार रुपैयाँ ) मात्र दिइएको गुनासो उनले गरिन् । उनका अनुसार थोरै पैसामा काम गर्न नसक्ने भन्दै कम्पास मेनपावर कम्पनीमा फोन गरेपछि गार्मेन्ट कारखानाले एक सय डलर थपिदिएको थियो । पैसा थपिदिए पनि नेपालमा सम्झौता गर्दा उल्लेख गरिएको ३५ हजारको आधा पनि हुँदैन । गार्मेन्ट कारखानामा वाङ र चाङ नाम गरेका व्यक्तिले काम लगाउने गरेको बखरेलले बताइन् ।

काठमाडौंस्थित कम्पास मेनपावर कम्पनीबाट एक महिनाको पर्यटन भिसामा गार्मेन्ट कारखानामा काम गर्न चीन पठाइएका नेपाली चेलीको भिसा अवधि सकिएको छ । उनीहरूले सम्झौताअनुसार सेवासुविधा र तलब पनि पाएका छैनन् ।
बखरेलका अनुसार नेपालबाट चीन पठाउँदा मेनपावर कम्पनीले दैनिक ८ घण्टामात्र काम गर्नुपर्ने भने पनि ११ घण्टासम्म पसिना बगाउनुपरेको छ । बिहान ६ बजे घण्टी बजेपछि एक कचौरा जाउलो खाएर सात बजेभित्र कारखानाभित्र छिरिसक्नुपर्छ । सातदेखि १२ बजेसम्म काम गरेपछि खाना खान क्यान्टिन जानुपर्छ । क्यान्टिनमा एउटा तरकारी र एक कचौरा भातमात्र खान दिइन्छ । आधा घण्टाभित्र खाना खाएर साढे १२ देखि साँझ साढे ६ बजेसम्म निरन्तर काम गर्नुपर्छ । एउटा कोठामा ८ जनालाई राखिन्छ । कोही बिरामी भएर काममा जान नसके क्यान्टिनमा खाना खान नदिने गरेको बखरेलले बताइन् । कारखाना परिसरभन्दा बाहिर निस्कन नदिने र त्यहाँ पसल भए पनि किनेर खान नपाइने भएकाले बिरामी पर्दा भोकभोकै बस्नुपरेको उनले बताइन् । उनका अनुसार महिनामा दुई दिनमात्र बिदा हुन्छ । कारखानामा आफूहरूलाई शारीरिकसँगै मानसिक यातना दिइएको र मेनपावर कम्पनीलाई उद्धार गरी नेपाल फर्काउन भन्दा उसले ‘त्यस्तै हो काम गर्दै गर’ भनेर अलमल्याएको अर्की पीडित सुमित्रा बराइलीले बताइन् ।

गत अक्टुबरमा ल्याबोनिङ प्रान्तको तानतोङबाट तानतोङ गार्मेन्ट कारखानाले नेपाली कामदार माग गर्न स्वीकृतिका लागि बेइजिङस्थित नेपाली दूतावासमा आवेदन दिएको थियो । आवेदनमा साताको ६ दिन काम गर्ने र मासिक तलब साढे तीन सय अमेरिकी डलरदेखि माथि हुने उल्लेख गरिएको थियो । कारखानाको स्थलगत निरीक्षणपछि उपयुक्त लागेर स्वीकृति दिएको दूतावासका मिनिस्टर सुशील लम्सालले नागरिकलाई बताए । सम्झौताअनुसारको काम र पारिश्रमिक किन नदिएको भनेर दूतावासले प्रश्न गर्दा गार्मेन्ट कारखानाका अधिकारीले अत्यन्त गैरजिम्मेवार जबाफ दिने गरेको उनले बताए । लम्सालले भने, ‘कम्पास मेनपावरले नेपालीलाई त्यत्रो पैसा दिनुपर्दैन । त्यो सम्झौता नेपाल सरकारलाई देखाउनमात्र हो भनेको रहेछ ।’

कम्पास मेनपावर कम्पनीले ‘मानव बेचबिखन’ कै रुपमा काम गरेको समेत पाइएको छ । चिनियाँ रोजगारदाता उक्त कम्पनीका अधिकारीले कम्पास मेनपावरका सञ्चालकले श्रमिकलाई सम्झौताअनुसार पैसा दिनुनपर्ने र बाँकी पैसा एकआपसमा बाँड्नुपर्ने भनेको जानकारी दूतावासलाई गराएका छन् । चिनियाँ कम्पनीले कामदार चीन आउँदा लाग्ने सबै खर्च बेहोरे पनि नेपालको मेनपावर कम्पनीले मनलाग्दी पैसा असुलेको छ । नेपाल फर्किएका चारजनाले आफूहरुले तिरेको पैसा फिर्ता माग्दा मेनपावर कम्पनीले आलटाल गर्दै आएको छ । ‘बाहिर हल्ला नगर, तिमीहरुलाई त्यही पैसामा अर्को देश पठाउँला’ भन्दै आफूहरुलाई अलमल्याएको चीनबाट फर्किएकी एक महिलाले टेलिफोनमा बताइन् ।

चिनियाँ कम्पनीले गत अक्टुबरमा नेपाली दूतावासमा बुझाएको सेवासुविधासम्बन्धी सर्तमा दिएको निवेदनअनुसार कामदारको स्वास्थ्य बिमा, हवाई टिकट, खानबस्न, टेलिफोन सुविधा, हरेक दुई वर्षमा नेपाल जाने टिकटसहित बिदाको सुविधा हुनेलगायत उल्लेख छ । तर कम्पनीले सर्तअनुसारका कुनै पनि सुविधा उपलब्ध नगराएको पीडितले बताएका छन् । चिनियाँ कम्पनीले नेपालीलाई कामदार भिसा पनि दिन नसक्ने संकेत गरेको छ । चीनमा विदेशीलाई कामदार भिसा दिन निकै कडा गरिएको छ ।
नेपाली दूतावासले नेपाली चेलीहरुको उद्धारका लागि चिनियाँ कम्पनी र काठमाडौंस्थित कम्पास मेनपावर कम्पनीसँग कुरा गरिरहेको मिनिस्टर लम्सालले जानकारी दिए । ‘जेजसरी हुन्छ, केही दिनमै उनीहरुलाई नेपाल फर्काउने काम हुन्छ’, लम्सालले भने, ‘चीनमा पर्यटन भिसामा आएर कामदार भिसा पाउन धेरै कठिन छ ।’

 

नागरिक




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ