भारतीय लोकसभाको पाँचौं चरणको मतदान सम्पन्न

2019-05-07

नयाँ दिल्ली - भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान सम्पन्न भएको छ। सात राज्यका ५१ स्थानका लागि सोमबार मतदान भएको भारतीय निर्वाचन आयोगले जनाएको छ।

पाँचौं चरणअन्तर्गत उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र मध्यप्रदेशमा सात–सात, बिहारमा पाँच र झारखण्डमा चारस्थानमा मतदान भएको हो। जम्मु कास्मिरको लद्दाख तथा अनन्तनागका लागि पुलवामा र सोपियाँ जिल्लामा पनि सोमबार नै मतदान भएको बताइएको छ।

पाँचौं चरणको निर्वाचनमा उत्तरप्रदेशबाट गृहमन्त्री राजनाथ सिंह, प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसकी नेत्री सोनिया गान्धी, कंग्रेस अध्यक्ष राहुल गान्धी तथा केन्द्रीय मन्त्री स्मृति इरानीको भाग्यको फैसला हुनेछ। यस चरणमा कूल छ सय ७४ उम्मेदवार चुनावी मैदानमा रहेका छन्। यस चरणका लागि करिब नौ करोड मतदाता रहेका थिए।

पाँचौं चरणको यस चुनावमा खासगरी उत्तर प्रदेशका रायबरेली र अमेठीको भिडन्त निकै रोचक मानिएको छ। यी दुवै स्थानमा सोनिया गान्धी र राहुल गान्धीलाई सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले कडा टक्कर दिने अपेक्षा गरिएको छ।

उत्तर प्रदेशको राजनीतिमा निकै प्रभावशाली समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीको गठबन्धनले रायबरेली र अमेठीमा उम्मेदवारी नदिएकाले यी दुवै स्थानमा कंग्रेस नै विजयी हुने अड्कलबाजी गरिएका छन्। यसअघि सन् २०१४ को चुनावमा यी क्षेत्रका कूल ५१ स्थानमध्ये भाजपाले ४० स्थान जितेको थियो भने कंग्रेसले दुई स्थान मात्र जितेको थियो। कंग्रेसले रायबरेली र अमेठीमा मात्र विजय हासिल गरेको थियो।

भारतीय निर्वाचन आयोगले पाँचौं चरणको चुनावका लागि ९४ हजार मतदान केन्द्र स्थापना गरेको थियो। साथै चुनावी हिंसालाई ध्यानमा राखेर मतदान हुने सबै क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा बनाएको थियो। यद्यपि कास्मिरको मुसलमान बाहुल्यता रहेको उत्तरी क्षेत्रमा हिंसा मच्चिएपछि मतदान प्रक्रिया अवरुद्ध भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। यस क्षेत्रमा मुसलमान विखण्डनवादीहरुले सुरक्षा फौजसँग लामो समयदेखि संघर्ष गरिरहेका छन्।

विखण्डनवादीले निर्वाचन बहिष्कार गर्न आह्वान गरेका कारण सोमबार मध्याह्नसम्म केबल एक प्रतिशत मतदाताले मात्रै मतदान गरेको निर्वाचन अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। विभिन्न मतदान केन्द्रमा प्रदर्शनकारीले ढुंगा प्रहार गरेको र प्रतिक्रियास्वरुप प्रहरीले गोली चलाउँदा कम्तीमा एक जनालाई गोली लागेको कास्मिर प्रहरीले जनाएको छ। लडाकुहरुले मतदान केन्द्रमा ग्रिनेड प्रहार गरेको र एउटा केन्द्रको पर्खालमा क्षति पुगेको बताइएको छ।

पाँचौं चरणको मतदान सकिएसँगै लोकसभाका कूल पाँच सय ४२ मध्ये चार सय २४ स्थानका लागि चुनाव समाप्त हुनेछ। बाँकी एक सय १८ स्थानका लागि आगामी मे १२ र १९ मा क्रमशः छैटौं र सातौं चरणमा मतदान हुनेछ। चुनावको मतगणना आगामी मे २३ मा हुने कार्यतालिका भारतीय निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ।

भारतको तल्लो सदन लोकसभामा कूल पाँच सय ४५ सिट रहेको छ। जसमध्ये पाँच सय ४३ मा प्रत्यक्ष निर्वाचनमार्फत जनप्रतिनिधिको चयन हुन्छ भने दुई सिटमा राष्ट्रपतिले मनोनित गर्ने प्रचलन रहेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ