आइपिएलमा अलजारीको नयाँ रेकर्ड : ३.४ ओभरमा १२ रन दिएर ६ विकेट लिए !

2019-04-07

काठमाडौं - १२औं संस्करणको आइपिएल क्रिकेटमा वेस्ट इन्डिजका तीव्र गतिका बलर जोसेफ अलजारीले 'ड्रिम डेब्यू' गर्दै विश्व क्रिकेटको ध्यान खिँचेका छन्।

मुम्बई इन्डियन्सका लागि शनिबार डेब्यू गरेका उनले ३.४ ओभरमा ६ विकेट लिएर कीर्तिमानी बलिङ गरेका हुन्। अलजारीको उत्कृष्ट बलिङसँगै मुम्बईले सनराइजर्स हैदरावादलाई उसैको घरेलु मैदानमा ४० रनले पराजित गर्न सफल भयो।

पहिले ब्याटिङ गरेको मुम्बईले समान्य योगफल तयार गरेको थियो। मुम्बईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३६ रनमा मात्र जोड्न सक्यो। लगातार विकेट गुमाएको मुम्बईका लागि छैटौं नम्बरमा ब्याटिङ गरेका केइरन पोलार्डले २६ बलमा २ चौका र ४ छक्काको मद्दतमा नटआउट ४६ रन बनाएका थिए। जससँगै मुम्बईले सामान्य योगफल तयार पारेको थियो।

१ सय ३७ रन बनाउनु घरेलु टिम हैदरावादका लागि ठूलो कुरा थिएन। अझ ओपनिङ जोडी डेभिड वार्नर र जोनी बिस्ट्रले जारी आइपिएलमा उत्कृष्ट खेलिरहेका छन्। त्यसैले खेलमा हैदरावाद हाबी हुने विश्वास गरिएको थियो। अझ मुम्बईले अलजारीलाई पहिलो खेल खेलाउँदै थियो। अनुभवी खेलाडी लासिथ मालिङ्गाको स्थानमा खेलेका अलजारीको प्रदर्शनमा मुम्बईको नतिजा निर्भर थियो।

अलजारीले पाँचौ ‌ओभरमा मुम्बईका लागि दोस्रो र आफ्नो पहिलो सफलता हात पार्दै कप्तान रोहित शर्माको निर्णयलाई सहि साबित गरिदिए। पाँचौ ओभरको पहिलो बलमा उनले ओपनर डेभिड वार्नरलाई बोल्ड गरेसँगै मुम्बईलाई राहत मिलेको थियो।

अलजारीले आफ्नो दोस्रो ओभर सातौं ओभरमा पाए। यो ओभरमा उनले विजय शंकरलाई पाँच रनमा आउट गरे।

१६औं ओभरमा आफ्नो तेस्रो ओभर लिएर आएका उनले २ विकेट लिए। उनले चौथो बलमा दीपक हुडालाई २० रनमा बोल्ड गरे भने पाँचौ बलमा रासिद खानलाई खाता नै खोल्न नदिई पेभेलियनको बाटो देखाए।

१८औं ओभरमा आफ्नो चौथो ओभर गरेका उनले पहिलो बलमा हैदरावादका कप्तान भुवनेश्वर कुमारलाई २ रन र चौथो सिद्धार्थ कौललाई शून्यमा आउट गरेर हैदरवादलाई अलआउट गरे।

यसरी डेब्यू खेलमा ३.४ ओभर बलिङ गर्दा उनले ६ विकेट लिए। उनले १ ओभर मेडन राख्दा १२ रन मात्र खर्चिए। यो आँकडा आइपिएलकै उत्कृष्ट बलिङ हो। जससँगै उनले ११ वर्ष पुरानो रेकर्ड भंग गरे। यसअघि आइपिएलको उत्कृष्ट बलिङ पाकिस्तानका खेलाडी सोहेल तनवीरको नाममा थियो। राजस्थान रोयल्सका बलर तनवीरले सन् २००८ मा चेन्नई सुपरकिंग्सविरुद्ध ४ ओभरमा १४ रन दिएर ६ विकेट लिएका थिए। यस्तै अलजारीको यो प्रदर्शन आइपिएलको डेब्यू खेलकै अहिलेसम्मकै उत्कृष्ट बलिङ हो।

उत्कृष्ट बलिङ गरेसँगै पोलार्डले उनलाई काँधमा बोकेका थिए। यस्तै टेलिभिजन कमेन्ट्री गरिरहेका इंग्ल्यान्डका पूर्व क्रिकेटर केभिन पिटर्सन, डिन जोस र स्कट स्टाइरिसले उठेर सम्मान प्रकट गरेका थिए।

खेलपछि मुम्बईका कप्तान रोहित शर्माले अलजारीको प्रदर्शन सनसनीपूर्ण भएको बताए। डेब्यू खेलमै ६ विकेट लिएपछि उनलाई अब वेस्ट इन्डिजको राष्ट्रिय टिमबाट अझ राम्रो खेल्ने बाटो खुलेको शर्माको भनाइ छ। अलजारीले खेलपछि उत्कृष्ट सुरुवात भएको बताएका छन्। 'यो ड्रिम स्टार्ट हो। यो भन्दा राम्रो बलिङ गर्न सक्दिन,' उनले भने, 'योजना अनुसार बलिङ गर्न चाहान्थे। मैले आफ्नो सामान्य बलिङ गर्ने काम मात्र गरेको हुँ।' अलजारीले पहिलो विकेट लिएपछि खुसी मनाएका थिएनन्। उनले विकेट भन्दा पनि जित निकाल्न केन्द्रित रहेको बताए।

गत फेब्रुअरीमा पनि अलजारी चर्चामा थिए। एन्टिगुवामा इंग्ल्यान्डविरुद्धको टेस्ट खेलका दौरान आफ्नो आमाको मृत्यु भए पनि उनले खेललाई निरन्तरता दिएका थिए। अलजारी सन् २०१६ को यु–१९ विश्वकप विजेता टिमका सदस्य हुन्। सन् २०१६ मा बंगलादेशमा भएको युवा विश्वकपमा वेस्ट इन्डिजले भारतलाई हराएर उपाधि जितेको थियो। फाइनलमा उनले ३ विकेट लिदा ३९ रन दिएका थिए।

आइपिएलमा यसै सिजन आबद्ध भएका अलजारीलाई मुम्बईले एडम मिल्नेको स्थानमा भित्र्याएको हो। मिल्ने घाइते भएपछि मुम्बईले उनलाई ७५ लाख भारुमा आबद्ध गरेको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ