तीन राप्रपाबीच एकीकरणको तयारी

2018-12-03

काठमाडौँ - पशुपतिशमशेर नेतृत्वको राप्रपा (प्रजातान्त्रिक), डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) र राप्रपाका अध्यक्ष कमल थापासँग असन्तुष्ट नेताहरूबीच पार्टी एकता हुने भएको छ । २७ कात्तिकबाट निरन्तर अनौपचारिक छलफलमा रहेका दुई पार्टी र एउटा असन्तुष्ट समूहका नेताहरू शनिबारसम्म पार्टी एकता घोषणा गर्ने तयारी छ ।

उनीहरूबीच ०७४ मा भएको एकता महाधिवेशनले पारित गरेको लाइनलाई आत्मसात् गरेर पार्टी एकता गर्ने तयारी छ । राप्रपा राष्ट्रवादीका अध्यक्ष डा.लोहनीले एकताका लागि निरन्तर छलफल भइरहेको र यही हप्ता पार्टी एकता घोषणा हुने जानकारी दिए । ‘हामी र पशुपतिजीको पार्टीसँग एकताको विषयमा निरन्तर छलफल भइरहेको छ । कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट साथीहरू पनि हामीसँग निरन्तर छलफलमा हुनुहुन्छ,’ उनले भने, ‘अब एक साताभित्र एकता हुन्छ ।’

केही दिनमै एकता : थापा
राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनील थापाले कमल थापाले एकताको बाटो बन्द गरेपछि राप्रपा (राष्ट्रवादी) र राप्रपाका असन्तुष्ट नेताहरूसँग आफूहरूले एकताका लागि छलफल अगाडि बढाएको स्वीकारे । ‘समान विचारधारा भएका तीन राप्रपाको एकीकरण गर्ने प्रयास हाम्रो थियो । तर, राप्रपा अध्यक्ष कमल थापाले एकताको बाटो सहज छैन, आ–आफ्नो बाटो जाऔँ, पार्टी एकता नगरौँ भनेपछि हामीले उहाँलाई छाडेर बाँकी शक्तिबीच एकता गर्न छलफल अगाडि बढाएका छौँ,’ उनले भने, ‘वार्ता सकारात्मक भएको छ । केही दिनमै एकता घोषणा हुने वातावरण बन्दै छ ।’

एक्लिँदै कमल थापा
राप्रपा अध्यक्ष थापाले एकताको वातावरण बिथोलेपछि पार्टीका पाँच पूर्वपदाधिकारीसहित १९ जनाले हस्ताक्षरसहितको विज्ञप्ति जारी गरेर व्यक्तिगत स्वार्थ त्यागेर पार्टी एकताका लागि लचिलो बन्न आग्रह गरेका थिए । विज्ञप्ति जारी गर्नेमा पूर्वउपाध्यक्षहरू बुद्धिमान तामाङ, टंक ढकाल र दिलविकास राजभण्डारी तथा पूर्वमहामन्त्रीद्वय जयन्त चन्द र धवलशमशेर राणासहितका नेताहरू थिए ।

सो समूहका नेता पूर्वमन्त्री दिलनाथ गिरीले आफूहरूले राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीसँग पार्टी एकताका लागि छलफलमा रहेको स्वीकारे । ‘हो, हामी पार्टी एकताका लागि छलफलमा छौँ,’ उनले भने, ‘पार्टी अध्यक्ष एकलौटी ढंगले अगाडि बढ्न खोजेपछि हामी अन्य पार्टीसँग एकता गर्दै बलियो राष्ट्रवादी शक्ति बनाउने अभियानमा लागेका हौँ ।’


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ