कांग्रेसविरुद्ध सरकार कठोर, नयाँ रणनीति बनाउंदै कांग्रेस

2018-07-25

काठमाडौं - सत्ता नेतृत्वको नेकपा तथा सरकारले प्रतिपक्षी कांग्रेसविरुद्ध कडा हुने संकेत गरेका छन् । प्रतिपक्षी कांग्रेसले नेकपाको सरकार गठन भएकै दिनदेखि सरकारविरुद्ध षडयन्त्रको तानावाना बुनेको र एजेण्डै बन्न नसक्ने विषयलाई पनि एजेण्डा बनाएर सरकारको काममा ब्यवधान खडा गर्न खोजेको भन्दै कांग्रेसविरुद्ध कठोर बन्ने संकेत गरेको हो ।

प्रतिपक्षी कांग्रेसले प्रतिनिधिसभाको सभामुख–उपसभामुख फरक दलबाट हुनुपर्ने, डा.गोविन्द केसीको अनशनको समर्थनमा सडक आन्दोलनमै उत्रन थालेपछि सरकार र नेकपाका अध्यक्षद्वयले केही दिनयता कांग्रेसविरुद्ध कडा अभिव्यक्ति दिँदै आएका छन् ।

मंगलबार पार्टी निकट ‘अगुवा पत्रकार’सँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी र सरकारविरुद्ध भयानक षडायन्त्र सुरु गर्न खोजिए पनि षडयन्त्र सफल बन्न नदिने बताए ।

‘देश सबैको हो । स्वस्थ्य राजनीति गरौं, तर ‘नन इस्यु’ लाई ‘इस्यु’ बनाएर सरकारलाई काम गर्न नदिने, ब्यवधान खडा गर्नेलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा म भन्छु– सुशासन र विकास हुन नदिने प्रयास सफल हुन दिइने छैन’ प्रधानमन्त्री ओलीले भने ।

उनले कांग्रेसले जस्तो राजनीति गर्न खोजे पनि सफल नहुने बताउँदै यसको योजना सफल नहुने जिकिर पनि गरे । ‘कांग्रेस कतिपय ठाउँमा वस्त्र उतारेर त कतिपय ठाउँमा वुर्का लगाएर सरकारविरुद्ध आउन खोजिरहेको छ । सामान्ती राजतन्त्र फर्काउने उद्देश्यसँगै पनि कतिपय अवस्थामा कांग्रेसले बोलिरहेको छ’, प्रधानमन्त्रीले भने,‘तर कांग्रेसले वुर्का लगाएर बोलस् वा उघारेर बोलोस, अब नेपालमा राजतन्त्रात्मक ब्यवस्था हँुदैन ।’

कांग्रेसले आफू चुनाव हार्ने देखेपछि नै कम्युनिस्ट अधिनायकवादको आरोप फैलाएको प्रधानमन्त्रीको भनाइ थियो । उनले सरकारको ब्यवहारबाटै यसको परीक्षा लिन पनि चुनौती दिए।

ओलीले भने, ‘नाम धनबहादुर हँुदैमा कोही धनी हँुदैन, बलबहादुर हँुदैमा कोही बलबहादुर हँुदैन । आफूलाई लोकतन्त्रवादी भन्दैमा लोकतान्त्रिक भईदैन, यस्तो कुरा कार्यशैली र ब्यवहारमा हेर्ने हो । हामी ब्यवहारमा देखाउन चाहान्छौं ।’

सरकार बनेदेखि नै कांग्रेसले सरकारलाई हनिमुन पिरियड कटाउन नदिने चेतावनी दिँदै आएको स्मरण गराउँदै प्रधानमन्त्रीले भने, ‘हामी हनिमुन मनाउन होइन, काम गर्न आएका हौं । हामीलाई हनिमुन पिरियड आवश्यक छैन ।’

कांग्रेसले गरेको विरोधे प्रर्दशनमा देखिएको सहभागितामा ओलीले भने, ‘कांग्रेस ७७ ओटै जिल्लामा छ, तिनका कार्यकर्ता र आवाज देखिनु के अनौठो भयो र ? कांग्रेसले बुझे हुन्छ अलोकतान्त्रिक, प्रतिक्रियावादीका अराजकता ठाढै अश्वीकार गरिन्छ, नियन्त्रण गरिन्छ ।’

नेकपाका अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई छिटो भन्दा छिटो अपदस्त गर्ने, सबै मोर्चाबाट आक्रमण गर्ने संकेत सरकार गठनका सुरुआतीदेखि नै देखिए पनि त्यस्तो षड्यन्त्र सफल नहुने जिकिर गरे ।

विरोधीहरुलाई काम आक्न नहुने तर्क गर्दै दाहालले संसारभर प्रतिक्रियावादी कित्ता बलियो बनेको बेला नेपालमा पनि त्यो कित्तालाई कम आँक्न नहुने ब्याख्या गरे ।

पार्टी केन्द्रमा एकता भएपनि जनसंगठन र तल्ला किमिटमा एकता भइनसकेको, नेता कायर्कर्ताले जिम्मेवारी नपाइसकेको संक्रमणकालिन अवस्थाको मौका छोप्दै अहिले सरकार र पार्टीमाथि आक्रमण हुन थालेको दाहालको भनाइ थियो । उनले अहिले पार्टीले ब्याटल मात्र जिते पनि अझै सिंगो युद्द जित्नै बाँकी रहेको बताएका थिए ।

जिल्ला समितिद्वारा प्रर्दशन

डा.गोविन्द केसीका मागप्रति ऐक्यवद्धता जनाउँदै सरकारविरुद्ध आन्दोलनमा होमिएको कांग्रेसको उपत्यकाका जिल्ला कार्यसमितिले मंगलबार काठमाडांैमा प्रर्दशन गरेका छन् ।

काठमाडैाँ, ललितपुर र भक्तपुर जिल्ला कार्यसमितिले संयुक्त रुपमा गरेको प्रर्दशन माइतीघरबाट सुरु भएर नयाँ बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा जिल्ला सभापतिहरूले केसीका माग पुरा नभए १५ गते पछि कडा आन्दोलन गर्ने चेतावनी दिए ।

साउन १ मा बसेको कांग्रेस पदाधिकारी बैठकले घोषणा गरेको कार्यक्रम अनुसार मंगलबार उपत्यकाका कांग्रेस समितिले संयुक्त रुपमा विरोध प्रर्दशन गरेका हुन् ।

कांग्रेसले साउन १५ गते देशैभरका जिल्ला कार्यसमितिलाई जिल्ला सदरमुकाममा प्रर्दशन गर्न निर्देशन दिएको छ ।

साउन १५ सम्ममा पनि सरकारले आफ्ना निर्णय नसच्याए कांग्रेस अझै आक्रामक ढंगबाट सडक र संसद्मा प्रस्तुत हुने तयारी गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले भने, ‘यो बीचमा पनि सरकार नसच्चिए हामीले कडा स्वरुपका आन्दोलन घोषणा गर्छौ ।’ सरकारविरुद्ध आन्दोलन घोषणा गरेका कारण सभापति शेरबहादुर देउवाले पूर्व निर्धारित भारत भ्रमण रद्ध गरेका थिए । दुई साताका लागि युरोपेली मुलुकतर्फ गएका उपसभापति विमलेन्द्र निधि पनि भ्रमण अवधी छोटयाएर मंगलबार काठमाडांै आइसकेका छन् ।

बानेश्वरमा तरुण दलको प्रर्दशनमा प्रहरीले दमन गरेपछि रणनीति तय गर्न कांग्रेस शीर्ष तहमा छलफल र परामर्श भइरहेको छ । सभापति देउवाले वुधबार पदाधिकारीसँग अनौपचारिक छलफलमा सहभागी भए ।

मंगलवारको प्रर्दशनपछि नयाँ बानेश्वरमा आयोजित विरोध सभामा भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले भने, ‘हाम्रो विरोध सरकार ढाल्न होइन र सत्ता र कुर्सी हल्लाउन पनि होइन ।’ हामीले त डा. गोविन्द केसीको माग पूरा गर भनेर सरकारलाई खबरदारी गरिरहेका हौं ।’’

काठमाडौंका सभापति सवुज कृष्ण बानियाँले कांग्रेसले सरकार संस्कार र सुशासनमा बसोस् भनेर सचेत पार्नका लागि आन्दोलन गरिएको बताए । ‘‘हामी सरकार ढाल्न होइन, सरकारलाई संस्कार र सुशासन सिकाउन, सचेत बनाउन आन्दोलन गरेका हौं,’’ उनले भने ।

कांग्रेसले वर्तमान सरकारलाई ढाल्न केही गर्नै नपर्ने जिकिर गर्दै सभापति बानियाँले चुनावअघि गरेका आफ्नै बाचाहरु पूरा गर्न नसकेर सरकार ढल्ने दाबी गरे । उनले प्रधानमन्त्री ओली र सरकारका मन्त्रीहरुलाई बहकिएर नबोल्न सुझावसमेत दिए । ‘कपोकल्पित कुरा गरेर सत्ता त पाउनुभयो, सत्ता सञ्चालन गर्ने ढंग भएन । ढंग पु¥याउनुस्’, बानियाँले भने, ‘उखान टुक्का, कथा होइन, पदीय मर्यादा ख्याल गर्नुस् ।’

यस्तै कांग्रेस ललितपुरका सभापति मदन अमात्यले पूर्ववर्ती सरकारले ल्याएको विधेयक हुबहु कार्यान्वयन गरेर डा.केसीका माग पूरा गर्न बताए । ‘हामी सरकार ढाल्न आएका होइनौं । डा. केसीमाथि सरकारले बर्बर अन्याय गर्यो । सरकार नागरिकप्रति उत्तरदायी भएन । उसलाई जिम्मेवारी बोध गराउन हामी आएका हौं’, उनले भने ।

 

 

अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ