देउवाको अढाई वर्ष बित्यो, केन्द्रीय समिति अझै अपूर्ण

2018-06-08

काठमाडौँ -
तीन केन्द्रीय सदस्य थपिए, अझै एक मनोनीत गर्न बाँकी

कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचित भएको २७ महिनापछि केन्द्रीय समितिलाई लगभग पूर्णता दिएका छन् । देउवाले बिहीबार तीन सदस्य मनोनीत गरेका छन् । विधानअनुसार २१ केन्द्रीय सदस्य मनोनीत गर्न पाउनेमा अब एक सदस्य मात्र बाँकी छन् । सभापति देउवाले धारा २१ (ठ) अनुसार कम्तीमा १० वर्ष निरन्तर क्रियाशील सदस्य भएका महाधिवेशन प्रतिनिधिमध्येबाट मनोनीत गर्नुपर्ने १६ सदस्यमध्येबाटै देउवाले तीन केन्द्रीय सदस्य मनोनीत गरेका हुन् । मनोनीत गरिएका सदस्यमा लमजुङका दिलबहादुर घर्ती, काभ्रेका शिव हुमागाईं र दाङकी शिला शर्मा खड्का छन् ।

कांग्रेसको विधानअनुसार ६४ केन्द्रीय सदस्य निर्वाचित हुँदा २१ सदस्य सभापतिले मनोनीत गर्न पाउने व्यवस्था छ । पटक–पटक गरी देउवाले २० सदस्य मनोनीत गरेका छन् । अब निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेका दलित महाधिवेशन प्रतिनिधिमध्येबाट एक सदस्य मनोनीत गर्न बाँकी छ । १२औँ महाधिवेशनपछि तत्कालीन सभापति सुशील कोइरालाले केन्द्रीय कार्यसमितिलाई पाँचवर्षे कार्यकालको अन्तिम समयमा मात्र पूर्णता दिएका थिए । तर, देउवा आधा कार्यकाल सकिन लाग्दा पूर्णतानजिक पुगेका छन् । झन्डै एक महिनाअघि उनले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महतलाई मनोनीत गरेका थिए ।

२०७४ सालमा भएको भएको संघीय संसद्को निर्वाचनमा भक्तपुर २ बाट उम्मेदवार बनेर पराजित भएका दमननाथ ढुंगानालाई सभापति देउवाले महासमिति सदस्यमा मनोनीत गरेका छन् । ढुंगाना २०४८ सालमा काठमाडौं २ बाट निर्वाचित भएपछि सभामुख भएका थिए । तर, पछि उनी कांग्रेसमा सक्रिय भएनन् । केही समय नागरिक अगुवा भएका उनी पुनः कांग्रेसमा सक्रिय हुन लागेका हुन् ।
त्यस्तै, देउवाले महासमिति सदस्यमा काठमाडौंका तीर्थराम डंगोललाई पनि मनोनीत गरेका छन् । डंगोल काठमाडौं कांग्रेस पूर्वसभापति, पूर्वसांसद र पूर्वराज्यमन्त्रीसमेत हुन् । देउवाले महासमितिमा सदस्यमा कैलालीका हीरादत्त भट्टलाई मनोनीत गरेका छन् ।

केन्द्रीय समिति पूर्णता नजिक पुगे पनि देउवाले पार्टीको तल्लो तहसम्म सक्रिय बनाउने ४२ विभाग गठन गर्न सकेका छैनन् । पार्टीको विधानमा सभापतिमा निर्वाचित भएको दुई महिनाभित्र सबै संरचनालाई पूर्णता दिनुपर्ने विषय उल्लेख छ । तर, सयौँ–नेता कार्यकर्तालाई समेट्नै परिचालन गर्न सकिने विभाग गठन अझै हुन सकेको छैन । विभागमा केन्द्रदेखि जिल्ला हुँदै गाउँ, नगर र वडासम्मका नेता–कार्यकर्ता अटाउँछन् । ५ देखि ७ असारसम्म हेटौँडामा जिल्ला सभापतिको भेला गरेपछि विभागमा संयोजक तोक्ने तयारीमा सभापति देउवा छन् ।

त्यस्तै, संघीयतायुक्त संविधान बनेर निर्वाचन भएको लामो समय भए पनि कांग्रेसले आफ्नो पार्टी संरचनालाई संघीय स्वरूपमा ढाल्न सकेको छैन । अहिले पनि कांग्रेस पुरानै संरचनामा चलिरहेको छ । १३औँ महाधिवेशनमा सात प्रदेश प्रत्येकबाट दुई–दुई केन्द्रीय सदस्य कांग्रेसले निर्वाचित गरेको थियो । योबाहेकको संघीय संरचनाको अभ्यास कांग्रेसले गरेको छैन । पार्टी संरचनालाई संघीयताअनुसारको ढाँचामा बदल्न विधान नै संशोधन गर्नुपर्ने हुन्छ । यसका लागि विधान संशोधन समितिले आगामी भदौमा हुने महासमिति बैठकसमक्ष प्रस्ताव गर्ने समयसम्म पर्खिनुपर्ने हुन्छ ।

को हुन् घर्ती, हुमागाईं र खड्का

१२औँ महाधिवेशनपछि तत्कालीन सभापति सुशील कोइरालाले घर्तीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । १३औँ महाधिवेशनमा भने उनी केन्द्रीय सदस्यमा उठेनन् । तर, कोइराला परिवारनिकटका उनलाई अहिलेको पौडेल पक्षबाट सदस्यमा मनोनीत गरिएको छ ।

अर्का सदस्य हुमागाईं १३औँ महाधिवेशनमा प्रदेश नम्बर ३ बाट उठेर पराजित भएका थिए । यसपटक उनी सिटौला गुटबाट केन्द्रीय सदस्यमा मनोनीत हुन सफल भएका छन् । उनी काभ्रे कांग्रेसको पूर्वसभापति पनि हुन् । शिला शर्मा केही समयअघि निधन भएका कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काकी पत्नी हुन् । खड्काले १३औँ महाधिवेशनमा २५ खुला केन्द्रीय सदस्यमा डा.शेखर कोइरालापछि सबैभन्दा बढी मत ल्याएर विजयी भएका थिए । शिला २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद भएकी थिइन् ।


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ