पार्टी एकता : 'तन मिल्यो मन मिल्नै बाँकी'

2018-08-08

काठमाडौ - तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको दुई महिना बितिसक्दा पनि पार्टीका नेता कार्यकर्ताकाो मन भने एक हुन सकेको छैन। पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयलाई सचिवालय कार्यालय र कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयलाई जनवर्गीय संगठनको कार्यालयका रूपमा निर्धारण गरिए पनि अहिले पनि दुवै कार्यालयलाई पार्टीका नेता कार्यकर्ताले साझा भने मान्न सकिरहेको देखिँदैन।

पार्टीको धुम्बाराहीस्थित कार्यालय पुग्दा पूर्व एमाले निकट नेता कार्यकर्ताको उपस्थिति देखिन्छ भने पेरिसडाँडामा पूर्व माओवादी केन्द्र निकट नेता कार्यकर्ताको उपस्थिति बाक्लो देखिने गरेको छ। दुई पार्टी एक भएपछि नेकपाले साउन १ गते धुम्बाराहीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा कार्यकर्ता भेटघाट कार्यक्रम राखेको थियो। त्यस्तै १५ गते पेरिसडाँडा कार्यालयमा समेत प्रधानमन्त्रीको उपस्थितिमा कार्यक्रम हुने तय भएको थियो। समय व्यस्तता बताउँदै पेरिसडाँडामा हुने भेटघाट कार्यक्रम रद्द गरिएको थियो। नेकपाले प्रत्येक महिनाका १ गते धुम्बाराही र १ गतेलाई पेरिसडाँडामा कार्यक्रम तय गरेको छ।

यसले नेकपा नेतृत्वमासमेत पूर्व दुई पार्टीका कार्यालय फरक–फरक हुन भन्ने सोचाइ रहेको देखिन्छ। नेकपाका स्थायी समिति सदस्यसमेत रहेका एक नेता दुई पार्टी एक भएपछि दुई ठाउँमा कार्यक्रम गर्न आवश्यक नरहेको बताउँछन्। ‘पार्टी एक भएपछि एउटै प्रकृतिका कार्यक्रम फरक फरक कार्यालयमा राख्न आवश्यक नै छैन, जहाँ अनुकुल हुन्छ त्यहीँ गर्दा हुन्छ,’ ती नेताले भने। एकै किसिमका कार्यक्रमका लागि फरक फरक कार्यालय प्रयोग गर्दा नेता कार्यकर्तामा अझै पनि दुई वटा पार्टी छ कि जस्तो महसुस हुने उनको भनाई छ।

पार्टी कार्यालयमा मात्र होइन, शीर्ष नेताहरूसँगको सम्पर्क तथा एकीकृत पार्टीप्रतिको बुझाइमा समेत नेता कार्यकर्तामा एकरूपता आउन सकेको छैन। नेकपा निकट स्रोतका अनुसार अहिले पनि पूर्व माओवादी केन्द्र निकट नेता कार्यकर्ता आफ्नो नेताका रूपमा पुष्पकमल दाहाललाई नै मान्ने गरेका छन्। स्रोतका अनुसार माओवादी केन्द्र छुट्टै पार्टी हुँदा जस्तै पार्टी एकता भइसकेपछि पनि दाहाल निवास खुमलटारमा पूर्व माओवादीहरुकै अखडा हुने गरेको छ। अपवाद बाहेक अहिले पनि दाहाल पूर्व माओवादीबाटै घेरिएका हुन्छन्।

त्यस्तै पूर्व एमालेका नेता कार्यकर्तामा समेत यस्तो अवस्था देखिन्छ। एमालेका शीर्ष नेतासँग भेटघाट गर्ने अधिकांश पूर्व एमाले नेता कार्यकर्ता नै हुने गरेको एक नेताले बताए। ‘भर्खरै पार्टी एकता सम्पन्न भएर हुनसक्छ, दुई पक्षका नेता कार्यकर्ता पूर्व पार्टी नेतासँगै निकट देखिन्छन्,’ उनले भने।

केही दिन पहिले नेकपाको धुम्बाराहीस्थित कार्यालय पुग्दा एक केन्द्रीय सदस्यले पूर्व एमालेकै परिचयपत्र बोकिरहेका थिए। उनलाई अर्का केन्द्रीय नेताले प्रश्न गरे, ‘पार्टी एकता भइसकेपछि पनि किन पुरानै पार्टीको परिचयपत्र बोकेको कमरेड?’ उनले कुटनीतिक ढंगले जवाफ दिँदै पूर्वपार्टीप्रति भावनात्मक सम्बन्ध भएकाले परिचयपत्र त्याग्न मन नलागेको बताए। अहिले पनि नेकपाका नेता कार्यकर्तामा पूर्व पार्टीप्रतिको मोह उत्तिकै देखिन्छ।

नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता सूर्य थापा पार्टी एकीकरण सम्पन्न भइसकेपछि हाल मन मिलाउने काम भइरेको बताउँछन्। थापा पार्टीको निर्णय अनुसार नै दुई कार्यालयलाई फरक फरक कामका लागि प्रयोग गरिने गरेको बताउँछन्। ‘दुईवटा चुलो हुने अवस्थाको अन्त्य छिट्टै अन्त्य हुन्छ,’ थापाले भने। दुई फरक पार्टीका बीचमा एकता भएकाले तनसँगै मन मिलाउन केही समय लाग्ने भए पनि त्यो छिट्टै हुने उनको भनाई छ।

 

 


नागरिक




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ