उच्च शिक्षा पढ्न पाँच लाख ऋण दिँदै भक्तपुर नगरपालिका

2019-06-10

भक्तपुर - भक्तपुर नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न समस्या परेका विद्यार्थीलाई पाँच लाख रुपैयाँसम्म शैक्षिक ऋण दिने भएको छ । भक्तपुरले एसइईभन्दा माथिल्लो तह अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ६ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन लागेको हो । यस्तो ऋण विद्यार्थीले अध्ययन पूरा भएको चार वर्षभित्र फिर्ता गरिसक्नुपर्नेछ । मेयर सुनील प्रजापतिले आइतबार शैक्षिक ऋण वितरण कार्यक्रमको शुभारम्भ गरे । ‘गरिबीकै कारण उच्च शिक्षा पढ्न नपाउने अवस्था नबनोस् भन्ने ध्येय हो । गरिब, दलित र किसान परिवारलाई कार्यक्रमले लाभ मिल्छ,’ उनले भने ।

आफ्नै लगानीमा शैक्षिक संस्थासमेत सञ्चालन गरेको भक्तपुर नगरपालिकाले शैक्षिक ऋण कार्यक्रम सञ्चालन गर्न ‘भक्तपुर नगरपालिकाको शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका’ जारी गरेको छ । निर्देशिकाबमोजिम वडा कार्यालयमार्फत प्रक्रिया पु-याई आवेदन गर्नेलाई ऋण दिन थालिएको मेयर प्रजापतिले बताए । कार्यक्रम लागू गरिएको पहिलो वर्ष ऋण लिन ३५ जनाको आवेदन परेको छ । उनीहरूलाई चालू आर्थिक वर्षबाटै ऋण दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले बताए ।

अधिकारीका अनुसार पहिलो वर्ष चिकित्सा शिक्षा, इन्जिनियरिङ, नर्सिङ, कम्प्युटर इन्जिनियरिङ र कला, संस्कृति विषयमा पढ्ने विद्यार्थीलाई ऋण दिने निर्णय भएको छ । चालू आर्थिक वर्षमा छात्रवृत्ति तथा शैक्षिक ऋण कार्यक्रमका लागि नगरपालिकाले एक करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक क्षेत्रमा लगानी बढाएको मेयर प्रजापतिको भनाइ छ । ‘नगरपालिका आफैँले ख्वपः विश्वविद्यालय सञ्चालन गर्ने अनुमतिको प्रयास गरिरहेको छ, विश्वविद्यालय खोलेर समाजलाई बुद्धिजीवीकरण गर्ने लक्ष्य छ,’ उनले भने । उनले चिकित्सा क्षेत्रमा जनशक्ति अभाव भएकाले निश्चित सर्त राखेर नगरपालिकाले बर्सेनि दुईजनालाई डाक्टर पढ्न छात्रवृत्ति दिनेसमेत तयारी गरिरहेको बताए ।

यस्तो छ ऋण लिने प्रक्रिया
ऋण लिन चाहने विद्यार्थी नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्छ । एसइईभन्दा माथिल्लो जुनसुकै तह अध्ययनका लागि ऋण लिन सकिन्छ । ऋण लिएर विद्यार्थीले सरकारले अनुमति दिएको शैक्षिक संस्थामा अध्ययन गर्न पाउँछन् । विपन्न र जेहेनदार विद्यार्थीले वडा कार्यालयमा आवेदन दिएपछि आवेदकको वास्तविक अवस्था हेरेर वडाध्यक्षले नगरपालिकालाई सिफारिस गर्छन् । नगरपालिकाले एकाघरका दुईजना साक्षी राखेर विद्यार्थीसँग ऋण सम्झौता गर्छ । तर, नगरपालिकाले दिने ऋणबापतको रकम एकमुष्ट भुक्तानी हुँदैन ।

ऋणबापतको रकम ऋणी र ऋणीको परिवारलाई नदिई आवश्यकताअनुसार शैक्षिक संस्थालाई भुक्तानी दिने निर्देशिका बनेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । ‘ऋण रकमबाट कलेजले लिने शुल्क मात्रै तिर्न मिल्छ, सो रकम विद्यार्थीले आवश्यक पर्ने पोसाक र शैक्षिक सामग्रीमा खर्च गर्न पाउँदैनन्,’ अधिकारीले भने । ऋण लिने विद्यार्थीले पढाइ पूरा गरेपछि क्रमशः चार वर्षभित्र ब्याजसहित भुक्तानी गर्नुपर्छ ।

पढाइ सकिएको पहिलो, दोस्रो, तेस्रो र चौथो वर्ष बर्सेनि २५–२५ प्रतिशतका दरले भुक्तानी गर्नुपर्नेछ । भक्तपुर नगरपालिकाले आफ्नै लगानीमा सातवटा शैक्षिक संस्थासमेत सञ्चालन गरिरहेको छ । नगरपालिकाले ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, शारदा मावि र शारदा क्याम्पस सञ्चालन गरिरहेको छ । नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कक्षा १, २, ६ र ७ मा पठनपाठन गरिरहेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ