विश्वकप छनोट : अन्तिम खेलमा नेपाल आज सिंगापुरसंग भिड्दै !

2018-10-12

काठमाडौं - आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत पहिलो चरणको एसियाली छनोट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले शुक्रबार सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र सिंगापुर दुवै टोलीले यसअघि नै अन्तिम चरणको एसियाली छनोट प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरिसकेकाले शुक्रबारको खेल उपाधिका लागि मात्र केन्द्रित हुनेछ।

शीर्ष दुई स्थानमा रहेका नेपाल र सिंगापुरबीचको खेलको विजेता टोलीले नै उपाधि जित्ने निश्चित छ। प्रतियोगिताको अन्तिम खेलअघि नेपाल र सिंगापुर दुवैको समान पाँच खेलबाट १०÷१० अंक छ। रन रेटका आधारमा भने नेपाल शीर्ष स्थानमा छ। त्यसैले शुक्रबार नेपाल र सिंगापुरबीचको भिडन्त रोमाञ्चक हुने अनुमान गरिएको छ।

सिंगापुरविरुद्ध मैदानमा उत्रँदा नेपालसामु अर्काे चुनौती पनि हुनेछ। नेपालका लागि सिंगापुर परम्परागत प्रतिद्वन्द्वी हो। ५० ओभर र २० ओभरका साथै तीन दिवसीय क्रिकेटमा समेत प्रतिस्पर्धा गरेको नेपालले हालसम्म सिंगापुरसँग पराजय व्यहोरेको छैन। नेपाली टोली शुक्रबार जित्दै जारी प्रतियोगितामा आफ्नो विजयी यात्रालाई निरन्तरता दिने प्रयासमा हुनेछ। यसका साथै नेपालसामु सिंगापुरविरुद्घ हालसम्म कायम राख्दै आएको जितको इतिहासलाई निरन्तरता दिनु अर्को चुनौती हुनेछ।

नेपालले सिंगापुरसँग पछिल्लो पटक गत सेप्टेम्बरमा मलेसियामै भएको ५० ओभरको एसिया कप छनोट प्रतियोगितामा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपाल चार विकेटले विजयी भएको थियो। २० ओभरको खेलमा भने नेपालले सिंगापुरसँग करिब ६ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो।

नेपालले २० ओभरको खेलमा सिंगापुरसँग पछिल्लो पटक सन् २०१३ को मार्चमा काठमाडौंमै भएको एसीसी टीट्वेन्टी कपको समूहगत चरणमा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपाल एक सय २१ रनले विजयी भएको थियो। उक्त खेलमा नेपालले पहिले ब्याटिङ गर्दै दुई सय १० रन बनाएको थियो। अन्तर्राष्ट्रिय टीट्वेन्टी क्रिकेटमा नेपालले बनाएको त्यो अहिलेसम्मकै ठूलो स्कोर हो।

बलियो इतिहास र पछिल्लो समय आफूले प्राप्त गरेको हैसियतका कारण पनि नेपाललाई सिंगापुरविरुद्ध जित अपरिहार्य छ। सिंगापुर आईसीसी विश्व क्रिकेट लिगको डिभिजन तीनमा रोकिँदा नेपाल डिभिजन एक हुँदै एकदिवसीय टोलीको मान्यता लिन पनि सफल भएको छ। यद्यपि सिंगापुरले बलियो चुनौती दिन सक्ने तथ्यप्रति नेपाली टोली सचेत रहनु आवश्यक छ।

प्रतियोगितामा नेपाली बलरले सशक्त प्रदर्शन गरिरहँदा ब्याट्सम्यानले भने आफ्नो स्तरको प्रदर्शन दिन सकिरहेका छैनन्। सामान्य लक्ष्य पछ्याउने क्रममा समेत नियमित रूपमा विकेट खर्चिरहेको छ। त्यसैले आफ्नो सामान्य कमजोरीतर्फ ध्यान पुर्‍याउन सकेमा नेपालले सिंगापुरविरुद्धको आफ्नोे गर्विलो इतिहासलाई निरन्तरता दिँदै उपाधि भित्र्याउन सक्ने प्रबल सम्भावना छ।

 

अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ