अमेरिकालाई चीनको चेतावनी : 'चीनलाई कुनामा थन्क्याउन खोज्नु ठूलो भूल'

2018-12-19

बेइजिङ - चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गमा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीले अबलम्बन गरेको ऐतिहासिक 'सुधार एवं खुला नीति'को ४०औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहमा बोल्दै राष्ट्रपति सीले चीनको विकास र प्रगति त्यही नीतिका आधारमा निरन्तर अगाडि बढेकाले त्यसलाई छाड्न नसकिने बताए ।

चिनियाँ ग्रेट हल अफ द पिपुलमा आयोजित समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले आर्थिक सुधारका क्षेत्रमा चीनले थप काम गर्ने प्रतिबद्धता जनाए । 'हालको एक दलीय राजनीतिक प्रणालीबाट विचलित हुँदैनौं', उनले भने, 'अरु कुनैपनि मुलुकबाट आदेश लिएर काम गर्दैनौं ।'

'समाजवादको झण्डा चिनियाँ भूमिमा अझै उचाईका साथ सदैब फर्फराइरहनेछ,' राष्ट्रपति सीले भने, 'चीनको कम्युनिष्ट पार्टीको नेतृत्व चिनियाँ विशेषतायुक्त समाजवादको प्रतिरुप हो र यो चिनियाँ विशेषता सहितको समाजवादी प्रणालीको ठूलो उपलब्धि हो ।'

चिनियाँ सुधार एवं खुला नीति देङ सियाओपिङको कार्यकालमा सन् १९७८ डिसेम्बर १८ मा आजकै दिन शुभारम्भ भएको थियो । तर, पछिल्ला दिनहरुमा चीन र अमेरिकाबीचको व्यापारिक युद्धले चिनियाँ अर्थतन्त्रले अनेक सङ्कटको सामना गर्नु परिरहेको छ । दुबै मुलुकबीच ९० दिनको व्यापारिक युद्धविराम गरी सहमतिको खोजी भइरहेको छ ।

'चीन कुनै पनि मुलुकका लागि चुनौती होइन तर यसलाई कुनामा थन्क्याउँछु भन्नु ठूलो भूल हुनेछ', संयुक्त राज्य अमेरिकामाथि प्रत्यक्ष सङ्केत नगरी राष्ट्रपति सी जिनपिङले भने, 'चिनियाँ जनताले के गर्नु पर्दछ वा के गर्नु हुँदैन भनेर कसैले हस्तक्षेप गर्ने परिस्थितिमा अहिले कोही छैन ।'

'हामीले गर्न सकिने सुधारका कार्यहरुलाई निरन्तरता दिनै पर्दछ', उनले चेतावनीको भाषामा भने, 'तर कतिपय काम हामी गर्न सक्दैनौं, त्यसमा कसैले हस्तक्षेप गर्ने प्रयास नगरे हुन्छ ।

राष्ट्रपति सीले बढीभन्दा बढी सुधारका बारेमा चीन तयार रहेको बताए पनि कुनै ठोस योजना भने घोषणा गरेनन्। संयुक्तराज्य अमेरिका र युरोपका देशहरुले लामो समयदेखि चीनको विशाल बजारमा सहज पहुँचको माग गरिरहेका छन् । तर, यससँगै उनीहरुले चिनियाँ कम्पनीहरुले पश्चिमा मुलुकको अर्थतन्त्रमा खुला र सहज प्रवेश पाइरहेको गुनासो गरिरहेका छन् ।

देङको खुला नीतिले करोडौं चिनियाँ जनतालाई गरिबीबाट मुक्त गरेको विश्वास गरिन्छ । साथै, यही नीतिको बलमा चीनले आफूलाई विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकका रुपमा उभ्याएको छ ।

तर पछिल्ला वर्षहरुमा चीनको ऋण बढ्दो क्रममा देखिएको छ भने आर्थिक विकासमा केही कमी आएको छ । गत वर्ष ६ दशमलब ९ प्रतिशत रहेको आर्थिक विकास यस वर्ष ६ दशमलब ५ प्रतिशतमा छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्से तुङका नीतिहरुले मुलुकमा विषम परिस्थिति सिर्जना गरेको भन्दै देङ सियाओपिङले सुधार एवं खुला नीति प्रतिपादन गरेका थिए ।

मङ्गलबार ग्रेट हल अफ द पिपुलमा आयोजित समारोहमा मुलुकको विकासमा महत्वपूर्ण योगदान गरेका १०० भन्दा बढी व्यक्ति एवं संस्थालाई विशेष पदकद्वारा विभूषित गरिएको थियो ।

विभूषित हुनेहरुमा ग्रामीण क्षेत्रमा कार्यरत व्यक्तिदेखि चीनका सर्वाधिक धनी व्यक्ति अलिबाबाका संस्थापक ज्याक मा, एनबीए खेलाडी याओ मिङसमेत छन् ।

खुलापनका पिताका रुपमा चिनिने देङ सियाओपिङले हङकङसँग सीमा जोडिएको सेन्जेनमा चीनकै पहिलो विशेष आर्थिक क्षेत्र निर्माण गर्नुभएको थियो । यो आर्थिक क्षेत्र मुलुकका बाँकी स्थानका लागि नमूनाका रुपमा स्थापित भएको थियो ।

सेन्जेन हाल विश्वव्यापी प्रविधि केन्द्रका रुपमा स्थापित छ । यहाँ टेन्सेन्ट र टेलिकम क्षेत्रको मसहुर कम्पनी हुवावेका मुख्यालय छन् । चालीस वर्षअघि ग्रामीण क्षेत्रमा ९७.५ प्रतिशत रहेको गरिबी गत वर्षसम्म आइपुग्दा ३.१ प्रतिशतमा झरेको छ । एएफपी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ