नेकपामा चर्कियो कार्यदिशा विवाद : ओली–दाहाल एकअर्काप्रति सशंकित

2019-06-24

काठमाडौं - सत्तारुढ दल नेकपाको पार्टी कार्यदिशा के हो ? एकथरी नेतालाई सोध्दा जवाफ आउँछ, ‘समाजवाद उन्मुख जनताको जनवाद’। अर्काेथरी नेता भन्छन्, ‘जनताको बहुदलीय जनवाद।’ पार्टी एकताको एक वर्षसम्म दस्ताबेजदेखि कार्यदिशासम्ममा ‘चुपचाप’ बसेर संगठनात्मक एकतामा ‘माथापच्ची’ गरिरहेका नेता अहिले ‘कार्यदिशा’ मा मतभेद पोख्न थालेका छन्।

कार्यदिशा विवादकै कारण पछिल्लो पटक पार्टीका ‘जोर पाइलट’ अध्यक्ष केपी ओली र पुष्पकमल दाहालकै बीचमा अविश्वास सिर्जना भएको छ। अध्यक्ष ओली पक्ष तत्कालीन एमालेले अवलम्बन गर्दै आइरहेको ‘जनताको बहुदलीय जनवाद’लाई पार्टी कार्यदिशा बनाउनुपर्ने पक्षमा लबिङमा छ भने दाहाल पक्ष एकताका क्रममा तय गरिएको संक्रमणकालीन कार्यदिशा ‘जनताको जनवाद’को पक्षमा।

१३ महिनासम्म अन्तरिम राजनीतिक दस्ताबेज छापेर कार्यकर्ताबीच पुर्‍याउन नसकेपछि नेकपाभित्र कार्यदिशाको विवाद सतहमा आएको हो। ओली निकट मानिएका सचिवालय सदस्य उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एकीकृत पार्टी वैचारिक रूपमा अस्पष्ट रहेको भन्दै जनताको बहुदलीय जनवादको पक्षमा सार्वजनिक मञ्चमै खरो उत्रन थालेपछि नेकपाभित्र राजनीतिक ध्रुवीकरण सुरु भएको थियो। पोखरेलले युवा संघको स्थापना दिवसका दिन जेठ १ मा सार्वजनिक कार्यक्रमबाटै अध्यक्ष दाहालकै उपस्थितिमा कार्यदिशाको बहस झिकेका थिए। पोखरेलले सुरु गरेको बहसलाई सुरुमा नेकपा नेताहरूले पार्टीभित्र खासै चासो र महत्त्व दिएनन्। तर, गत बुधबार ओली–दाहालको ‘वान अन वान’ छलफलमा जब ओलीले ‘जबज (जनताको बहुदलीय जनवाद) मा जाऔं, प्रतिवेदन छापौं भनेपछि दाहाल ओलीसँग झस्किएका हुन्।

संगठनात्मक रूपमा तत्कालीन एमाले खेमाभित्रै वरिष्ठ नेता माधव नेपालको चुनौती थेग्न सकस परिरहेका बेला दाहालले समेत प्रतिवेदन छाप्न ‘दबाब’ बढाएपछि ओली पनि दाहालसँग संशकित बनेको ओलीनिकट नेताले बताए।

भेटमा दाहालको राजनीतिक प्रतिवेदन छाप्ने प्रस्ताव आएपछि ओलीले जबज मानेर जान प्रस्ताव गरेका थिए। ‘यस्तै हो भने तपाईंको र मेरो लाइन फरक पर्दै जाने भयो। अहिले शान्तिपूर्ण प्रतिस्पर्धाका कुरा छन्, संसदीय व्यवस्था मानिएको छ, सबै उपलब्धि जबजकै जगमा भएका छन्, जनताको जनवादको बीचमा बहुदलीय शब्द राखेर जाऔं’, दाहालसँग ओलीले राखेको प्रस्ताव सुनाउँदै ओलीनिकट एक नेताले अन्नपूर्णसँग भने।

दाहालले भने विगत सहमतिबाट पछाडि कसरी फर्कने भन्दै स्थायी समिति र सचिवालयले पारित गरिसकेको कार्यदिशाकै आधारमा प्रतिवेदनको सामान्य भाषा सम्पादन गरेर जानुपर्नेमा जोड गरेका थिए। राजनीतिक प्रतिवेदन सामान्य संशोधनपछि छाप्न पठाउने र दुई दिनपछि सचिवालय बैठक बोलाउने समझदारीमा ओली–दाहाल त्यसदिन उठेका थिए। त्यसपछि दुवैतर्फका नेता बीचमा एक–अर्काेलाई हेर्ने दृष्टिकोणमा फरक देखिन थाल्यो।

‘स्थायी समिति, सचिवालयबाट पारित भइसकेको राजनीतिक प्रतिवेदनलाई अहिले अनावश्यक उठाउन खोज्नुको अर्थ हुँदैन।’ - हरिबोल गजुरेल, नेकपा नेता

एकले अर्काेलाई आशंकाले हेर्न मात्रै थालेनन्, ‘वान अन वान’ छलफलको ब्रिफिङ दुवै नेताले आफू पक्षीय नेतालाई समेत गरे। प्रधानमन्त्री ओलीले बिहीबार नै बालुवाटारमा आफूनिकट नेता सचिवालय सदस्य पोखरेल, महासचिव विष्णु पौडेललगायतलाई राखेर छलफल गरेका थिए भने दाहालले पनि आफूनिकट पूर्वमाओवादी खेमाका नेतासँग मात्र नभई सचिवालय सदस्य वामदेव गौतमसँग पनि कार्यदिशा विवादका विषयमा छलफल गरेको स्रोतले बताएको छ। वान टु वानमा बहुदलीय जनवादको विषय उठाएका ओलीले शनिबारको सचिवालय बैठकमा दस्तावेज पुनर्लेखन गर्नुपर्ने प्रस्ताव गरे। तर, के–कसरी पुनर्लेखन गर्ने भन्नेमा ओली खुल्न चाहेनन्। दाहालले भने त्यसलाई स्विकारेनन्। उनले पहिले भएको समझदारीबाट पछि हट्ने कुरा स्वीकार्य नहुने र पहिलेको सहमति इमान्दारीसाथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।

वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतले सचिवालयले पारित गरेका विषयमा सामान्य भाषा सम्पादन गरेर छाप्न पठाउनुपर्ने बताएपछि बैठक अनिर्णीत बनेको थियो। अब दस्ताबेज टुंगो नलाग्दासम्म नेकपाको संगठनात्मक एकीकरण अन्योलमा परेको छ। सचिवालय बैठकसमेत अब कहिले भन्ने ठेगान छैन।

दाहालले पार्टी सचिवालय र ‘वान अन वान’ छलफलको ब्रिफिङ आफू निकट नेतालाई आइतबार बिहान निवास खुमलटारमा बोलाएर गरेका छन्। छलफलमा नेता वर्षमान पुन, जनार्दन शर्मा, अग्नि सापकोटा, हरिबोल गजुरेल, पम्फा भुसाल, देव गुरुङलगायत नेता पुगेका थिए।

आफू निकट नेतालाई सचिवालय बैठकको ब्रिफिङपछि दाहाल दुई दिनका लागि गृहजिल्ला चितवन लागेका छन्। दाहाल निकट नेता हरिबोल गजुरेलले अन्नपूर्णसँग भने, ‘अध्यक्षले सचिवालय बैठकका विषयमा सामान्य ब्रिफिङ गर्नुभयो। सचिवालयमा कुनै थप विषय टुंगिएको छैन भन्नुभयो। त्यसपछि उहाँ चितवन जानुभयो। मंगलबार मात्र फर्किनुहुन्छ।’

गजुरेलले राजनीतिक प्रतिवेदन सामान्य भाषा सम्पादन गरेर प्रकाशन हुने भन्दै विगतमा भइसकेका निर्णय कार्यान्वयनमा लैजानुपर्ने बताए। नेता गजुरेलले भने, ‘स्थायी समिति र सचिवालयको कमिटीबाट पास भएपछि पुनर्लेखन गर्ने कुरा झिक्नु फेरि बखेडा झिक्ने कुरा हो। महाधिवेशनमा जाँदा छलफल गरेर जाने कुरा हुन्छ। अहिले बहस गर्नुको अर्थ छैन।’ नेकपाले दुवै पार्टीका तत्कालीन राजनीतिक कार्यदिशा एक्काइसौं शताब्दीको जनवाद, माओवाद र जनताको बहुदलीय जनवादलाई स्थगन गर्दै महाधिवेशनमा बहसमा लैजाने तर अन्तरिम कालका लागि समाजवाद उन्मुख जनताको जनवादलाई कार्यदिशा बनाएर जाने गरी सहमति बनाएर पार्टी एकता गरेको थियो।

 


अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ