ट्रम्पले भने जस्तै के आइएस समाप्त भएकै हो त ? सद्दाम हुसैनको सत्ता पल्टिएपछि यसरी उदायो आइएस !

2019-03-09

एजेन्सी - गत डिसेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सेनाले आइएसविरुद्धको लडाइँ जितेको घोषणा गरेका थिए । सिरियाबाट दुई हजार सैनिक फिर्ता बोलाउने उनको निर्णयले ठूलै हलचल ल्यायो । फेब्रुअरी १९ मा ट्रम्पको अर्को घोषणा आयो । उनले इस्लामिक स्टेट (आइएस) शतप्रतिशत परास्त भएको घोषणा गरे ।

के आइएस समाप्तै भएको हो ? पछिल्लो दुई सातायता यो प्रश्नको जवाफ सर्वाधिक खोजिएको छ । सिरियाली युद्धलाई प्रत्यक्ष नियालिरहेका धेरै व्यक्ति यो तथ्य स्विकार्न तयार छैनन् । अमेरिकी सञ्चारमाध्यम सिएनएनका रिर्पोटर वेनविडम्यानले मार्च १ मा ट्विट गरेका छन्, ‘म पछिल्लो २८ दिनदेखि सिरियामा युद्धको समाचार संकलन गरिरहेको छु । ट्रम्पले जे भने त्यो गलत छ ।’

अन्तिम सास बाँकी
अहिले सिरियाको अबु कमल जिल्लास्थित बगुज फक्वानी इलाका मात्रै आइएसको नियन्त्रणमा छ । बिबिसीका अनुसार ५० वर्गकिलोमिटर क्षेत्रफलमा झन्डै १५ सयको संख्यामा आइएस विद्रोहीले कब्जा जमाएका छन् । कुनै समय पश्चिम सिरियादेखि पूर्व इराकसम्मको ८८ हजार वर्ग किलोमिटर क्षेत्रफल आइएसको कब्जामा थियो । सिरियामा अहिले आइएस अन्तिम सासका लागि छट्पटाहटमा छ ।

छरिएर विद्रोह
कुनै समय ८० लाख जनसंख्यामाथि शासन गरेको आइएसको त्रास भविष्यसम्म पनि कायमै रहने अमेरिकी रक्षामन्त्रालयका पूर्वअफिसर एफ माइकल मालोफ बताउँछन् । आइएसले भन्ने गरेको तदाकथित ‘क्यालिफेट’ पतन भए पनि उसको दर्शन फैलिँदै गएको विश्लेषकहरू बताउँछन् । ‘आइएसले प्रभाव क्षेत्र गुमाएको हो  । नेता, लडाकु, स्रोत, पैसा र दर्शन बाँकी नै छ,’ अमेरिकी सैनिकको केन्द्रीय कमान्डका प्रमुख जनरल जोसेफ भोटेलले भनेका छन् ।

आइएससँग अहिले कम्तीमा ५० देखि बढिमा ३ सय मिलियन अमेरिकी डलर रहेको हुन सक्ने बिबिसीको अनुमान छ । इराक र सिरियामा अझै पनि कम्तीमा १४ हजारदेखि १८ हजार हतियारधारी विद्रोही आइएसको साथमा रहेको अनुमान संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले गरेका छन् । यस समूहका प्रमुख अबु बकर अल बग्दादी कहाँ छन् भन्ने अझै खुलेको छैन । बग्दादीले कब्जामा पर्नु वा मारिनुभन्दा लुकेर बस्नु उपयुक्त सोचेका छन् । कुनै समय एकत्रित भएर इस्लामिक राज्य बनाउने अभियानमा लागेकोे आइएस अहिले संसारभर फैलिएर आतंक फैलाउने रणनीतिमा छ । इराक र सिरियामा अझै पनि धेरै संख्यामा विद्रोहीहरू छरिएर बसेका छन् ।

संसारभर खतरा
अमेरिका समर्थित सिरियाली कुर्दिस विद्रोही एसडिएफले आइएसका झन्डै आठ सय विदेशी लडाकुलाई कब्जामा लिएको दाबी गरेको छ । इराकको बन्दीगृहमा पनि एक हजार विदेशी लडाकु रहेको बताइएको छ । उनीहरूमध्ये युरोपेली नागरिकको संख्या पनि ठूलो छ ।

कुनै समय पश्चिम सिरियादेखि पूर्व इराकसम्मको ८८ हजार वर्गकिलोमिटर क्षेत्रफल आइएसको कब्जामा थियो । तर, परिस्थिति बदलिएको छ । ५० वर्गकिलोमिटर क्षेत्रमा आइएस खुम्चिएको छ ।

अमेरिकाले यी बन्दीहरूलाई फिर्ता लगेर जेलमा राख्न सम्बन्धित देशलाई आग्रह गरेको छ । तर, ती देशहरूले आइएसमा गइसकेका बन्दीहरूलाई फिर्ता गर्दा आफ्नो सुरक्षा चुनौती थपिने अनुमान गरेका छन् । ‘विद्रोहीहरूलाई जेलमा राख्न पर्याप्त प्रमाण पुग्नुपर्छ । जुन चुनौतीपूर्ण छ, उनीहरूलाई खुला रूपमा सडकमा हिँड्न दिन पनि सकिँदैन,’ जर्मनीको स्पिुटन्युज डट कमले लेखेको छ ।

सिरिया र इराकमा युद्ध अवधिभर आइएसले ४० हजार विदेशी झिकाएको अनुमान गरिएको छ । यात्रामा निस्किएका धेरै सदस्यको पहिचान अझै हुन बाँकी छ । सन् २०१७ को अक्टुबरपछि ५६ सय जना आफ्नो घर फर्किएको बताइएको छ । पहिचान हुन बाँकी रहेका ती विद्रोही सम्बन्धित देशका लागि अझै चुनौती हुन सक्छन् ।

शक्तिराष्ट्रबीच संघर्ष
आइएस हटाउने नाममा सिरियामा शक्तिराष्ट्रबीच अघोषित संघर्ष चल्यो । जसका कारण युद्ध लम्बिएको छ । सर्वसाधारण मारमा छन् । सिरियाली राष्ट्रपति बसर अल असदको नेतृत्वमा रहेको सेनाले रुसी सेना र इरानको समर्थित सैन्य दस्ताको सहयोगमा युद्ध लड्दै आएको छ । त्यस्तै, अमेरिकी नेतृत्वको गठबन्धन सेनाले एसडिएफ, सिरियाली कुर्दिस, अरब फाइटर्स र दक्षिणी मरुभूमिमा रहेका केही सिरियाली अरब विद्रोही समूहसँग सहकार्य गरेको छ । अमेरिकी नेतृत्वको गठबन्धनमा अस्टे«लिया, बहराइन, फ्रान्स, जोर्डन, नेदरल्यान्ड, साउदी अरेबिया, टर्की, युएई र बेलायतको साथ छ । इराकमा इराकी सेनाले अमेरिकी गठबन्धन र इरान समर्थित सैन्यदस्ता दुबैको साथ पायो ।

लाखौँको मृत्यु, दशौँ लाख घरबारविहीन
लन्डनस्थित मानवअधिकारका लागि सिरियाली पर्यवेक्षण संस्थाले कम्तीमा तीन लाख ६७ हजार बढीको मृत्यु भएको प्रतिवेदन तयार गरेको छ । त्यसमध्ये एक लाख ११ हजारभन्दा धेरै सर्वसाधारण रहेको प्रतिवेदनमा उल्लेख छ ।

संयुक्त राष्ट्रसंघका अनुसार इराकमा सन् २०१४ यता कम्तीमा ३१ हजारले ज्यान गुमाएका छन् । तर, इराकी अधिकारकर्मीहरू यस अवधिमा कम्तीमा ७० हजारले ज्यान गुमाएको बताउँछन् । युद्धका कारण कम्तीमा ६६ लाख सिरियाली आन्तरिक रूपमा विस्थापित भएका छन् । कम्तीमा ५६ लाख विदेशमा शरण लिन बाध्य छन् । युद्ध सुरु भएयता इराकबाट सन् २०१३ देखि २०१७ सम्म प्रत्येक वर्ष २० लाखभन्दा धेरैले बसाइसराइ गरे । अहिलेसम्म अमेरिकी गठबन्धनले सिरियामा ३३ हजार पटकभन्दा बढी हवाई हमला गरिसकेको छ । रुसी हवाई सेनाले ३९ हजारभन्दा बढी उडान भरेको दाबी गरेको छ ।

अमेरिकाले के गुमायो ?
सिएनएनका लागि निक पाटन वेल्सले लेखेका छन्, ‘अमेरिकाले सिरियामा बनाएका सैनिक क्याम्प अस्थायी होइनन् । लडाइँमा ठूलो खर्च गरेर बनाएको मैदान अमेरिकाले खाली गर्दैछ । सैनिक फिर्ता बोलाएर ट्रम्पले रुस र इरानलाई आइएसविरुद्धको लडाइँ सुम्पिएका छन् । अब मध्यपूर्व उनीहरूकै प्रभावमा हुनेछ ।’

यसरी उदाएको थियो आइएस
आइएसआइएस जसलाई इस्लामिक स्टेट (आइएस) पनि भनिन्छ, संसारकै सबैभन्दा खतरनाक जिहादी समूह हो । इराकमा सद्दाम हुसैनको सत्ता पल्टिएपछि सिर्जना भएको अस्थिर अवस्थाको फाइदा इस्लामिक स्टेट अफ इराक (आइएसआई) ले उठायो । यो संगठन इराकमा अलकायदाको प्रतिनिधि थियो । सुन्नी मुस्लिम बाहुल्य क्षेत्रमा सद्भाव बटुल्दै शक्तिशाली बन्यो । सन् २०११ मा राष्ट्रपति बसर अल असदविरुद्ध आन्दोलन चर्किएपछि विद्रोही र सत्तापक्षबीचको लडाइँको घानमा सिरियाली जनता पिधिए । अस्थिर अवस्थाको फाइदा उठाउँदै आइएसआईले यहाँ पनि आफ्नो प्रभाव फैलायो । आइएसका लागि अस्थिर सिरिया ‘सुरक्षित स्वर्ग’ बन्यो । जहाँ हतियारको पहुँच सहज थियो ।

यही समयमा इराकबाट अमेरिकी सेना हट्यो । जसको प्रत्यक्ष फाइदा उठाएर आइएसआईले त्यहाँका सुन्नी बाहुल्य क्षेत्र कब्जामा लियो । इराकका अल अन्वर, दियाला, बग्दाद र बाबुवा तथा सिरियाका राका, इदलिब, डेर इज जोर र एलिप्पो प्रान्त आइएसआईको कब्जामा आए । सन् २०१३ मा यस समूहको नाम ‘इस्लामिक स्टेट इन इराक एन्ड द लेभान्ट’ (आइएसआइएस वा आइएसआइएल, छोटकरीमा आइएस) भयो । यही वर्ष उसले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूलाई इस्लामिक राज्य ‘क्यालिफेट’ घोषणा गर्‍यो ।

इराकी कुर्दिस अल्पसंख्यकको नियन्त्रणमा रहेको क्षेत्रमा उनले हत्या र हिंसाको वितण्डा मच्चायो । जसका कारण अमेरिकी नेतृत्वको बहुदेशीय सैनिक गठबन्धनले सन् २०१४ को अगस्टबाट यस समूहविरुद्ध हवाई हमला सुरु गरे । लगत्तै, अर्को महिना सिरियाली राष्ट्रपति बसर अल असदलाई सघाउन रुस छिर्‍यो । असद सरकार, इरान र रुस एकातर्फ, अमेरिका र उसका गठबन्धन सेना अर्कोतर्फ, अनि आइएस अर्कोतर्फ, सिरियामा भिन्ना–भिन्नै लडाइँ भयो ।

(एजेन्सीको सहयोगमा)




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ