धेरै रक्सी पिएपछि किन हुन्छ ह्याङओभर ? कसरी हटाउने ?

2019-01-07

काठमाडौं - ‘हिजो साँझ रक्सी पिएको, अलि धेरै नै भएछ अहिलेसम्म ह्याङओभर सकिएको छैन’, भोलिपल्ट कतिपयले भन्छन् । धेरै पिएर नै ह्याङओभर भएको धेरैले ठान्छन् । हिलसा माछाको अचार या अण्डा खाए ह्याङओभर हट्ने विश्वास पनि धेरैले गर्छन् ।

अधिक रक्सी पिएपछि प्रायः मानिसहरू ह्याङओभर भएको बताउँछन्। फेरि जो साथीले अघिल्लो दिन धेरै पिउन बल गरेको थियो उसैले भोलिपल्ट ह्याङओभर हटाउने उपायहरू पनि बताइरहेको हुन्छ। तर कुन उपायले तपाईँलाई ताजा बनाउला ? त्यस्तो कुनै उपाय छ कि छैन ?

यो हजारौँ वर्ष पुरानो चुनौती हो
ह्याङओभरबाट कसरी छुटकारा पाउने भन्ने समस्या आजको होइन। इजिप्टमा भेटिएको १९०० वर्ष पुरानो एउटा भोजपत्रमा यसबाट मुक्ति पाउने उपाय लेखिएको थियो। अर्थात् उसबेला पनि मानिसहरू रक्सी धेरै पिएपछि त्यसले निम्तिने समस्याबाट हैरान थिए र त्यसको समाधान खोजिरहेका थिए। त्यो भोजपत्रमा जुन उपायहरू सुझाइएको थियो, त्यो आजको दिनमा व्यवहारमा लागु गर्न कठिन छ। तर आज पनि ह्याङओभर हटाउने अनेकौँ उपायहरू बताइन्छ।

रमाइलो कुरा के छ भने तर कुनै पनि उपायले धेरै रक्सी पिएर तपाईँले भोगिरहनु भएको ह्याङओभर समस्याको समाधान गर्ने निश्चित छैन। निश्चित समयपछि यो समस्या आफै हराउँछ। त्यस अर्थमा समयसँगै ह्याङओभर हटेर जान्छ।

यसको मुख्य कारण के हो भने आजको दिनसम्म ह्याङओभर किन हुन्छ भन्ने स्पष्ट थाहा भइसकेको छैन।

किन हुन्छ त ह्याङओभर ?
विज्ञानले के भन्छ भने जब अधिक रक्सी पिएर हामीलाई ह्याङओभर भएको अनुभव हुन्छ या भनौँ जब टाउको भारी भएर दुख्न थाल्छ, रिँगटा लाग्छ तबसम्म हाम्रो शरीरमा रक्सीको अंश बाँकी नै हुँदैन। त्यसो भए ह्याङओभर किन हुन्छ त ?

रक्सी इथानोलबाट बन्छ। यसलाई हाम्रो शरीरमा भएको इन्जाइमले विग्रह गरेर अन्य विभिन्न रसायनमा परिणत गरिदिन्छ। यीमध्ये सबैभन्दा महत्त्वपूर्ण एसिटेल्डिहाइड हो। यसलाई थप टुक्रा गरेर इन्जाइमले अर्को रसायन एसिटेटमा परिणत गरिदिन्छ। यही एसिटेट रसायन फ्याटीएसिड र पानीमा परिणत हुन्छ। केही वैज्ञानिकहरू ह्याङओभर यही एसिटेल्डिहाइडका कारण भएको विश्वास गर्छन्। तर केही अध्ययनहरूले यो रसायनको ह्याङओभरसँग प्रस्ट सम्बन्ध नहुने देखाएको छ।

केही जानकारहरू भने रक्सीमा मिसाइने अरू नै रसायनका कारण ह्याङओभर हुने बताउँछन्। तिनलाई कन्जेनर्स भनिन्छ।

ह्विस्की बनाउँदा अन्य धेरै किसिमका तत्त्व पनि निस्किन्छन्। धेरै पिएपछि मात्र मानिसहरूले तिनको उपस्थिति अनुभव गर्छन्। कडा रङ्गका रक्सीमा यसको मात्रा बढी हुन्छ। त्यसैले बर्बन पिउँदा उत्तिकै भोड्का पिएभन्दा बढी ह्याङओभरको अनुभूति हुन्छ। तर यसको असर व्यक्तिपिच्छे फरक–फरक हुन्छ।साथै पिउनुको असर वा ह्याङओभर पनि पिउने मानिसको उमेर र पिएको मात्रा अनुसार भिन्न हुन्छ।

थकाइ लागेको अनुभव किन हुन्छ ?
वास्तवमा कुनै एउटा मात्रै कारणले ह्याङओभर हुँदैन। यसका विविध कारणहरू हुन्छन्। रक्सी पिउँदा हाम्रो शरीरमा हर्मोनको सन्तुलन खलबलिन्छ।

यसबेला मानिसहरू अरुबेलाभन्दा धेरै पिसाब गर्न थाल्छन्। यसले उनीहरूको शरीरमा पानीको मात्रा कम हुन पुग्छ। टउको भारी हुनु वा दुख्नु योसँग पनि सम्बन्धित छ। मदिरा सेवनले निद्रामा पनि असर गर्छ। प्रायः मानिसहरू राति अबेरसम्म मदिरा पिउँछन्। जसको परिणामस्वरूप उनीहरू पर्याप्त सुत्न पाउँदैनन्। यसैकारण पनि उनीहरू थकान अनुभव गर्छन्।

नेदरल्यान्ड्सको उत्रेख्त विश्वविद्यालयका प्राध्यापक योरिस सी वेर्सटर भन्छन्, ‘धेरै रक्सी सेवन गरेपछि हाम्रो शरीर त्यससँग लड्न थाल्छ ताकि त्यसले हाम्रो शरीरमा धेरै खराबी नगरोस्। त्यसै कारण पनि मानिसहरू धेरै पिएपछि अल्मलिएको जस्तो देखिन्छन्।’

इन्टरनेटमा ह्याङओभर हटाउने अनेकौँ उपायहरू लेखिएका भेटिन्छन्। कसैले केरा खाए राहत हुन्छ भन्छन्। किनकि रक्सी पिउनाले शरीरमा भएको पोटासियम नष्ट हुन्छ र केरा खाए त्यसमा भएको पोटासियमले शरीरमा त्यसको कमी पूरा हुन्छ। तर पोटासियमको कमी एक रात रक्सी खाँदैमा हुँदैन, जुन केरा खाएर तुरुन्तै पूर्ति होस्।

कोही मानिसहरू ह्याङओभर हटाउन बिहान चिल्लोयुक्त नास्ता खानु पर्ने सुझाउँछन्। कोही भने पिउनु पहिल्यै पेटभरि खानु पर्ने बताउँछन्। केही मानिसहरू अण्डा खाने सल्लाह दिन्छन्। अण्डामा हुने एमिनो एसिड भनिने रसायन एसिटेल्डिहाइड टुक्र्याउन प्रयोग हुन्छ। त्यसैले अण्डा खाएर राहत मिल्छ भनिन्छ। तर त्यस्तो तत्त्व त अन्य खानामा पनि पाइन्छ।

अहिलेको लागि भने रक्सी धेरै पिएर हुने समस्याबाट छुटकारा पाउने सबैभन्दा राम्रो उपाय भनेको आराम गर्नु, धेरै पानी पिउनु र एक चक्की एस्पिरिन लिनु हो। रक्सी पिउनुपूर्व राम्रोसँग खानेकुरा खानु र रक्सी पनि विस्तारै विस्तारै पिए ह्याङओभर कम हुन्छ। र, सबभन्दा राम्रो उपाय त धेरै रक्सी नपिउनु नै हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ