नेकपामा जोडघटाउ नमिल्दा पार्टी एकतामा भद्रगोल !

2018-09-04

काठमाडौं - केपी ओली र पुष्पकमल दाहालले पार्टी एकतासँगै आफूलाई ‘एउटै जेटको जोर पाइलट’ घोषणा गरेको तीन महिना नाघिसक्यो। तर मुख्य नेताकै जोडघटाउ नमिल्दा नेकपाको तल्लो तहमा एकता प्रक्रिया लम्बिएको छ।

पूर्वघटकभित्रैका समूह असन्तुष्ट भएपछि केन्द्रीय कार्यालयमा एकता कार्यदलका प्रतिवेदनसँगै नेतृत्वको दाबीसहित समानान्तर सिफारिसका कागज पनि चाङ लाग्न थालेका छन्। झन्डै दुई दर्जन जिल्लाबाट कार्यदलले भागबन्डा गरेर पठाएको नामावली एकलौटी भएको भन्दै महासचिव विष्णु पौडेललाई समानान्तर प्रतिवेदन पठाइएको हो।

केन्द्रीय कार्यालयको आन्तरिक सर्कुलरअनुसार भदौ दोस्रो सातासम्म प्रदेश तथा जिल्ला कमिटी र जनसंगठनको एकता भइसकेर पहिलो बैठकै बसिसक्नुपथ्र्यो। भूगोलका ७ प्रदेश, ७७ जिल्ला, ४ विशेष जिल्ला र २२ जनसंगठनको एकता कार्यदलले अन्तिम कसरत गरिरहेको छ। तर, शीर्ष नेताहरू नै आ-ना-आफ्ना पूर्वसमूहका आधारमा जोडघटाउ गर्न थालेका छन्।

कार्यदल प्रतिवेदनमै भद्रगोल

एकता प्रक्रिया जति निष्र्कषतिर पुग्दैछ, नेताहरूका आकांक्षा पनि चुलिँदै गएको देखिन्छ। यसले गर्दा जताततैका कार्यदलका प्रतिवेदनमा भद्रगोलता देखिन थालेको छ।

पूर्वघटक एमाले-माओवादीबीचको भागबन्डामा भन्दा नामावलीमा शीर्ष तहकै नेताको असन्तुष्टि चर्काे रुपमा उठेको हो। असन्तुष्टि राख्ने र समानान्तर प्रतिवेदन बुझाउनेमा पूर्वएमालेका नेता-कार्यकर्ता बढी छन्। उनीहरू अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल समूहमै विभाजित भएर कार्यदलको सिफारिसमा जोडघटाऊमा लागेका छन्।

पूर्वएमालेबाट काठमाडौंमै समानान्तर नामावली केन्द्रीय कार्यालय पुगेको छ। कार्यादलले रामशरण ढुंगानालाई अध्यक्ष बनाउने सिफारिस गरेको छ। तर अर्को समूहले सागर नेपाललाई अध्यक्ष बनाउनुपर्ने प्रस्ताव महासचिव पौडेलकहाँ पठाएको हो।

केन्द्रीय कार्यालयमा पाँच वटा प्रदेशले मात्रै प्रतिवेदन बुझाएका छन्। प्रदेश १ र २ ले प्राविधिक विषय मिलाउन गृहकार्य भइरहेको भन्दै प्रतिवेदन नबुझाएको हो।

सिफारिस के छ ? विवाद के ?

प्रदेश ७ मा एक सय ८३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट एक सय र पूर्वमाओवादीबाट ८३ जना रहने सहमति छ। अध्यक्षमा कर्णबहादुर थापा र सचिवमा लक्ष्मीदत्त जोशी सिफारिसमा छन्। सात सदस्यीय कार्यदलमा चार एमालेलाई र तीन माओवादीलाई दिने सहमति छ।

नौ जिल्लामध्ये बाजुरा, अछाम, डोटी, कैलाली र बैतडी पूर्वएमाले र बझाङ, दार्चुला, कञ्चनपुर र डडेलधुरा पूर्वमाओवादीले अध्यक्ष लिने सहमति छ। तर सिफारिस गरिएका नेतृत्वको नाममा औचित्य पुष्टि गर्ने काम कार्यदलमा रहेका सदस्यले गर्नुपर्ने केन्द्रीय सदस्य खगराज भट्टले बताए।

कर्णाली प्रदेशमा ८८ पूर्वमाओवादी र ८७ पूर्वएमाले रहेर १७५ सदस्यीय प्रदेश कमिटी बन्दैछ। सुर्खेत, दैलेख, डोल्पा, जुम्ला एमालेले नेतृत्व लिने सहमति छ। सल्यान, जाजरकोट, पश्चिम रुकुम र हुम्ला माओवादीले लिने सहमति छ। मुगु र कालिकोटमा दुवै पक्षको दाबीका कारण विवाद मिल्न सकेको थिएन।

‘कालिकोट र मुगुको बाँडफाट नमिलेपछि अन्य जिल्लाको मिलेको बाँडफाँट पनि छाडेर केन्द्रमै मिलाउने जिम्मासहित प्रतिवेदन कार्यदलले बुझाएको छ,’ कर्णाली प्रदेश कार्यदल सदस्य तथा पार्टी केन्द्रीय सदस्य मायाप्रसाद शर्माले भने।

प्रदेश ५ मा कार्यदलले १०६ पूर्व एमाले र ९७ पूर्व माओवादी रहने गरी २०३ सदस्यीय प्रदेश कमिटी बन्दैछ। अध्यक्षमा गणेशमान पुन र दलबहादुर राना दुई जनाको नाम सिफारिस छ। ७ जिल्ला एमाले र ५ जिल्ला माओवादीलाई हुने भागबन्डा छ।

रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ एमालेलाई र पूर्वी रुकुम, रोल्पा, बाँके, नवलपरासी र बर्दिया माओवादीलाई दिने सहमति छ। तर पूर्वएमाले घटकबाट अध्यक्षमा सिफारिस नामले विवाद उत्कर्षमा पुगेको छ।

गण्डकी प्रदेशमा १०२ एमाले र ८५ माओवादीले लिने गरी १८७ सदस्यीय प्रदेश कार्यादल बन्दैछ। प्रदेशका ११ ओटा जिल्लामा दुवै पक्षले नेतृत्व भागबन्डा मिलाउन नसक्दा केन्द्रीय कार्यालयलाई नै जिम्मा दिइएको छ।

‘जिल्लाबाट सिफारिस भएर आएका नामहरू दुवै पक्षका जस्ताको तस्तै राखेर केन्द्रलाई नै निर्णय गर्न पठाइदिएका छौं,’ कार्यदल सदस्य तथा नेकपा केन्द्रीय सदस्य हरि अधिकारीले बताए।

तनहुँ, पर्वत, नवलपुर, स्याङजालगायत जिल्लामा पूर्वएमालेभित्र नेतृत्वका लागि चर्काे लबिङ छ। एउटै जिल्लाबाट तीन जनासम्मले अध्यक्षको दाबी गरेका छन्।

प्रदेश ३ मा माओवादीभित्र पनि आन्तरिक लफडा चुलिएको छ। काठमाडौंमा हस्ताक्षर अभियान चलेको छ भने चितवनमा ज्ञानु बस्नेतले समानान्तर नामावली सिफारिस गरेकी छिन्।

प्रदेश २ मा सबै कमिटीमा बराबरी भागबन्डा लगाउने सहमति भएपनि जिल्लाको नेतृत्व कुन कसले लिने भन्नेमा अल्झिएको छ। प्रदेशका आठ मध्ये चार-चार जिल्ला भागबन्डा लगाउने भने पनि नेताहरूले महिनौं कोसिस गर्दा पनि मिलाउन सकेका छैनन्।

२१५ सदस्यीय प्रदेश कमिटीमा तत्काललाई एक-एक सय जना राख्ने र १५ जना पछि थप गर्ने, जिल्लामा पनि ७५-७५ जना राखेर १५ जना पछि मनोनित गर्ने सहमति छ। तर नेतृत्व लिन आन्तरिक संर्घष चलेको छ।

प्रदेश १ मा २०७ सदस्यीय प्रदेश कमिटीमा १२२ एमाले, ८५ माओवादी लाई भागबन्डा लगाउनेबाहेक अन्य विषय मिल्नै बाँकी छ। जिल्ला नेतृत्व बाडफाँट नमिलेकाले कार्यदल अलमलमा छ।

अलग गुटलाई पेल्ने रणनीति

एकता प्रक्रियासँगै नेकपामा फरक धारलाई सक्दो निषेध गर्ने खेल पनि सुरु भएको छ। पूर्वएमालेभित्र ओली पक्षले नेपाल पक्षलाई र पूर्वमाओवादीभित्र पुष्पकमल दाहाल पक्षले रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ पक्षलाई कमजोर बनाउन कसरत गरिरहेको नेताहरूले नै बताउन थालेका छन्।

‘संस्थापनका नाममा पूर्वपार्टीभित्रैका फरक विचार समूहलाई सिध्याउने प्रयास तीव्र भएको छ,’ केन्द्रीय सदस्य मेटमणि चौधरीले भने, ‘प्रदेश ५ मा फरक-फरक जिल्लामा फरक मापदण्डको सिफारिसले त्यसैको पुष्टि गर्छ।’ प्रदेश ५ मा पूर्वएमालेभित्र बढी विवाद देखिएको छ। प्रदेश कार्यदलले प्रतिवेदन बुझाएपछि असन्तुष्ट पक्ष (नेपाल समूह)ले जिल्लैपिच्छे समानान्तर सिफारिस केन्द्रीय कार्यालयमा बुझाउन थालेका हो।

७७ जिल्लामध्ये पूर्वएमालेमा माधव नेपाल समूहका ४७ जिल्ला अध्यक्ष थिए। तर एकीकरण कार्यदल सिफारिस जस्ताको तस्तै पारित भए एक दर्जन जिल्ला अध्यक्ष पनि नेपाल पक्षको नआउने सम्भावना देखिएको छ।

पूर्वघटकबीच लगाइएको भागबन्डा सिफारिसमा ओली पक्षले सबैभन्दा बढी नेतृत्व लिने देखिएको अरु समूहको आरोप छ।

प्रदेश ५ मा एमालेबाट कार्यदलमा रहेका नेता शंकर पोखरेल र दलबहादुर राना दुवै ओली पक्षका रहेका कारण जिल्ला नेतृत्वमा नेपाल पक्षबाट शून्य सिफारिस भएको छ। दाङमा तत्कालीन एमालेका अध्यक्ष टीकाराम खड्कालाई पन्छाएर जिल्ला कमिटी सदस्य समेत नरहेका शिवकुमार आचार्यलाई कार्यदलले सिफारिस गरेको छ। आचार्य कार्यदल संयोजक शंकर पोखरेलका बहिनी ज्वाइँसमेत हुन्।

बाँकेमा एमालेको तत्कालीन अध्यक्ष अशोक कोइरालालाई पाखा लगाएर जिल्ला सदस्य गोपाल गिरीको नाम सिफारिस गरेको छ। जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव चारैजना जनप्रतिनिधि रहेपछि जुनियरबाट अध्यक्ष सिफारिस गरिएको छ।

रुपन्देहीमा अध्यक्ष शिव सुवेदी बुटवल उपमहानगरका मेयर भइसकेपछि उपाध्यक्ष पुरुषोत्तम घिमिरेलाई छोडेर जिल्ला सदस्य समेत नभएको गोपाल भट्टराईको नाम सिफारिस भएको छ।

पाल्पामा पनि उस्तै छ। त्यहाँ तत्कालीन अध्यक्ष नारायण आचार्य प्रदेश सांसद भएपछि उपाध्यक्ष मोहन थापालाई पन्छाएर जिल्ला कमिटीमै नरहेका राधाकृष्ण कँडेलको नाम अध्यक्षमा सिफारिस गरिएको छ।

रोल्पामा एमालेको भागमा सचिव परेको छ। तत्कालीन अध्यक्ष हरि घर्तीलाई पन्छाएर जिल्ला कमिटीका जुनियर सचिवमा सिफारिस गरिएको छ। प्यूठान र कपिलवस्तु जिल्लामा आफ्नो गुटको मान्छे अध्यक्ष भएकाले अध्यक्षमा ओली पक्षकै सिफारिस गरिएको नेपाल पक्षले आरोप लगाएको छ।

नवलपरासीमा संयोजक तुल्सी पासी र सचिव थानप्रसाद गैरै सहसंयोजक हुँदाहुँदै जुनियर जिल्ला सदस्य शिवलाल कँडेललाई सचिवमा सिफारिस गरिएको छ। बर्दियामा अध्यक्ष हरि ज्ञवाली हुँदाहुँदै जिल्ला कमिटी सदस्य पूर्ण शर्मालाई जिल्ला सचिवमा सिफारिस गरिएको छ।

यी प्रायः जिल्लाबाट नेपाल समूहले महासचिव पौडेललाई समानान्तर सिफारिस बुझाएको छ। नेपाल समूहले प्रदेश कार्यदलले एकै मापदण्ड बनाएर निर्णय नलिए समानान्तर कमिटी बनाउने चेतावनी दिएको छ।

ओलीनिकट नेताले भने नियतवश निषेधको नीति नलिएको बताएका छन्। ओलीनिकट एक नेताले भने, ‘केन्द्रीय रुपमा निषेधको नीति छैन, कार्यदलबाट त्यस्तो भएको रहेछ भने सचिवालयबाट पुनर्विचार हुन्छ।’ केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले काठमाडौं जिल्लामा संस्थापनका नाममा कृष्ण राईले एकलौटी नाम सिफारिस गरेपछि अर्काे सूचि वुझाउनु परेको बताए।

‘आन्तरिक जनवाद शून्य’

कार्यदलको सिफारिसले पार्टीभित्र आन्तरिक जनवाद उल्लंघन गरेको नेकपाका दुवै पूर्वघटकका नेताहरूले नै बताउन थालेका छन्।

‘पार्टीभित्र आन्तरिक छलफल नै नगरी नाम सिफारिस भएका छन्,’ केन्द्रीय सदस्य भट्टले भने, ‘कार्यदललाई कसैको इतिहास बनाउने र सिध्याउने अधिकार छैन।’ कार्यदलले पूर्व विचारसमूहका नाममा निषेधको नीति लिएको केन्द्रीय कार्यालयकै एक सदस्यले बताए।

केन्द्रीय कार्यालयमा प्राप्त प्रतिवेदनमा दुई अध्यक्षले विवाद मिलाउने र सचिवालय हँुदै स्थायी समिति बैठकवाट अनुमोदन गराएर कार्यान्वयनमा लैजाने बताइएको छ। तर स्थायी समिति बैठक पटकपटक प्रभावित भइरहेको छ। बैठक २६ भदौमा पुनः बोलाइएको छ।

कार्यदलमा कुन पक्ष हावी ?

प्रदेश कार्यदलमा अध्यक्षद्वय ओली र दाहाल पक्षकै नेताहरूको वर्चश्व छ। प्रदेश १ मा नेकपाका पूर्वघटक दुवै पार्टीका संस्थापन र फरक धारका एक-एक नेता रहेको कार्यदल छ। कार्यदलमा रहेका भीम आचार्य नेपाल पक्ष, शेरधन राई ओली पक्षका हुन्। त्यस्तै राम कार्की दाहाल र सावित्रीकुमार काफ्ले थापा पक्षका हुन्।

प्रदेश २ मा ओली पक्षका सत्यनारायण मण्डल र नेपाल पक्षका नागेन्द्र चौधरी छन्। पूर्वमाओवादीतर्फ विश्वनाथ शाह र प्रभु शाह दुवै नेता संस्थापन पक्षका छन्।

प्रदेश ३ मा नेपाल पक्षका अष्टलक्ष्मी शाक्य, ओली पक्षका काशीनाथ अधिकारी र दाहाल पक्षका अग्नि सापकोटा र नारायण दाहाल छन्।

प्रदेश ४ मा ओली पक्षकै किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङ छन् भने दाहाल पक्षका हितराज पाण्डे र हरि अधिकारी छन्। प्रदेश ५ मा पूर्वएमालेभित्र शंकर पोखरेल र दलबहादुर राना दुवै ओली पक्षका हुन्। माओवादीबाट भने मणि थापा र दाहाल पक्षका गणेशमान पुन छन्।

प्रदेश ६ मा नेपाल पक्षका युवराज ज्ञवाली, ओली पक्षका यमलाल कँडेल, दाहाल पक्षका जर्नादन शर्मा र थापा पक्षका मायाप्रसाद शर्मा छन्। त्यस्तै प्रदेश ७ मा नेपाल पक्षका भीम रावल, ओली पक्षका कर्णबहादुर थापा, दाहाल पक्षका लेखराज भट्ट र थापा पक्षका लक्ष्मीदत्त जोशी कार्यदलमा छन्।

 

अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ