कांग्रेस प्रतिवेदन : माथि हुने चरम गुटबन्दीले तल्लो तहका नेता-कार्यकर्तामा निराशा

2019-06-27

काठमाडौँ - राष्ट्रिय जागरण अभियानबाट फर्केका कांग्रेसका प्रतिनिधिले पार्टी गुटबन्दीका कारण कमजोर भएको सुझाब दिएका छन् । उनीहरूले माथिल्ला समितिमा हुने चरम गुटबन्दीले तल्लो तहका नेता–कार्यकर्तामा निराशा थपेको प्रतिवेदन तयार गर्न लागेका हुन् । अभियानमा केन्द्रीय प्रतिनिधिले भोगेको समस्या र गर्नेपर्ने कामसहितका विषयमा पार्टीलाई सुझाब दिने क्रममा केन्द्रीय प्रतिनिधिले जिल्लादेखि स्थानीय तहबाट पार्टी गुटबन्दीकै कारण कमजोर भएको बताए ।

‘संघीयताअनुसारको नयाँ संरचनामा पार्टी संगठनलाई पूर्णता दिनुपर्छ,’ सुनसरीका प्रतिनिधि महेश आचार्यले भने, ‘तल्लो तहका नेता कार्यकर्ताले पार्टीका तह पूर्ण हुँदा मात्र कार्यक्रम झन् प्रभावकारी हुने बताएका छन् ।’विधानअनुसार पार्टी संरचना नबन्दा जागरण अभियान अपेक्षित सफल नभएको भन्दै केही प्रतिनिधिले भदौमा हुने दोस्रो चरणको अभियानअघि वडादेखि प्रदेश तहसम्मकै पार्टीका संरचनालाई पूर्णता दिन माग गरेका छन् ।

२५ वैशाखदेखि एक महिनासम्म कांग्रेसले सरकारविरुद्ध भण्डाफोर र आन्तरिक संगठन सुदृढीकरणका लागि देशव्यापी पहिलो चरणको राष्ट्रिय जागरण अभियान गरेको थियो । सभापति शेरबहादुर देउवाले बुधबारको बैठकमा एक महिनासम्म जागरण अभियानमा जिल्लामा गएर काम गर्ने नेताहरूलाई धन्यवाद दिएका थिए । उनले पार्टी संगठनका अनुभव, देखे–भोगेका कुरा आपसमा बताउन र सुझाब राख्न भनेका थिए । बैठकमा झन्डै ३० जनाले सुझाब राखेका छन् । बिहीबार बाँकी प्रतिनिधिले सुझाब राख्ने कार्यक्रम छ ।

सामाजिक सञ्जाल प्रयोग भए–नभएको पनि उल्लेख गर्नुपर्ने

प्रतिनिधिलाई बाँडियो चारपाने फाराम
कांग्रेसले ७७ वटै जिल्लाामा गएका केन्द्रीय प्रतिनिधिलाई चारपाने फाराम वितरण गरेको छ । फाराममा जागरण अभियानमा भएका उपलब्धि र कमजोरीसहितका विवरण भरेर बिहीबारसम्म पार्टी कार्यालयमा बुझाउन भनिएको छ । सहभागी संख्या, प्रमुख अतिथि, प्रतिनिधि, जिल्लामा बसेको दिन, जिल्लाका अग्रज नेतासँगको भेटबारे फाराममा भर्नुपर्ने व्यवस्था छ । उद्घाटन र समापन कार्यक्रमबाहेक कति कार्यक्रम भए, महासमितिबाट पारित विधान, प्रस्तावबारे सुझाब, सम्बन्धित जिल्लाको काठमाडौं सम्पर्क समिति गठन भए, नभएको, जिल्ला कार्यसमिति पूर्ण भएको वा नभएको, जिल्ला, क्षेत्रीय कार्यसमितिको नियमित भए–नभएबारे पनि विवरण भर्नुपर्नेछ ।

सबै जिल्लामा जिल्ला, क्षेत्र, उपमहानगर, वडादेखि गाउँ कार्यसमितिको आफ्नै चल–अचल सम्पत्तिको विवरण, जिल्लाको कार्यालयमा टेलिफोन, इन्टरनेटसहित पूर्वाधार भए–नभएको, जनशक्ति पूर्ण भए–नभएको, १३औँ महाधिवेशनपछि पार्टीले गरेका महत्वपूर्ण क्रियाकलापको अवस्था, भ्रातृ संगठन, जिल्लामा शुभेच्छुक संस्थाको अवस्था, गठन भए वा नभएको, उनीहरूको प्रभाव पनि भर्नुपर्नेछ । त्यस्तै, पार्टीको सुदृढीकरणका लागि सुझाब, सरकारबारे कांग्रेस कार्यकर्ताको दृष्टिकोण र सरकारप्रति जनताको दृष्टिकोण, सूचना प्रविधि र सामाजिक सञ्जाल प्रयोगबारे जिल्लाको अवस्थाबारे पनि फाराममा प्रश्न सोधिएको छ ।

कसले के सुझाब दिए ?
महेश आचार्य प्रतिनिधि, सुनसरी
दोस्रो चरणको जागरण अभियानमा जानुभन्दा अगाडि नै संघीयताअनुसारको नयाँ संरचनामा पार्टी समितिलाई पूर्णता दिनुपर्छ । तल्लो तहका नेता कार्यकर्ताले पार्टीका तह पूर्ण हुँदा मात्र कार्यक्रम झन् प्रभावकारी हुने बताएका छन् ।

शिव हुमागाईं प्रतिनिधि, डोटी
चरम गुटबन्दीले कांग्रेस कमजोर भयो । तसर्थ पार्टीमा पूर्ण एकता हुनुप-यो भन्ने माग सबैभन्दा बढी छ । निर्वाचनमा मात्र गाउँमुखी हुने होइन, पार्टीका नेता कार्यकर्तासँग निरन्तर सम्पर्कमा बस्नुप-यो भन्ने छ । प्रदेशको सरकर खुला भ्रष्टाचारमा लागेको छ । कांग्रेसले प्रतिपक्षीका रूपमा दरिलो आवाज उठाउनुप¥यो । वैचारिक आदर्श, सिद्धान्तबाट पार्टी चलाऊ, प्रशिक्षण चलाऊ, मुहान नै शुद्ध बनाऊँ भन्ने सुझाब छन् ।

श्याम घिमिरे,प्रतिनिधि, कन्चनपुर
टिकट वितरण सही ढंगले सही समयमा नहुँदा कांग्रेस हारेको सुझाब धेरै आए । गुटबन्दी हटाउनुपर्ने कार्यकर्ताको माग छ । कांग्रेसले भ्रष्टाचारको विरोध गरेको छ तर, अनियमितता, राजनीतिकरणको विरोध, सांसद विकास कोषको दुरुपयोगको कुरा गर्दा हामीबाट यस्तो नहोस् भन्ने आस जनताले गरेका छन् । यसको जवाफ खोजेर मात्रै जनताकोमा जान सक्छौँ । आर्थिक विकासका लागि हाम्रो योजना के हो, स्पष्ट खाका दिनुपर्छ । कम्युनिस्टहरू अलोकप्रिय हुँदा यसको फाइदा राम्रो काम गरेर उठाउनुपर्छ ।

रामहरि खतिवडा,प्रतिनिधि, भोजपुर
पार्टी गुट उगुटबाट मुक्त हुनुप-यो । कार्यकर्ताले यही खोेजेका छन् । अन्तर्घातीहरू केही देउवा, कोही पौडेल, कोही सिटौलासँग फोटो खिच्छन् । तीनजना नेताको निकट यिनै हुन्छन् । काम गर्ने गाउँमा संगठन गर्न जान्छन् । नेताहरूले परिक्रमा गर्नेलाई नै समाउँछन् । गाउँमा गएर परिश्रम गर्नेलाई समाउँदैनन् । पार्टी दह्रो भए मात्र नेता दह्रो हुन्छ, त्यसैैले पार्टीलाई बलियो बनाउन लागौँ । समस्या छन् भने पार्टीभित्रै बसेर कुरा गरौँ । बाहिर गएर ठूलो स्वरमा हल्ला नगरौँ, पहिले एकताको सन्देश दिऊँ ।

तारामान गुरुङ,प्रतिनिधि, ताप्जेजुङ
केन्द्रको ६० र ४० को भागबन्डाले पार्टी बिग्रियो भन्ने गुनासो आयो । हामीबाट होइन तपाईंहरूले केन्द्रबाटै पार्टीलाई बिगार्नुभयो, गुटबन्दी नगरी पार्टीको हितमा काम गर्नुपर्ने सुझाब आएका छन् ।

नरेशबहादुर सिंह, प्रतिनिधि, बाजुरा
केन्द्रको गुटबन्दी बाजुरामा देखियो । तर, पार्टीभित्र भने विवाद देखिएन । तल्लो तहमा सैद्धान्तिक विवाद पनि छैन । केन्द्रको गुटबन्दीको छायाँ मात्र तल परेको हो ।

हर्षबहादुर मल्ल,प्रतिनिधि, हुम्ला
केन्द्रमा नेताहरूको गुटगत झगडा, भागबन्डाको असर तलका नेता कार्यकर्तामा देखियो । पार्टीलाई सुधार्ने हो भने पार्टी केन्द्रकै गुटबन्दी र भागबन्डा पहिले रोक्नुपर्छ ।

 

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ