नगरपालिका र बिमाबाट पहिल्यै क्षतिपूर्ति लिएका मेयरलाई सरकारको ३० लाख बक्सिस !

2019-06-24

बिर्तामोड - सरकारले बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ । स्थानीयको आन्दोलनका क्रममा १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बिमाबाट पूर्ति गरिसकेका मेयरलाई २० र २३ को मन्त्रिपरिषद् निर्णयबाट ३० लाख दिएको हो । साथीको घरमा खेल्न गएका अर्जुनधारा–११ का बालक लक्ष्मण सिवाकोटी नजिकैको पोखरीमा मृत भेटिएपछि हत्याको आरोपमा स्थानीय आन्दोलित भएका थिए । आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको पनि मृत्यु भएको थियो ।

घटनाले गम्भीर मोड लिँदासमेत मौन बसेको भन्दै १० कात्तिकको विरोध -यालीमा स्थानीयले मेयरको शनिश्चरेस्थित साढे दुईतले घरमा ढुंगा प्रहार गरेका थिए । त्यसक्रममा केही झ्यालका सिसा फुटेका थिए भने नगरपालिकाबाट लिएको मे.१झ १२१ नम्बरको गाडीमा र बा.१०च ३०६१ नम्बरको निजी कारमा सामान्य क्षति पुगेको थियो । उनको छोरा नेपाल रत्न सिवाकोटीको मे.७प ३००० नम्बरको बुलेट मोटरसाइकल भने आन्दोलनकारीले जलाइदिएका थिए ।

मेयर सिवाकोटीले घटनाको केही समयपछि जिल्ला प्रशासन कार्यालयमार्फत एक करोड चार लाखबराबरको क्षतिको विवरण बनाएर सरकारसँग क्षतिपूर्ति माग गरेका थिए । नातिको एउटा खेलौना गाडीको क्षतिपूर्ति मूल्य मात्रै २४ हजार माग गरेका थिए । झापाका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीले करिब एक करोड उपलब्ध गराउनुपर्ने फाइल गत वर्ष प्रधानमन्त्री कार्यालयमा पठाएको बताए । प्रधानमन्त्री कार्यालय स्रोतले पनि गत वर्ष नै फाइल प्राप्त भएको जनाएको छ । ‘गत वर्षदेखि नै फाइल रोकिएर बसेको थियो,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘त्यतिवेला जिल्ला प्रशासन कार्यालय झापाबाट फाइल प्रधानमन्त्री कार्यालयमा आएको हो ।’

अहिले नगरपालिकाको गाडी नगरपालिकाकै खर्चमा, निजी कार इन्स्योरेन्स रकमबाट मर्मत गरिसकेका र घरको सिसा फेरेर भित्तामा रङरोगन पनि गरेका सिवाकोटीलाई सरकारले ३० लाख के आधारमा दियो भन्ने प्रश्न उठेको छ । बिर्तामोडका नेकपाकै कार्यकर्ताले समेत आपत्ति जनाएका छन् । तत्कालीन एमालेबाट मेयर निर्वाचित सिवाकोटी प्रधानमन्त्री ओलीनिकट मानिन्छन् । बिर्तामोड आउँदा प्रधानमन्त्री धेरैजसो उनकै घरमा बस्छन् । सिवाकोटी बिर्तामोडका प्रतिष्ठित व्यवसायी एवं नर्सिङ कलेजका सञ्चालकसमेत हुन् ।

मेयर सिवाकोटीसहित सातजनालाई क्षतिपूर्ति
२० र २३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले सिवाकोटीसहित विभिन्न जिल्लाका सातजनालाई उपलब्ध गराउन ८४ लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको थियो । अर्थमन्त्रालयको वेबसाइटमै रकम निकासा भएर गृह मन्त्रालयमा गएको प्रस्ट उल्लेख छ । अर्थले जेठको विवरणको तेस्रो बुँदामा यो विषय समेटेको छ । अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले वेबसाइटमै सबै खुलाइएको बताए ।

‘क्याबिनेटले निर्णय गरेपछि अर्थ मन्त्रालयले रकम निकासा गर्ने हो,’ अर्थका प्रवक्ता खत्रीले भने, ‘रकम निकासा भइसकेको छ कि छैन भन्ने थाहा पाउन अर्थ मन्त्रालयको वेबसाइट हेर्दा हुन्छ ।’सिवाकोटीबाहेक रामेछापकी विमला विश्वकर्मा, स्याङ्जाकी पवित्रा भण्डारी र मोरङका गोविन्दराम गौतमलाई पाँच–पाँच लाख, नेपालगन्जका कमलसिंह क्षेत्रीलाई एक लाख, अछामका हिमाल विकलाई आठ लाख र काठमाडौं महानगरपालिका–३ वसुन्धराका रोहन गुरुङलाई ३० लाख दिएको छ । गुरुङ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हुन् ।

बिर्तामोडका नेकपाकै कार्यकर्ता भन्छन्– घरमा ६० हजारको सिसा फुट्यो होला, गाडीको क्षति बिमाले व्यहोर्छ, राज्यबाट ३० लाख सहयोग किन ?
उमेश खतिवडा
घरमा बढीमा ६० हजार रुपैयाँको क्षति भएको थियो । घरको सबै सिसा फुटेको थिएन । तर, मेयरसाबले पछि घरको रङ नै बदल्नुभयो । नगरपालिकाको गाडी र छोराको मोटरसाइकल समेत गर्दा बढीमा १० लाख खर्च भएको हुनुपर्छ । गाडीको क्षति त बिमाले बेहोर्छ । ३० लाख रुपैयाँ सहायता राज्यबाट लिनु त राम्रो हुँदै होइन । त्यति पैसाले जनताले दुईवटा घर बनाउँछन् ।’

दुई–चार सिसा फुट्दैमा ३० लाख सहयोग लिनु जनताको नजरमा गिर्नु हो- प्रदीप खरेल
‘मेयरसाबले यसरी सहायता लिनु बिल्कुल गलत हो । बिर्तामोड घटनाका वेला उहाँ जनताको पक्षमा बोल्न नसक्दा घरमा तोडफोड भयो । तोडफोड हुनु अपराध हो । तर, मेयरसाबले सानातिना कुरा सहनुपर्छ । आर्थिक सम्पन्नता भएका मेयरले घरको दुई–चारवटा सिसा फुट्दैमा ३० लाख सहायता लिनु जनताको नजरमा गिर्नु हो ।


मेयरले मागेका थिए एक करोड चार लाख क्षतिपूर्ति
नगरपालिकाको बोलेरो गाडी – ३१ लाख
निजी कार – ४३ लाख
टिभी – १ लाख ८० हजार
बुलेट मोटरसाइकल – ४ लाख ५० हजार
झ्यालको सिसा – एक लाख ५० हजार
सिलिङका बत्ती – २० हजार
प्लास्टिकका कुर्सी – चार हजार
गमला – १० हजार
मार्बलका बुट्टा – ३० हजार
लत्ताकपडा – पाँच हजार
खेलौना गाडी – २४ हजार
विश्राम घर – तीन लाख ५० हजार
सोफा टेबल – एक लाख ३० हजार
घरको बाहिरी क्षति – १५ लाख
घरपछाडिको सिटिङ रुमको क्षति – दुई लाख ५० हजार
राउन्ड झ्याल (दुई थान) – दुई लाख
स्रोतः इलाका प्रहरी कार्यालय बिर्तामोड

मेयर भन्छन्, ‘बिमा कम्पनीले थोरै पैसा दिन्छु भन्यो, त्यसैले दिमाग खराब भएकाले लिइनँ’

डेढ वर्षअघि भिडले तपाईंको घरमा तोडफोड गर्दा भएको क्षतिमा सरकारले ३० लाख क्षतिपूर्ति दिने भएछ, रकम लिनुभयो ?

मैले त आज मात्रै यो कुरा सुन्दै छु । पैसा अहिलेसम्म पाएको छैन । सरकारले गरेको निर्णय मलाई थाहा छैन । जिल्ला प्रशासन कार्यालयमार्फत क्षतिको मूल्यांकन सरकारकहाँ पुगेको होला ।

कति क्षति भएको थियो त्यतिखेर तपाईंको घरमा ?

घर पूरै तहसनहस गरेका थिए । तीन वर्षअघि ४५ लाखमा किनेको सुजुकी कम्पनीको मे.१च २६१ नम्बरको कार पूरै तोडफोड गरे । छोराले चढ्ने बुलेट बाइक आगो लगाइदिए । सबै गरेर एक करोडभन्दा बढीको क्षति पुग्यो भनेर त्यतिखेर इलाका प्रहरी कार्यालयमा निवेदन हालेको थिएँ । पछि जिल्ला प्रशासनले ७०–८० लाखजतिको क्षति मूल्यांकन गरेको थियो ।

तर, त्यतिखेरको तस्बिर हेर्दा त तपाईंको घरको झ्याल र ढोकाका सिसा मात्र फुटेको देखिन्छ नि त ?
कसरी सिसा मात्रै फुटेको हुन्छ ? ७०–८० जना घरभित्र पसेर चार घन्टासम्म तोडफोड गरे, घरभित्रका सामान ल्याएर बाहिर फाले । ठूलो क्षति पु-याए ।

गाडी र मोटरसाइकलको त बिमा थियो होला, बिमा कम्पनीबाट बिमा रकम लिनुभएन ?
बाइकको बिमा नै गरिएको थिएन । गाडीको थियो, तर पैसा दिन मानेन ।

बिमा कम्पनीले पैसा दिन नमान्ने पनि हुन्छ र ?
दिँदै नदिने भनेको होइन, तीन लाख मात्र दिन्छु भन्यो । त्यसपछि मैले त्यतातिर चासै दिइनँ ।

बिमाले त मर्मत गर्न आवश्यक खर्चको मूल्यांकन गर्ने हो, पूरै गाडीको दिने होइन नि ?
तीन लाख मात्र दिन्छु भनेपछि मेरो दिमाग खराब भयो, छाडिदिएँ । त्यो कम्पनीको नाम पनि मलाई थाहा छैन । सबै कुरा कहाँ मलाई कण्ठ हुन्छ र ?

तपाईंजत्तिको नेताले लडेर पनि बिमाको रकम लिनुपर्नेमा सरकारतिर किन लाग्नुभयो ?
म त्यतातिर लाग्दै लागिनँ, दिमाग खराब भयो ।

तर, मेयरकै छोरा नेपालरत्न भन्छन् ‘गाडीको क्षतिमा बिमाको पैसा लियौँ, बरु मोटरसाइकलको बिमा दाबी नै गरिएन’
दुईवटै गाडी बनायौँ । नगरपालिकाको गाडी नगरपालिकाले नै मर्मत ग-यो । हाम्रो गाडीको इन्स्योरेन्स पनि थियो, आफैँ बनायौँ । तर, मोटरसाइकलचाहिँ धेरै नै जलेकाले नबन्ने भयो, ग्यारेजमै थन्किएको छ । इन्स्योरेन्स त मोटरसाइकलको पनि थियो, तर क्लेम गरेको छैन । मोटरसाइकल मेरो नाममा थियो भने गाडी आमाको नाममा ।

 

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ