नेविसंघ केन्द्रीय समितिको म्याद आज सकिँदै, समितिको वैधतामाथि प्रश्न !

2019-01-16

काठमाडौँ - नेपाल विद्यार्थी संघ(नेविसंघ)को केन्द्रीय कार्यसमितिको म्याद बुधबारबाट सकिँदै छ । तर, म्याद थप गर्ने आधिकारिक निकाय नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० माघमा मात्रै बोलाइएकाले अध्यक्ष नैनसिंह महर नेतृत्वको समितिको वैधतामा प्रश्न उठ्ने देखिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १० माघका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा मात्रै नेविसंघको विषयमा छलफल हुने बताए । ‘विधानतः ११औँ महाधिवेशनबाट निर्वाचित भएर आएको नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिको म्याद बुधबारबाट स्वतः सकिने छ,’ प्रवक्ता शर्माले नयाँ पत्रिकासँग भने ‘अब नेविसंघका विषयमा कसरी अगाडि बढ्ने भन्ने बारेमा १० माघमा आह्वान भएको केन्द्रीय समितिमा छलफल हुन्छ ।’

१५ जिल्लामा मात्रै अधिवेशन सकियो
नेविसंघ अध्यक्ष नैनसिंह महरले आफ्नै नेतृत्वमा आगामी वैशाखमा १२औँ महाधिवेशन हुने दाबी गरेका छन् । ‘म्याद त पहिला पनि सकिएको थियो, कसरी थपियो ? अहिले पनि त्यसैगरी थपिन्छ,’ उनले भने । अध्यक्ष महरले केन्द्रीय कार्यसमितिबाट तीनपटक निर्णय गराएर १२औँ महाधिवेशनको मिति तोके पनि हुन सकेन । महरले पहिलोपटक गत साउन २३ देखि २५ गतेसम्म, दोस्रोपटक कात्तिक १६ देखि १८ गतेसम्म र तेस्रोपटक पुस २८ देखि ३० गतेसम्म महाधिवेशनको मिति तय भएको थियो । तर, अहिलेसम्म क्याम्पस, स्थानीय तह, जिल्ला र प्रदेशमै अधिवेशन गर्न बाँकी छ । अहिलेसम्म ७७ जिल्लामध्ये १५ जिल्लाको मात्रै अधिवेशन सकिएको कोषाध्यक्ष शिव रिमालले जानकारी दिए । उनका अनुसार उपत्यकाभित्रका कुनै पनि क्याम्पसको अधिवेशन भएको छैन ।

गत भदौमै कार्यकाल समाप्त
नेविसंघ केन्द्रीय कार्यसमितिको दुईवर्षे कार्यकाल गत भदौमै समाप्त भएको थियो । त्यसपछि विधानअनुसार एकपटकका लागि तीन महिना म्याद थप गरेर २ मंसिरसम्म पु¥याइएको थियो । उक्त समयमा पनि महाधिवेशन गर्न नसकेपछि कांग्रेस केन्द्रीय कार्यसमितिको १ मंसिरमा बसेको बैठकले विधान संशोधन गरी थप दुई महिना कार्यकाल लम्ब्याएको थियो ।

यी पदाधिकारीद्वारा राजीनामा
उपाध्यक्षहरू पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनीले २७ पुसमा सभापति देउवालाई राजीनामा बुझाएका थिए । यता, सहमहामन्त्री हरिहर शर्मा नेतृत्वमा ४५ सदस्यीय टोलीले आइतबार नेता रामचन्द्र पौडेललाई राजीनामा बुझायो । नेविसंघमा पदाधिकारी वा केन्द्रीय सदस्यले अध्यक्षलाई राजीनामा बुझाउनुपर्ने प्रावधान छ । तर, विधानविपरीत पदाधिकारीहरूले देउवा र पौडेललाई राजीनामा बुझाएपछि कांग्रेस नेतृत्व नै समिति विघटनको पक्षमा लागेको आशंका गरिएको छ ।

पार्टीको केन्द्रीय समितिमा छलफल हुन्छ
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा
नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिको म्याद बुधबारबाट स्वतः सकिने छ । अब कसरी अगाडि बढ्ने भन्ने बारेमा १० माघमा आह्वान भएको कांग्रेस केन्द्रीय समितिमा छलफल हुन्छ ।

पहिले जसरी नै म्याद थपिन्छ
नेविसंघ अध्यक्ष नैनसिंह महर
फागुनमा तोकिएको स्ववियु निर्वाचन सकिएपछि मेरै नेतृत्वमा वैशाख पहिलो साताभित्र महाधिवेशन हुन्छ । म्याद त पहिला पनि सकिएको थियो, कसरी थपियो ? अहिले पनि त्यसैगरी थपिन्छ ।


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ