नेकपा भित्र छुट्टाछुट्टै कोष, भिन्दाभिन्दै लेबी दर !

2019-06-12

काठमाडौँ - सत्तारुढ नेकपा बनेको १३ महिना भयो । तर, पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको कोष भने अहिले पनि वेग्लावेग्लै खाताबाट चल्छ । पूर्वएमालेका सांसदहरूले पार्टीलाई मासिक १३ हजार बुझाउँछन् । पूर्वमाओवादी सांसदले भने १२ हजार बुझाउँछन् । तर, यो लेबी भिन्दाभिन्दै कोषमा जम्मा हुने गरेको छ । संघीय संसद्मा नेकपाका पदाधिकारीको समायोजन भइसक्यो । तर, कोष मात्रै होइन, संसदीय दलको कार्यालय पनि अहिलेसम्म वेग्लावेग्लै चलिरहेको छ ।

पार्टीको एकता पूर्ण रूपमा टुंगिन बाँकी रहेकाले कोष एक हुन नसकेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । ‘दलको नेता, प्रमुख सचेतकलगायत राष्ट्रिय सभामा पनि पदाधिकारी एकता टुंगिइसकेको छ । कोष पनि मिलाउने भन्ने सिद्धान्त हो । पार्टीको एकीकरण पूर्ण रूपमा टुंगिइनसकेकाले दुई छुट्टाछुट्टै खातामा रकम जम्मा भएको हो,’ उपनेता नेम्वाङले भने ।

लेबी दर फरक दलको कार्यालय फरक
पूर्वएमालेका प्रतिनिधिसभामा १ सय २१ र राष्ट्रिय सभामा २७ गरी १४८ सांसद संघीय संसद्मा छन् । त्यस्तै, पूर्वमाओवादीका प्रतिनिधिसभामा ५३ र राष्ट्रिय सभामा १२ सहित ६५ सांसद छन् । दुवै पार्टी एकीकरण भइसकेपछि २ सय १३ सदस्य संख्याको नेकपाको संसदीय दल बन्यो । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा रहेको पूर्वएमालेको दलको कार्यालयमा मात्र तथा पूर्वमाओवादीको दलको कार्यालयमा मात्र सबै अट्न नसक्ने भएकाले हाल नेकपाको संसदीय दल बैठक नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा बस्छ ।

संसद् सचिवालयले नेकपाको दलको कार्यालय व्यवस्थापनका लागि सरकारसँग नयाँ भवन मागे पनि सरकारबाट प्राप्त नभएकाले ठाउँ अभाव रहेको संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए । पाण्डेले भने, ‘अहिले एडजस्टमेन्ट मात्रै भएको छ । कोठा पुगिरहेका छैनन् । सरकारले संसद्को नयाँ भवन ३ वर्षभित्र बनाउने घोषणा गरेको छ । अब नयाँ भवनको आशा गर्नुबाहेक विकल्प देखिएन । नयाँ भवनको माग गर्दा सरकारले उपलब्ध नगराएकाले नेकपाको दलको कार्यालय एकै ठाउँ बनाउन कठिन भएको हो ।’

पूर्वएमाले दलको कार्यालय अथवा पूर्वमाओवादी दलको कार्यालयमा मात्र सबै अट्न नसक्ने भएकाले हाल नेकपाको संसदीय दल बैठक नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा बस्छ

संसद्मा नेकपाका कुन पदाधिकारी कहाँ ?
ओलीको कार्यकक्ष पूर्वएमालेकै भवनमा, प्रचण्डको पूर्वमाओवादीकै नेकपाको संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीको कार्यकक्ष पूर्वएमालेको संसदीय दलको कार्यालयमा छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख सचेतक देव गुरुङ तथा राष्ट्रिय सभामा दलको नेता दिनानाथ शर्माको कार्यकक्ष भने पूर्वमाओवादीको संसदीय दलको कार्यालय सचिवालय भवन नम्बर २ को चौथो तल्लामा रहेको छ ।

नेकपाका पूर्वएमालेनिकट सांसद पुरानै संसदीय दलको कार्यालय तथा पूर्वमाओवादीको दलको कार्यालयमा पूर्वमाओवादीका सांसद भेटिन्छन् । दलको कार्यालय एउटै हुन नसक्दा फरक दलको पृष्ठभूमि भएका नेकपाका सांसदहरूबीच भेटघाटसमेत पातलिएको सांसदहरूको गुनासो छ । पूर्वएमालेको दलको कार्यालयमा नै प्रमुख सचेतक देव गुरुङ, राष्ट्रिय सभामा दलको नेता दिनानाथ शर्माको कार्यकक्ष बनाउने सचिवालयको तयारी भए पनि पूर्णता पाइसकेको छैन । ठाउँको अभावमा हाल दलको कार्यालय एक गर्ने प्रक्रिया ठोस रूपमा अघि नबढेको संघीय संसद् सचिवालयले जनाएको छ ।

‘तत्कालीन एमालेका सांसदको लेबी पुरानै दलको खातामा र पूर्वमाओवादीको पुरानै खातामा जम्मा हुँदै आएको छ । दुई पार्टीको एकता भनिए पनि सचिवालयले रकम जम्मा गर्ने वेला भने दुई फरक दल नै महसुस गरिरहेको छ । दुई छुट्टाछुट्टै खातामा रकम जम्मा हुन्छ,’ संघीय संसद् सचिवालय स्रोतले भन्यो ।

दलको कार्यालय तत्काल एक हुने अवस्था छैन : सचिवालय
नेकपामा सांसदको संख्या बढी भएकाले सिंहदरबारमै दलको एउटै कार्यालय हुन नसकेको संसद् सचिवालयले जनाएको छ । दलका पदाधिकारी भने सिंहदरबारस्थित पुरानै कार्यालयको वरपरका कार्यकक्षमा रहनुपर्ने बाध्यता रहेको सचिवालय प्रवक्ता डा. रोजनाथ पाण्डेले भने । ‘महिला, बालबालिका मन्त्रालय रहेको भवनलगायत अन्य केही ठाउँ उपलब्ध गराउन सरकारलाई पत्राचार ग-यौँ । सरकारले उपलब्ध गराएन । अब संसद्को नयाँ भवन बनाउने कुरा छ । त्यही नयाँ ठाउँ कुर्नुपर्ने स्थिति छ,’ उनले भने ।

एकता टुंगिइनसकेकाले कोष दुइटा भए
सुवास नेम्वाङ उपनेता, नेकपा संसदीय दल
एमाले पृष्ठभूमिबाट आएका सांसदको मासिक १३ हजार र माओवादी पृष्ठभूमिका सांसदको १२ हजार लेबी पार्टीको नाममा आउने गरेको छ । नेकपाको एकता पूर्ण रूपले टुंगिइनसकेकाले कोष एक हुन नसकेको हो । कोष एउटै बनाउने भन्ने सिद्धान्त हो । संसदीय दलका पदाधिकारीको एकता गर्ने क्रम पहिले नै टुंगिसकेको छ । संसद्मा एकैठाउँ सांसदहरू बस्नुहुन्छ । दलको बैठक एकैठाउँमा संयुक्त रूपमा बस्छ । कोष एउटै नबन्दासम्मका लागि पुरानै दुई खातामा रकम जम्मा भएको हो ।

ठाउँ अभावले दलको कार्यालय एक भएन
देव गुरुङ,प्रमुख सचेतक नेकपा
दलको कार्यालय व्यवस्थापन नभएसम्म जहाँजहाँ प्रयोग भइरहेको छ, त्यहीँ प्रयोग गर्ने भन्ने हामी टुंगोमा पुगेका हौँ । ठाउँको अभावमा संसद् सचिवालयले पनि दलको कार्यालय एकैठाउँ व्यवस्थापन गर्न सकेको छैन ।

वर र पर दौडिनुपर्ने समस्या छ
शान्ता चौधरी,सचेतक नेकपा
नेता भेट्नुपरे वर र पर दौडिनुपर्ने बाध्यता छ । प्रमुख सचेतकसँग कुरा गर्न पूर्वमाओवादीको संसदीय दलको कार्यालयमा पुग्नुपर्ने स्थिति छ । प्रमुख सचेतकले उपनेता भेट्नुपरेमा पूर्वएमालेको संसदीय दलको कार्यालयमा आउनुपर्ने स्थिति छ ।

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ