म्यानमार भर्सेस नेपाल : दुई ओभरमै सन्दीपले लिए चार विकेट !

2018-10-04

काठमाडौं - नेपालले म्यानमारविरुद्धको सहज जितसँगै सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टीट्वेन्टी विश्वकपअन्तर्गत पहिलो चरणको एसियाली छनोटमा सुखद सुरुआत गरेको छ ।

नेपालले बुधबार भएको आफ्नो पहिलो खेलमा म्यानमारलाई आठ विकेटले पराजित गर्‍यो। नेपालले यो जितमा केही कीर्तिमान पनि बनाएको छ। मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा टस जिती पहिले ब्याटिङ गरेको म्यानमारलाई नेपालले १० ओभरमा २९ रनमै समेटेको थियो ।

 जवाफमा नेपालले तीन ओभरमा दुई विकेट गुमाउँदै जित पक्का गरेको हो। अन्तर्राष्ट्रिय टीट्वेटी क्रिकेटमा नेपालले कुनै पनि टोलीलाई सबैभन्दा कम योगफलमा समेटेको यो पहिलो अवसर हो।

नेपालले यसअघि ५० ओभरको क्रिकेटमा पनि म्यानमारविरुद्ध नै विपक्षीलाई सबैभन्दा कम योगफलमा रोक्ने कीर्तिमान बनाएको थियो । सन् २००६ मा मलेसियामै भएको एसीसी ट्रफीअन्तर्गतको खेलमा नेपालले म्यानमारलाई १० रनमै समेट्दै यस्तो कीर्तिमान बनाएको थियो ।

 समग्रमा भने कुनै पनि प्रतियोगितामा नेपालले विपक्षी टोलीलाई सर्वाधिक कम योगफलमा समेटेको यो तेस्रो अवसर हो।नेपालले सन् २००८ मा जर्सीमा भएको विश्वक्रिकेट लिग डिभिजन पाँचअन्तर्गतको खेलमा मोजाम्बिकलाई १९ रनमा अल आउट गरेको थियो। सो खेलमा नेपाली मध्यम गतिका बलर मेहबुब आलम एक्लैले १० विकेट लिएर कीर्तिमानी प्रदर्शन गरेका थिए।

नेपालले म्यानमारविरुद्ध टीट्वेन्टी खेलमा सबैभन्दा कम ओभरमा जित हात पार्ने कीर्तिमानसमेत कायम गरेको छ। ५० ओभरको क्रिकेटमा पनि नेपालको यो कीर्तिमान म्यानमारविरुद्ध नै कायम छ।

सन् २००६ कै एसीसी ट्रफीमा म्यानमारविरुद्ध नेपालले ११ रनको लक्ष्य दुई बलमा भेट्टाएको थियो। नेपाललाई जित दिलाउने क्रममा स्पिनरद्वय सन्दीप लामिछाने र ललितनारायण राजवंशीले आफ्नो खेलजीवनकै किफायती बलिङ गरे। सन्दीपले दुई ओभरमा केवल तीन रन खर्चेर चार विकेट लिए। 

यसैगरी ललितनारायणले तीन ओभरमा दुई मेडनसहित तीन रन खर्चिएर तीन विकेट लिए। करण केसी र ललित भण्डारीले पनि एक÷एक विकेट हात पारे।

 म्यानमारका लागि कप्तान हिटेट लिन अउङले सर्वाधिक १६ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो संख्यामा रन बनाउन सकेनन् । म्यानमारका ६ ब्याट्सम्यानले कुनै रन जोड्न सकेनन् । ३० रनको सामान्य लक्ष्य पछ्याउन भने केही हतार गर्दा नेपालले सुरुमै दुई विकेट गुमायो ।

 प्रारम्भिक ब्याट्सम्यान प्रदीप ऐरी दोस्रो बलमै शून्य रनमा आउट भए । त्यसपछि ब्याटिङका लागि आएका अनिलकुमार शाह पनि पाँच बलमा ११ रन जोड्दा आउट हुन पुगे ।

प्रारम्भिक ब्याट्सम्यान विनोद भण्डारी एक र करण केसी १४ रनमा अविजित रहे। अनिल र करणले आफ्नो पालीमा एक छक्का र एक चौका प्रहार गरेका थिए । म्यानमारविरुद्धको सहज जितका बाबजुद नेपाल सात टोली सम्मिलित प्रतियोगिताको अंकतालिकाको दोस्रो स्थानमा छ ।

 चीनलाई १० विकेटले पराजित गरेको थाइल्यान्ड अंकतालिकाको पहिलो स्थानमा छ। यसैगरी भुटानलाई ६७ रनले पराजित गरेको आयोजक मलेसिया तेस्रो स्थानमा आसीन छ ।

 राउन्ड रोबिन लिगको खेलमा शीर्ष तीन स्थानमा रहने टोली टीट्वेन्टी विश्वकपका लागि अर्को वर्ष हुने अन्तिम चरणको एसियाली छनोट प्रतियोगितामा छनोट हुनेछन् ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ