देउवा र पौडेललाई एक ठाउँमा उभिन जिल्ला सभापतिकाे आग्रह

2018-06-21

हेटौँडा - कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई एक ठाउँमा उभिन भनेका छन् । हेटौँडामा जारी राष्ट्रिय भेलामा उनीहरूले कम्युनिस्ट मिलेपछिको चुनौती सामना गर्न दुई नेता एक भएरै जानुपर्ने सुझाब दिएका हुन् ।

मंगलबार ३८ जिल्ला सभापतिले धारणा राखेका छन् । संस्थापन पक्षनिकटले नेतृत्वको बचाउमा तथा पौडेल र सिटौला पक्षले नेतृत्वको आलोचना गर्दै सुझाब राखेका थिए । गुटबन्दी मौलाउँदा पार्टीको तल्लो तहसम्मले राम्रोसँग काम गर्न नसकेको, संघीय संरचनाअनुसार पार्टीका संरचना नबन्दा निर्वाचनमा पराजय बेहोर्नुपरेको, पार्टी सरकारमा हुँदा प्रभावकारी काम गर्न नसकेको, प्रधानन्यायाधीशविरुद्ध महाअभियोग, अख्तियार प्रमुख प्रकरण, आइजिपी प्रकरण, राजदूत नियुक्तिजस्ता विषयमा पार्टी नेतृत्वले गल्ती गरेको भन्दै सभापतिहरुले नेतृत्वको आलोचना गरे । तर, संस्थापन पक्षका सभापतिहरूले भने निर्वाचनमा अन्तर्घात हुँदा पराजय बेहोर्नुपरेको, जिल्लामा सहयोग नपाएको जस्ता गुनासो गरे ।

‘जिल्ला सभापतिहरूले वर्तमान चुनौती सामना गर्न नेताहरू एकढिक्का भएर जानुपर्ने सुझाब दिनुभएको छ । बलियो कांग्रेस बनाउन जागरण अभियान, निर्वाचनमा भएका अन्तर्घात छानबिन, तल्लो तहका संरचना निर्माण, कम्युनिस्ट सरकारप्रति सतर्क रहनुपर्नेसहितका विषय उठाउनुभएको छ,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘पार्टी रूपान्तरण गरेर जानुपर्छ । यसका लागि सभापति र नेता एक ठाउँमा उभिनुपर्छ भन्ने भावना जिल्ला सभापतिहरूले प्रकट गर्नुभएको छ ।’

आठ युवाको दबाब : छिटो महाधिवेशन गरौँ
कांग्रेसका आठ युवा नेताले दुई महिनाअघि केन्द्रीय समितिको समीक्षा बैकठमा पेस गरेको पार्टी सदृढीकरणको झन्डै ५० पृष्ठ लामो आगामी कार्यदिशा केही परिमार्जन गर्दै जिल्ला सभापतिहरूलाई बाँडेका छन् । चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले सबै सभापतिहरूलाई बाँडेका हुन् । यसअघि यो समूहमा सात सदस्य रहेकोमा किरण यादव थपिएकी हुन् ।

निर्वाचनमा बेहोर्नुपरेको पराजयपछि पार्टीलाई सुदृढ गर्दै कम्युनिस्टसँग बलियो प्रतिस्पर्धा गर्ने पार्टी बनाउन संगठन, विधानसहितका विषयमा पार्टीले प्रस्ट पार्नुपर्ने भन्दै उनीहरूले महासमिति हुँदै छिटो महाधिवेशन गर्नुपर्ने माग गरेका छन् ।

विधिसम्मत रूपमा पार्टी सञ्चालन, जिल्ला सभापतिको भेलापछि सबै स्थानीय तह र प्रदेशमा पार्टीको पुनर्जागरण अभियान, छुवाछुत, विभेद, पछौटेपन अन्त्यका लागि सामाजिक आन्दोलन, जनतासम्म पुग्ने कार्यक्रम गर्नुपर्ने माग पनि उनीहरूको छ ।

सभापति वक्ता, पदाधिकारी र केन्द्रीय सदस्य श्रोता
प्रायः केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य वक्ता हुने र अरू नेता श्रोता हुने भए पनि कांग्रेसको जिल्ला सभापति भेलामा केन्द्रीय नेता श्रोता भएका छन् । जिल्ला सभापतिहहरूले पार्टीले किन हार्नुपर्‍यो, अब संगठन सुधारका लागि के गर्नुपर्छ भन्ने विषयमा दिएका सुझाब केन्द्रीय नेताले सुनेका हुन् ।

तर, सबै हेटौँडा बसेनन्
जिल्ला सभापतिहरूले पार्टी सुधारका सूत्रहरू प्रस्तुत गर्दैगर्दा केही नेताहरू भने बुधबार बिहानै काठमाडौंको बाटो तताइसकेका थिए । केन्द्रीय सदस्यहरू बिहानको खाना खाएपछि काठमाडौं लागेका हुन् । प्रकाशमान सिंह, आनन्द ढुंगाना, चिनकाजी श्रेष्ठ, वीरबहादुर बलायर, हृदयराम थानी, गोविन्द भट्टराई, बहादुरसिंह लामा, केशव बुढाथोकी, दीपक खड्का, रामहरि खतिवडासहितका नेता काठमाडौं गएका हुन् । अरू केही केन्द्रीय सदस्य बुधबार साँझ काठमाडौं फर्किए । सभापतिहरूको गुनासो सुन्नुपर्ने भए पनि नेताहरू उद्घाटन कार्यक्रमको भोलिपल्ट केही जिल्ला सभापति बोलेपछि काठमाडौं हिँडेका हुन् । डा. शेखर कोइराला मंगलबार नै आफन्तको विवाहका लागि काठमाडौं गए । बुधबार उनी श्रीलंका गएका छन् । उनले मंगलबार बिहान केही जिल्ला सभापतिहरूलाइै भेटेर ‘अब पार्टी बचाउने जिम्मा तपाईंहरूमा आएको छ, भेलामा प्रभावकारी रूपमा प्रस्तुत हुनुस्’ भनेका थिए ।

सभापतिको अडियो रेकर्ड
जिल्ला सभापतिहरूले दिएका सुझाबको अडियो रेकर्ड गरिएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सभापतिहरूको सुझाब अडियो रेकर्ड गरी सुरक्षित राखिने जानकारी दिए । साथै, उनीहरूका सुझाबलाई टिपोट पनि गरिएको बताए ।

कसले के भने ?

सभापतिज्यू धृतराष्टजस्तै हुनुभो
जगदीश्वरनरसिंह केसी (नुवाकोट)
सभापतिज्यू महाभारतको धृतराष्टजस्तै हुनुभयो । धृतराष्ट सत्य कुरा सुन्न र बोल्न चाहँदैनथे । शकुनिका कुरा सुन्दा कौरव, पाण्डवहरूबीच युद्ध भयो । तपाईं सभापति पनि शकुनिहरूका कुरा सुनेर धृतराष्टजस्तै अन्धो नबन्नुस् ।

कम्युनिष्ट एक हुँदा हार्‍याैँ भनेर मात्रै पुग्दैन
सञ्जय गौतम (बर्दिया)
गाउँ, नगर, प्रदेशसम्मका संरचना तत्काल सुरु गर्नुपर्‍यो । संगठनलाई पुनर्जीवन दिनुपर्‍यो । पार्टीमा गुटबन्दी व्यापक हुँदा हामी कमजोर भइरहेका छौँ । संगठनमा आमूल परिवर्तन आवश्यक छ । नेताहरूले आत्मालोचना गर्नुपर्छ । कम्युनिस्ट एक भए अनि हामी पराजित भयौँ भनेर मात्र पुग्दैन ।

आगामी कदम भेलाबाटै प्रस्ट पार्नुपर्छ
जितनारायण श्रेष्ठ (चितवन)
कार्यकर्ताको चासो र आमजनताले लिएको कांग्रेसको विश्वासलाई हामीले पूरा गर्न सकेका छौँ कि छैनौँ, यही भेलामा मूल्यांकन गर्नुपर्छ । अनि आगामी कदम लिनुपर्छ । नेतृत्वपंक्तिले सबैका धारणालाई एकनासले अघि बढाउन सक्नु र नसक्नु नै अहिलेको मुख्य चुनौती हो । सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर के फाइदा भयो ? माओवादीलाई चितवनमा सहयोग गरेर के फाइदा उठायौँ ?

आलोचनाभन्दा सुधारमा लागौँ
रुद्र खड्का (दोलखा)
कांग्रेस पछाडि पर्नुका कारण पत्ता लगाउँदै आगामी दिनको प्राथमिकता यही भेलाबाट तय गर्नुपर्छ । प्रश्न नेतृत्व गर्नेकै अगाडि तेर्सिएको छ । पार्टीमा आलोचनाभन्दा सुधारका प्रयास गर्नु उचित हुनेछ ।

गुटबन्दी अन्त्य नगरेसम्म हुन्न
लवश्री न्यौपाने (रामेछाप)
गुटबन्दीकै कारण हामीले यसपटक अप्रत्याशित हार व्यहोर्‍यौँ । आलोचनामाथि आलोचना गर्नुभन्दा संगठन सुदृढीकरणतर्फ अग्रसर हुनु नै सिंगो पार्टीका लागि फलदायी हुनेछ । भेलाबाट केही उपाय निकाल्नुपर्छ ।

मनका तिक्तता मेटाएर जाऔँ
गोविन्द ढुंगाना (तेह्रथुम)
अब विगतका गल्ती दोहोर्‍याउनुहुँदैन । पार्टीभित्र गुटबन्दी हाम्रो गम्भीर त्रुटि थियो । अहिले पनि त्यो कायमै छ । छलफल गरेर मनमा भएका तिक्तता मेटाएर र समस्या समाधान गरेर गुटबन्दी अन्त्य गर्न सक्छौँ । जिल्लाका सभापतिलाई केन्द्रीय समितिले हरेक क्षणमा सचेत गराउनुपर्छ । पार्टीलाई निजी कम्पनीजसरी चलाउने काम भयो ।

संघीय संरचनामा पार्टीलाई ढाल्नुपर्‍यो
प्रेमप्रकाश वली (रुकुम)
मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा पार्टीले अब प्रादेशिक समिति बनाएर केन्द्रीय समितिले अधिकार प्रत्यायोजन गर्नुपर्छ । यसले पार्टीलाई थप बलियो बनाउन मद्दत पुर्‍याउँछ । पार्टीको संगठन विस्तारका लागि केन्द्रीय समितिले चासो देखाएको छैन ।

विवाद अन्त्यको सन्देश दिनुपर्छ
हर्षबहादुर बम (कालिकोट)
कांग्रेसभित्र विवाद अन्त्य भएको सन्देश भेलाले दिन सकेन भने हामी सफल हुँदैनौँ । हालसम्म कांग्रेस संघीय संरचनामा ढल्न सकेको छैन । स्थानीय, प्रदेश र संघीय तीनै तहमा संगठन गठन गर्ने वा अब कसरी अघि बढ्ने भन्ने सवाल साझा बनाउन जरुरी छ । इरानका राजाले राजगद्दी छोडेर भागेपछि बल्ल आफ्नो देश र जनता सम्झिए । हाम्रा सभापतिले पनि सबैथोक सकिएपछि आफ्नो गल्तीलाई बोध गर्ने हो ?

नेतृत्वमाथि शंका मात्रै गरेर हुँदैन
कविराज पण्डित (बाजुरा)
कांग्रेसको नेतृत्व एउटा समूहबाट आएको होइन । हामीले नेतृत्वप्रति शंका गर्नुहुँदैन । विधानतः सभापतित्व प्रणाली भए पनि पार्टीको जिम्मेवारी सबै लिनुपर्छ । हामी पुरानै लोकतान्त्रिक संरचनामै हुन्छौँ वा नयाँ संघीय संरचनामा परिवर्तन गर्छौँ ? त्यो यो भेलाले टुंग्याउन जरुरी छ ।

सभापति मात्रै होइन, केन्द्रीय समितिका सबै दोषी हुन्
नन्दमणि राई (भोजपुर)
कांग्रेसलाई चलाउन केन्द्रको सभापति मात्र हुने भए किन जिल्लामा सभापति राख्नुप¥यो । अरू पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापतिको पार्टीप्रति केही हुँदैन । जिल्लाका सभापतिको औचित्य के हो ? वास्तवमा भन्ने हो भने पार्टी कमजोर हुनुमा सभापति मात्र होइन केन्द्रीय समितिका सबै दोषी हुन् । गुटबन्दी गर्नु र चर्को आलोचना गर्नुभन्दा सभापतिले गल्ती गरेकै अवस्थामा प्रतिवाद गर्न सक्नुपर्छ । अहिले नेतृत्वलाई गाली गरेर मात्र केही हुँदैन ।

पुरानै ढर्रामा चलेर पार्टी अगाडि जाँदैन
कृष्ण केसी (कास्की)
पार्टीको माथि नेतृत्व छ । अब तल्लो तहमा संघीय संरचनाअनुसारको संरचना बनाउन ढिलाइ नगरौँ । देश संघीयतामा जाने, तर हाम्रो पार्टी सधैँ पुरानै ढर्रामा चल्ने शैली राम्रो होइन । छिटो संरचना बनाएर स्थानीय तह, प्रदेश तहमा जिम्मेवारी दिनुपर्छ ।

विधान मनलाग्दी चलाउने काम भयो
हिमालय कमाचार्य (इलाम)
पार्टी विधानअनुसार चलेन । टिकटमा सभापतिका अधिकार खोस्ने काम भए । विधानलाई मनलाग्दी चलाउने काम भयो । यो भेलाको उद्घाटन कार्यक्रममा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलाई किन बोल्न दिइएन ? सामान्य विषयमा किन यस्तो विभेद ?

पार्टीभित्र र कम्युनिस्ट अतिवादमा थिचियौँ
वीरबहादुर राना (पाल्पा)
हामी दुई अतिवादले थिचियौँ । एउटा पार्टीभित्रकै अतिवाद, अर्को कम्युनिस्ट अतिवाद । यस्तैगरी पार्टी सञ्चालन हुने हो भने हामी यो अतिवादविरुद्ध लड्न सक्दैनौंँ । पार्टीलाई समयानुकूल सुधार गरौँ।

आफन्तलाई टिकट बाँडेपछि चुनाव जितिन्छ ?
नरेश श्रेष्ठ (खोटाङ)
निर्वाचनमा ज्वाइँ, साला, साली, परिवारजन र आफन्तजनलाई टिकट बाँडियो । आफन्त र परिवारजनलाई टिकट दिएपछि कहाँ निर्वाचन जितिन्छ ? यस्ता विषयमा पार्टी नेतृत्वले आफ्नो गल्ती स्विकार्नुपर्छ ।

गल्ती गरिरहे झन् कमजोर हुन्छौँ
रमेश धमला (धादिङ)
चुनावको मुखमा गृहमन्त्रीले राजीनामा दिने, गृहमन्त्रीविना नै निर्वाचनमा जाने, सिफारिस नभएकालाई टिकट दिने भएपछि कसरी निर्वाचन जितिन्छ ? यस्ता गलत प्रवृत्तिकै कारण हामी निर्वाचनमा हार्‍यौँ । फेरि पनि यस्तै गल्ती गरिरहने हो भने झन् कमजोर बन्छौँ ।

नेविसंघको विरोध
सबै जिल्लाका सभापति र केन्द्रीय नेतृत्व हेटौँडामा छलफलमा व्यस्त हुँदा नेविसंघको केन्द्रीय नेतृत्व भने पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध सडक आन्दोलनमा छ । निर्धारित तेस्रो चरणका देशव्यापी अन्दोलनका कार्यक्रमअन्तर्गत नेविसंघले बुधबार प्रदेश ३ को राजधानी हेटौँडाको मूल सडकमै विरोध कार्यक्रम गर्‍यो । अध्यक्ष नैनसिंह महरको प्रमुख आतिथ्यतामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सडक बहस नै गरेको हो । सरकारले मूल्य समायोजनका नाममा अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा बढाउने गरेको र एकै महिनामा पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै नेविसंघ आन्दोलनमा छ ।

 


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ