कांग्रेसमा १२ सय उजुरी : नेताहरू विरुद्ध स्वदेश र विदेशबाट समेत उजुरी

2019-05-19

चुनावमा अन्तर्घात गरेको विषयमा त्रिविका उपकुलपति खनियाँमाथि पनि छानबिन
निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँविरुद्ध पनि उजुरी परेको छ । कांग्रेसको महासमिति सदस्यसमेत रहेका खनियाँ गत संसदीय निर्वाचनमा उम्मेदवार बन्न चितवनबाट सिफारिसको सूचीमा परेका थिए । तर, उनले टिकट पाएनन् । कांग्रेसका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको भन्दै उनीविरुद्ध यसअघि नै उजुरी परेको थियो । उजुरी परेपछि खनियाँसँग स्पष्टीकरण सोध्ने तयारी तत्कालीन समितिले गरेको थियो । तर, समिति काम नै अघि नबढाई निष्क्रिय हुन पुग्यो । अहिले बनेको अनुशासन समितिले पहिलेका उजुरीको फाइल पनि खोल्न थालेको छ । उनीविरुद्ध परेको उजुरीमा छानबिन हुने, आवश्यक परे पत्र काट्ने र पुष्टि भए कारबाही गर्ने कांग्रेस अनुशासन समितिले जनाएको छ ।

नेताहरूविरुद्ध स्वदेश मात्र होइन, विदेशबाट पनि उजुरी
पार्टी अनुशासनविपरीत काम गरेको भन्दै कांग्रेस अनुशासन समितिमा एक हजार दुई सय उजुरी परेका छन् । निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग नगरेको, विपक्षी दलको उम्मेदवारलाई जिताउन भूमिका खेलेको, टिकटमा मनोमानी भएकोजस्ता विषयमा बढी गुनासो परेको कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।
स्याङ्जामा गोपालमान श्रेष्ठकै कारण निर्वाचन हारिएको भन्दै पुराना नेता भोजराज अर्यालले उजुरी दर्ता गराएका छन् । प्रभावशाली नेता श्रेष्ठले उम्मेदवार मिलाउन नसक्दा आफू पनि हारेको र पार्टीलाई पनि हराएको आरोप उनीमाथि लागाइएको छ ।

नवलपरासीबाट देवेन्द्रराज कँडेलविरुद्ध पूर्वसांसद विक्रम खनालले उजुरी दिएका छन् । पूर्वस्थानीय विकास राज्यमन्त्री दुर्योधनसिंह चौधरीविरुद्ध पनि रुपन्देहीमा अन्तर्घात गरेको भन्दै उजुरी परेको छ । रुपन्देही कांग्रेस सभापति अब्दुल रज्जाकविरुद्ध पनि उजुरी परेको छ ।

डडेल्धुरा जिल्ला सभापति कर्ण मल्ल, नुवाकोट जिल्ला सभापति एवं सांसद जगदीश्वरनरसिंह केसी, दैलेख जिल्ला सभापति कृष्ण बिसी, जुम्लाका सांसद ललितजंग शाही, जुम्लाका सभापति जितबहादुर शाही र रुकुमकी सांसद मिठु मल्लविरुद्ध पनि उजुरी परेको छ । जापान र बेल्जियमको जनसम्पर्क समितिमा हस्तक्षेप गरी अधिवेशन गर्न नदिएको भन्दै मुख्यसचिव कृष्णप्रसाद पौडेलविरुद्ध उजुरी परेको स्रोतले बतायो ।

अनुशासन समितिले तीनै तहको निर्वाचनमा देशभरका बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकको विवरण मागेको थियो । तर, केही जिल्लाबाहेक अन्यले अझै बागीको विवरण पठाएका छैनन् । ‘केही जिल्लाबाट आएका छन्, तर केही जिल्लाबाट नियतवश आएनन्, यसले पनि छानबिनमा ढिलाइ भएको छ,’ कँडेलले भने । सम्बन्धित जिल्लाको नेतृत्वले बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकको सूची पठाएपछि विधानअनुसार उनीहरू स्वतः पार्टी सदस्यबाट बर्खास्त भइसकेका छन् । उनीहरूमाथि संस्थागत रूपमा पनि कारबाहीको प्रक्रिया अघि बढ्ने अर्का अनुशासन समितिका अर्का सदस्य किशोरसिंह राठौर बताउँछन् ।

‘जिल्लाबाट विवरण आएपछि पहिलो चरणमा उनीहरूलाई कारबाहीको चिठी थमाउँछौँ,’ राठौरले भने, ‘विधानतः उम्मेदवार, प्रस्ताव र समर्थकलाई स्वतः कारबाही हुने भए पनि उनीहरूलाई कारबाहीको चिठी परोस् भन्ने हाम्रो चाहना छ । हामी व्यवस्थित रूपमा छानबिन गरिरहेका छौँ भन्ने देखाउन पनि यो जरुरी छ ।’

प्रारम्भिक अध्ययनका क्रममा पार्टीलाई अनुशासित बनाउन बढी दबाब आएको सदस्य राठौर बताउँछन् । ‘०५० मा किसुनजीलाई निर्वाचनमा हराउन पार्टीभित्रैबाट भएको अन्तर्घातकै शैली निरन्तर बढेर गएकोमा धेरैमा चिन्ता देखिन्छ,’ राठौरले भने, ‘निर्वाचनमा पार्टीलाई असहयोग गर्नेलाई कारबाही नभए, पार्टीलाई अनुशासित नबनाए पार्टी चल्दैन भन्ने धेरै छन् ।’ बलिदानको भावना नभएको र एकले अर्कोलाई नटेर्ने शैलीले नराम्रो प्रभाव पारेको विषय पनि आएको उनले बताए । उजुरी हेरिसकेपछि कुनै समूहविशेष नभनी प्रमाणका आधारमा जोसुकैमाथि कारबाही हुने उनी बताउँछन् ।


सरकारलाई सघाएको भन्दै सभापति देउवाविरुद्ध सिकायत : आरजुलाई अन्तर्घात गरेको भन्दै कैलालीका पूर्वसांसदविरुद्ध निवेदन

पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उजुरी परेको छ । गोरखाका महासमिति सदस्य राजेन्द्र बजगाईंले सभापतिविरुद्ध उजुरी दर्ता गराएको बताएका छन् । गत वर्ष केपी ओली नेतृत्वको सरकारको वार्षिक नीति तथा कार्यक्रमको विरोध गर्नुपर्नेमा समर्थन गरेको भन्दै उनले सभापतिमाथि कारबाही मागसहित उजुरी दिएको सार्वजनिक गरेका थिए । ‘संसदीय पार्टीको मूल्य र मान्यता नै कांग्रेसले गुमायो भनेर मैले सचेत गराउन खोजेको हो । गत वर्ष प्रतिपक्षी दलले नीति तथा कार्यक्रमलाई सर्वसम्मति दिएपछि सभापतिमाथि नैतिक प्रश्न उब्जियो भन्ने मेरो मत हो,’ बजगाईंले नयाँ पत्रिकासँग भने, ‘सभापति शेरबहादुर देउवामाथि हदैसम्मको कारबाहीको माग गर्दै गत १४ चैतमा पार्टी कार्यालयमा उजुरी दर्ता गराएको हुँ । सभापतिले केही समयअघि दाङमा आफूविरुद्ध उजुरी परे पनि पार्टीमा यस्तो गर्न पाइन्छ भनेर सकारात्मक रूपमा लिनुभएको छ । तर, तरुण दलले चाहिँ मलाई धम्की दिएको छ । तथापि, म आफ्नो मतमा अडिग छु ।’

अनुशासन समितिका संयोजक भीष्मराज आङदेम्बेले आफ्नो समिति नै नबन्दा यस्तो उजुरीबारे सुनेको टिप्पणी गरे । तर, कांग्रेस केन्द्रीय कार्यालयले त्यस्तो उजुरी दर्ता नभएको जनाएको छ । त्यस्तै, ०७० मा पुष्कर ओझा निर्वाचित भएको कैलाली क्षेत्र नम्बर ५ मा गत निर्वाचनमा देउवापत्नी आरजु राणालाई टिकट दिइएको थियो । त्यहाँ उनी पराजित भइन् । ओझाले असहयोग गर्दा आरजु हार्नुपरेको भन्दै उजुरी परेको छ ।

तनहुँमा पौडेल र जोशी पक्षको एक–अर्काविरुद्ध उजुरी
तनहुँमा गोविन्दराज जोशीमाथि नेकपाका उम्मेदवारका लागि खुल्लमखुला भोट मागेको भन्दै उजुरी परेको छ । जोशी बागी उम्मेदवार बन्न खोज्दा कांग्रेस हारेको भन्दै नेता रामचन्द्र पौडेल पक्षले उजुरी दर्ता गराएको हो । गत संसदीय निर्वाचनमा तनहुँ–१ बाट कांग्रेसका आधिकारिक उम्मेदवार बनेका पौडेलविरुद्ध जोशीले उम्मेदवारी दर्ता गराएका थिए । तर, पौडेलकै पहलमा जोशीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो । भ्रष्टाचार अभियोगमा सर्वोच्चमा मुद्दा विचाराधीन रहेको भन्दै जोशीको उम्मेदवारी खारेज भएको थियो । तैपनि उनले पौडेललाई अन्तर्घात गरेको आरोप छ ।

जोशीले भने आफ्नो उम्मेदवारी खारेज भएको र धरौटीसमेत फिर्ता भएको भन्दै आफू बागी उम्मेदवार नै नभएको बताउँदै आएका छन् । जोशी पक्षले पनि नेता रामचन्द्र पौडेल र जिल्ला सभापति वैकुण्ठ न्यौपानेले तनहुँमा कांग्रेसलाई हराएको उजुरी हालेको छ । एउटा बुथमा नेता पौडेलले ७० भन्दा बढी भोट पाउँदा प्रदेश सभाका उम्मेदवार गोविन्द भट्टराईलाई ६ भोट मात्रै आउनुमा पौडेल पक्षको अन्तर्घातले भूमिका खेलेको ठहर सो पक्षको छ । पौडेलले प्रतिनिधिसभामा आफूलाई र प्रदेश सभामा वाम गठबन्धनलाई भोट हाल्ने गरी साँठगाँठ गरेको आरोप जोशी पक्षको छ ।

प्रमाण पुगे जुनसुकै स्तरको नेतामाथि पनि कारबाही हुन्छ : भीष्मराज आङदेम्बे, संयोजक, अनुशासन समिति
दुईपटक गरी १२ सयभन्दा बढी उजुरी परेका छन् । हामी तीन प्रदेशका उजुरी हेरिरहेका छौँ । केस स्टडी नगरी अगाडि बढ्न समस्या हुन्छ । त्यसैले मसिनो गरी हेरिरहेका छौँ । प्रकृति हेरी उजुरीको वर्गीकरण गरेर स्पष्टीकरण सोध्ने र कसरी अगाडि बढ्ने भन्ने तय गर्छौँ । कतिपय उजुरी वडा, क्षेत्रबाट आउने, तर आफूमातहतका जिल्लाका तलका उजुरी नल्याउने गरेको पनि देखियो । यस्तोमा हामीले किन पठाइएन भनेर हेरेका छौँ । धेरै उजुरी तीनवटा निर्वाचनमा उम्मेदवारलाई सहयोग नगरेका भन्ने छन् । उजुरी मात्रै गरेर हुँदैन औचित्य पुष्टि हुने गरी आवश्यक प्रमाण पनि हेरेका छौँ । प्रमाण दिन नसक्ने, तर नेतृत्वको बदनाम मात्रै गर्नेलार्ई पनि कारबाहीको दायरामा राख्छौँ । प्रमाण पुगेका उजुरी छन् भने विनाभेदभाव कारबाही गर्छौँ । त्यस्तो अवस्थामा जुनसुकै स्तरको नेतामाथि पनि कारबाही गर्छौँ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ