विश्वकप क्रिकेट : भारतसंग अस्ट्रेलिया ३६ रनले पराजित

2019-06-10

एजेन्सी - शिखर धवनले शतक तथा कप्तान विराट कोहली र रोहित शर्माले अर्धशतक बनाएपछि आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार राति भएको खेलमा भारतले साविक विजेता अस्ट्रेलियालाई ३६ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । लन्डनको दी ओभल क्रिकेट मैदानमा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो ।

अस्ट्रेलियाका लागि पुछारका ब्याट्सम्यान एलेक्स क्यारीले आक्रामक ब्याटिङ गरेपछि खेल निकै रोचक बनेको थियो । क्यारीले अविजित ५५ रन बनाए । उनले ३५ बलमा एक छक्का र पाँच चौका प्रहार गरे ।भारतले दिएको ३५३ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाले पूरै ५० ओभर खेल्दै ३१६ रनमा अलआउट भयो ।

अस्ट्रेलियाका क्यारी बाहेक स्टेभन स्मिथ र प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले पनि अर्धशतकीय पाली खेले । लामो समय क्रिजमा टिकेका स्मिथले ७० बलमा एक छक्का र पाँच चौकाको मद्दतमा ६९ र वार्नरले ८४ बलमा पाँच चौकाको मद्दतमा ५६ रन बनाए ।

यसैगरी उस्मान ख्वाजाले ४२, कप्तान एरोन फिन्चले ३६, ग्लेन म्याक्सवेलले २८ रन बनाए ।भारतका जसप्रीत बुमराह र भुवनेश्वर कुमारले तीन÷तीन विकेट हात पारे । यस्तै युजभेन्द्र चाहलले दुई विकेट लिए ।

जारी विश्वकपमा भारतको लगातार दोस्रो जित हो । यसअघि भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो । अहिलेसम्म तीन खेल खेलेको अस्ट्रेलियाको भने पहिलो हार हो । अस्ट्रेलियाले यसअघि अफगानिस्तानलाई सात विकेट र वेस्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३५२ रनको योगफल खडा गरेको थियो । भारतको विशाल पालीमा शिखर धवनले शतक तथा रोहित शर्मा र कप्तान विराट कोहलीले अर्धशतक बनाए ।

प्रारम्भिक ब्याट्सम्यान धवनले ११७ रन बनाए । १०९ बलको सामना गरेका उनले १६ चौका हिर्काए । एकदिवसीय क्रिकेटमा धवनले प्रहार गरेको यो १७औं शतक हो ।

यसैगरी रोहितले ५७ र विराटले ८२ रन बनाए । यस क्रममा रोहितले एक छक्का र तीन चौका तथा विराटले दुई छक्का र चार चौका हिर्काए । एकदिवसीय क्रिकेटमा विराटको ५०औं र रोहितको ४२औं अर्धशतक हो । यसैगरी हार्दिक पाण्ड्याले ४८, महेन्द्रसिंह धोनीले २७ र लोकेश राहुलले ११ रन बनाए ।

अस्ट्रेलियाका मार्कस स्टोइनिक्सले दुई विकेट लिए । यस्तै प्याट कुमिन्स, मिचेल स्टार्क र नाथन कल्टर नाइलले एक÷एक विकेट हात पारे ।

विश्वकप क्रिकेटअन्तर्गत अब अस्ट्रेलियाले बुधबार आफ्नो चौथो खेलमा अर्को दक्षिण एसियाली राष्ट्र पाकिस्तानको सामना गर्नेछ । भारतले भने बिहीबार न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ