ट्रम्प र किम सिंगापुरमा, वार्ता मंगलवार

2018-06-11

सिंगापुर - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् । क्यानडामा भएको जी–७ बैठकमा सहभागी भएर अमेरिकी राष्ट्रपति ट्रम्प हवाई सेनाको जहाजबाट सिधै सिंगापुर ओर्लेका हुन् ।

उत्तर कोरियाली नेता किम सिंगापुर पुगेको केही घण्टापछि ट्रम्प त्यहाँ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सिंगापुरका अधिकारीले किम कुन जहाजमा आइरहेका छन् भन्ने यकिन नभएकाले अन्दाज गर्दै बसेको जनाएका थिए। उत्तर कोरियाली राजधानी प्योङयाङबाट सिंगापुरतर्फ आइतबार ३ वटा हवाईजहाज आएका थिए। तर उत्तर कोरियाली अधिकारीले किम तीमध्ये कुन जहाजमा यात्रा गरेका छन् भन्नेबारे जानकारी गराएका थिएनन्।

सिंगापुरको चाङगी विमानस्थलमा अवतरण गरेको पहिलो कार्गो जहाजले किम चढ्ने सुरक्षित लिमोजिन गाडी ल्याएको थियो। दोस्रो एयर चाइना ७४७ जहाज आइतबार बिहानै बेइजिङबाट छुटेको करिब एक घण्टा प्योङयाङमा रोकिएपछि बेइजिङ फर्कनुको साटो सिंगापुरतर्फ लागेको थियो।

त्यसैगरी, किमको निजी जहाजले पनि सँगसँगै उडान भरेको थियो। त्यसकारण अधिकारीहरूलाई किम कुन जहाजबाट आउँछन् भन्ने यकिन थिएन। यद्यपि, एयर चाइना ७४७ बाट आफ्नो टोलीसहित निस्केका किमलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालकृष्णनले स्वागत गरेका थिए। उनले किमसँगको एउटा तस्बिर सामाजिक सञ्जाल टवीटरमा समेत सार्वजनिक गरेका छन्।

उत्तर कोरियाली टोलीमा वरिष्ठ सहयोगी र सुरक्षा गार्डहरू रहेका छन्। उत्तर कोरियाली टोली सेन्ट रेगिस होटलमा बसेको रोयटर्सले जनाएको छ। किमले सिंगापुरका प्रधानमन्त्री लि सियेन लुंगसँग भेटवार्ता गरेका थिए। मंगलबारको शिखर वार्ताअघि नै लिले ट्रम्पसँग पनि भेट गर्ने जनाइएको छ। बीबीसीले उक्त वार्ताका लागि २० मिलियन सिंगापुर डलर (करिब १ सय ६० करोड रुपैयाँ) खर्च गर्ने जनाएको छ।

किमले सन् २०११ मा देशको शासनसत्ता सम्हालेयता तेस्रो देशमा पाइला टेकेका हुन्। यसअघि उनी दक्षिण कोरिया तथा चीनको भ्रमणमा निस्केका थिए। चीन उत्तर कोरियाको निकटस्थ राष्ट्र हो। किम गत अप्रिल महिनामा दुई कोरियाबीच भएको शिखर वार्ताका क्रममा दक्षिण कोरिया पुगेका थिए।

ट्रम्प र किमबीच मंगलबार सिंगापुरको सेन्तोसा टापुस्थित क्यापिला होटलमा शिखर बैठक हुँदै छ। उक्त बैठक बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीचको पहिलो हुनेछ।

ट्रम्पले किमसँगको शिखर वार्ता शान्ति स्थापनाका लागि ‘एक पटकको प्रयास’ हुने बताएका छन्। यसअघि ट्रम्पले वार्ताको सम्भावित नतिजाबारे आफूले एक मिनेटमै थाहा पाउने दाबी गरेका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई नि:शस्त्रीकरणका लागि सहमत गराउने प्रयासमा जुट्ने अपेक्षा गरिएको छ।

के हुँदैछ उत्तर कोरियामा?
सोल (बीबीसी)– दुई कोरियाको सीमा क्षेत्रमा नागरिकहरू दुर्लभ शिखर वार्ताले करिब ७० वर्षदेखि हुन नसकेको शान्ति सम्झौता टुंगोमा पुग्ने अपेक्षा गरेका छन्।

ट्रम्प र किमबीच मंगलबार हुने शिखर बैठकबारे भने सरकारी नियन्त्रणमा रहेका उत्तर कोरियाली सञ्चारमाध्यमले सूचना सम्प्रेषणमा नियन्त्रण गरिरहेको जनाइएको छ।

नागरिकसम्म के के जानकारी पुर्‍याउने भन्नेबारे नियन्त्रण कायम गर्ने उत्तर कोरियामा महत्त्वपूर्ण घटना भएपछि मात्रै त्यसबारे समाचार दिने अभ्यास छ। बैठकबारे उत्तर कोरियाली सञ्चारमाध्यमले प्रत्यक्ष उल्लेख गरेका छैनन्। गत मेमा शिखर बैठकमा सहभागी नहुने प्योङयाङले चेतावनी दिएपछि त्यसको चर्चा गरिएको थियो।

उत्तर कोरियाली जनतालाई शिखर बैठकको योजनाबारे थाहा भए पनि कहाँ र कहिले बैठक हुन्छ भन्नेबारे जानकारी दिइएको छैन। किमले दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनसँग गरेको भेटवार्ताको समाचार प्रसारण गर्दा भने मिति उल्लेख गरिएको थियो।

केही दिनअघि सिंगापुरका विदेशमन्त्रीको प्योङयाङ भ्रमणबारे पनि जानकारी दिइएको थिएन। त्यसैगरी, अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको भ्रमणका समयमा भने शिखर बैठकको तयारीबारे सामान्य उल्लेख गरिएको थियो। तर उत्तर कोरियाले नभई अमेरिकाले वार्ता आहवान गरेको भन्ने विवरण प्रस्तुत गरिएको बीबीसीले जनाएको छ।

त्यसको एक सातापछि उत्तर कोरियाली विदेश मन्त्रालयले वार्ताबाट अलग हुने चेतावनी दिएलगत्तै अमेरिकाले जारी गरेका वक्तव्य ‘औचित्यहीन भएकाले अनिष्ट निम्त्याउने’ टिप्पणी गरिएको थियो।

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यम शिखर बैठकबारे मौन नै छन्। ट्रम्पको कानुनी टोलीका सदस्य रुडी जुलिआनीले किमले ‘बैठकका लागि याचना गरेको’ टिप्पणी गरेपछि भने उत्तर कोरियाली सञ्चारमाध्यममा अमेरिका विरोधी समाचारहरू प्रसारण गरिएको थियो।

उत्तर कोरियामा आफ्नो सम्पर्क रहेको बताउने दक्षिण कोरियाली वेबसाइट डेली एन केले उत्तर कोरियालीलाई बैठक हुन लागेको जानकारी दिइएको दाबी गरेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ