फुटको संघारमा राजपा : महतोले बोलाएको बैठकमा ठाकुर र झा गएनन् !

2018-11-27

काठमाडौँ - राष्ट्रिय जनता पार्टी नेपालमा आन्तरिक संकट गहिरिन थालेको छ । पार्टीको संयोजक परिवर्तन भएसँगै राजपा अध्यक्षमण्डलको बैठक बहिष्कार गर्ने तहसम्म विवाद बढेको छ । गत मंगलबारको राजपा अध्यक्षमण्डलको बहुमत निर्णयले महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतोलाई संयोजक तोकेको थियो । जुन निर्णय अहिले विवादमा परेको छ ।

राजपा संयोजक महतोले सोमबारका लागि बोलाएको अध्यक्षमण्डलको बैठक स्थगित भएको छ । अध्यक्षमण्डलका सदस्यद्वय ठाकुर र अनिल झाले बहिष्कार गरेपछि बैठक स्थगित भएको स्रोतले बताएको छ । तर, अर्को पक्षले भने राजकिशोर यादव काठमाडौंबाहिर भएकाले बैठक स्थगित भएको दाबी गरेको छ । ‘अध्यक्षमण्डलका सदस्य राजकिशोर यादव बैठकको समयभित्र आइपुग्ने अवस्था नभएकाले बैठक स्थगित भएको हो,’ महासचिव केशव झाले नयाँ पत्रिकासँग भने । ठाकुरनिकट नेता डा. सुरेन्द्र झाले भने यादवको अनुपस्थितिलाई बहाना बनाएर बैठक स्थगित गरेको बताए ।

बैठकमा पार्टीभित्र देखिएको विवादलाई व्यवस्थापन र सरकारलाई दिएको समर्थनबारे पनि छलफल गर्ने एजेन्डा थियो । तर, ठाकुर र झाले गत मंगलबारको अध्यक्षमण्डलका बहुमतले गरेको निर्णय नमान्ने अडानमा रहेका एजेन्डा अलपत्र परेको छ ।

कहाँबाट सुरु भयो विवाद ?
७ वैशाख ०७४ मा ६ वटा मधेसकेन्द्रित दलहरू मिलेर राजपा गठन भएको हो । पार्टी एकता भए पनि डेढ वर्षसम्म महाधिवेशन हुन सकेको छैन, जबकि निर्वाचन आयोगमा बुझाएको राजनीतिक प्रतिवेदन र पार्टीको विधान बुझाउने क्रममा एक वर्षभित्र महाधिवेशन गर्ने भनिएको थियो । गत असारमा निर्वाचन आयोगले पत्र लेखेर यो कुरा सम्झाएको पनि थियो । तर, नेता व्यवस्थापनमा समस्या भएपछि राजपाले अहिलेसम्म पार्टीको विधानमा समेत सहमति जुटाउन सकेको छैन । जनमत कमजोर भएका ठाकुरले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभामा आफूनिकटका नेतालाई बढी उम्मेदवार बनाएपछि त्यहीँबाट विवाद सुरुवात भएको हो ।

त्यसैगरी, राष्ट्रिय सभा सदस्यमा आफूनिकट वृशेषचन्द्र लाललाई पठाएको, प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल र प्रमुख सचेतकमा परमेश्वर झालाई बनाएको आरोप ठाकुरमाथि छ । साथै, संसदीय दलको नेतालाई मन्त्री नबनाउने सहमतिविपरीत सोनललाई मन्त्री बनाएको र राज्यमन्त्री बनाउँदा शरतसिंह भण्डारीको टिमबाट एकजनालाई बनाउने सहमतिविपरीत आफ्नै मान्छे पठाएको भन्दै अध्यक्षमण्डलमा असन्तुष्टि थियो । प्रतिनिधिसभामा ठाकुर आफैँ संसदीय दलको नेता भएकोप्रति पनि आक्रोश छ । दलको नेतामा राजेन्द्र महतो पनि दाबेदार थिए । प्रदेश २ मा नीति आयोग गठन र प्रदेशको नामकरण तथा राजधानी तय गर्न गठन समितिमा सदस्य चयन गर्दा ठाकुरले एकलौटी गरेको बहुमत अध्यक्षहरूको आरोप छ ।

१५ कात्तिकको गोप्य बैठकमै सहमति
गत १५ कात्तिकमा ठाकुरविरुद्ध अध्यक्षमण्डलका अन्य सदस्यको गठजोडले मूर्त रूप पाएको हो । ठाकुरले पार्टी एकलौटी रूपमा चलाएको भन्नेमा अध्यक्षमण्डलका सदस्यहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव र महेन्द्रराय यादव सहमत भएका थिए । भण्डारीको महोत्तरीमा रहेको होटेल पवन मिथिलामा बैठक भएको थियो ।

सोही बैठकमा सहमति भएअनुसार गत मंगलबारको अध्यक्षमण्डलको बैठकमा ठाकुरलाई संयोजकबाट हटाइएको हो । बैठकमा महेन्द्र राय यादवले विधानअनुसार अब अध्यक्षमण्डल चक्रीय प्रणालीमा जानुपर्ने प्रस्ताव राखेका थिए र त्यसमा समर्थन गर्दै थप व्याख्या भण्डारीले गरेका थिए ।

पार्टी फुट्न पनि सक्छ
विवाद बढ्दै गएपछि राजपा विभाजन हुन सक्ने टिप्पणी सुरु भएको छ । ठाकुरनिकट नेताहरूले अनौपचारिक छलफल सुरु गरेका छन् । ठाकुरनिकट नेता वृशेषचन्द्र लालले भने, ‘पार्टीभित्र उत्पन्न असहज परिस्थितिबारे हामी साथीहरूसँग अनौपचारिक छलफलमा छौँ ।’ राजनीतिक दलसम्बन्धी नयाँ व्यवस्थाअनुसार पार्टी विभाजन गरी नयाँ दर्ता गर्न केन्द्रीय समिति र संसदीय दल दुवैमा कम्तीमा ४० प्रतिशत सदस्य पु-याउनुपर्छ । संसदीय दलमा राजेन्द्र महतो बलियो भए पनि ठाकुर र झा मिल्दा केही सदस्य मात्रै पुग्दैनन् । राजपा स्रोतले भन्यो, ‘त्यसैले अहिले तत्काल पाटी विभाजनको अवस्था नरहे पनि प्रयास भने देखिन थालेको छ ।’

‘पर्ख र हेर’को स्थितिमा छौँ
वृशेषचन्द्र लाल, वरिष्ठ नेता राजपा

राजपा गठन हुँदा सबैले महन्थ ठाकुरको नेतृत्वमा अगाडि बढ्छौँ भनेर वाचा गरेका थिए । गत ४ देखि ६ असारसम्म भएको राजनीतिक समितिको बैठकमा आगामी वैशाखमा एकता महाधिवेशन गर्ने र ठाकुरको संयोजकत्वमा जाने निर्णय भएको थियो । तर, अहिले एक्कासि संयोजक फेरियो । अध्यक्षमण्डलको एक सदस्यले ठाकुरलाई साह्रै नराम्रो शब्द प्रयोग गर्नुभएको छ । त्यसैले, अहिले मधेसमा मुद्दाको एजेन्डाप्रति प्रतिबद्ध हुने कि राजनीतिक व्यापार गर्ने ? भन्ने प्रश्न उठेको छ । हामी अहिले ‘पर्ख र हेर’ को अवस्था छौँ । परिस्थिति फेरिएन भने फरक ढंगले सोच्न बाध्य हुनेछौँ ।


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ