फोरम संघीय सरकारमा सामेल भएसँगै प्रदेश २ सरकार ढलमलमा, यसबारेमा के भन्छ राजपा ?

2018-06-02

काठमाडौँ - संघीय समाजवादी फोरम केपी ओली नेतृत्वको सरकारमा सामेल भएको छ । फोरमको संघीय सरकारमा सहभागितापछि प्रदेश नम्बर २ को सरकार के हुन्छ भन्ने चर्चा परिचर्चा सुरु भएको छ । प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको गठबन्धन सरकार छ ।

मुख्यमन्त्रीमा फोरमका लालबाबु राउत छन् । मुख्यमन्त्री राउतले शपथ लिने वेला पूर्वएमाले र पूर्वमाओवादी केन्द्र एकीकरणपछि अहिले नेपाल कम्युनिस्ट पार्टीले समर्थन गरेका थिए । तर, केही दिनअघि मात्र नेकपाले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

एकातिर नेकपाको समर्थन फिर्ता र अर्कोतिर फोरमको संघीय सरकारमा सत्तारोहणले प्रदेश सरकारको भविष्यमाथि प्रश्न उठेको हो । केन्द्रमा जे–जस्तो राजनीतिक परिदृश्य देखिए पनि तत्काल फोरम र राजपा गठबन्धनको सरकार भने नढल्ने दुवै दलका नेताहरू बताउँछन् ।

अहिलेको समीकरण कस्तो ?
नेकपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री राउतसँग फोरमका २९, राजपा २५ र स्वतन्त्र दुई गरी ५६ प्रदेश सभा सदस्यको समर्थन छ । प्रदेश २ मा बहुमतका लागि ५४ सिट भए पुग्छ । राजपाका २५ र फोरमको २९ गरी ५४ सिट पुग्छ । तर, राजपाले समर्थन फिर्ता लिएको अवस्थामा राउतको सरकार जोगाउन नेकपाले समर्थन गर्नुपर्छ ।

नेकपासँग ३२ सिट हुँदा राउतको सरकारलाई ६१ सिटको समर्थन हुन्छ । तर, फोरमका राउतलाई कांग्रेसको १९ सिट र स्वतन्त्र दुईजनाले समर्थन गरे पनि बहुमत भने पुग्दैन । त्यसकारण फोरमलाई दिएको समर्थन राजपाले फिर्ता लिएमा नेकपासँग सहकार्य अनिवार्य हुन्छ । फोरम र नेकपा दुवै दलले तत्काल कुनै संकेत नगरे पनि केही दिनमै दुवै दलको सरकार बन्न सक्ने बताइन्छ ।

राजपाले समर्थन फिर्ता लिए के हुन्छ ?
राजपाले फोरम संसदीय दलका नेता तथा मुख्यमन्त्री राउतलाई गरेको समर्थन फिर्ता लिए पनि तत्काल सरकार भने ढल्दैन । संविधानको धारा १८८ अनुसार मुख्यमन्त्री राउतले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसो हुँदा राजपाले समर्थन फिर्ता लिएको ३० दिनसम्म राउतको सरकार रहन सक्छ ।

उपेन्द्रको एक तीरले दुई सिकार
प्रदेश २ मा उपेन्द्र यादवले एउटा तीरले दुईवटा सिकार गर्न खोजेको चर्चा पनि सुरु भएको छ । अध्यक्ष यादव खासमा मुख्यमन्त्री राउतलाई फेर्न र राजपालाई प्रदेश २ को राजनीतिमा कमजोर बनाउन चाहन्छन् । त्यसैका लागि उनले अहिलेको समय रोजेको विश्लेषण छ । राजपाका महासचिव केशव झाको विश्लेषणमा राजपालाई किनारामा राख्न फोरमको सत्तारोहण भएको हो । हुन त, उपेन्द्रमाथि यादव समुदायबाट मुख्यमन्त्री नबनाएको भन्दै चर्को आलोचना पनि छ ।

फोरम अब के गर्छ ?
फोरम तत्काल प्रदेश २ को सरकार परिवर्तन गर्ने खेलमा भने लाग्नेछैन । यदि प्रदेश २ को सरकारबाट राजपा नेताहरूलाई बाहिर ल्याएमा मधेसको राजनीति पुनः अशान्त र अस्थिर हुने फोरमका नेताहरूको धारणा छ । त्यो अवस्थामा राजपा सडक आन्दोलनमा जाने र फोरमविरुद्ध मोर्चाबन्दी गर्ने अवस्था आउनेछ ।

सरकारबाट बाहिरिएपछि सडक आन्दोलनको विकल्प नभएको राजपाका महासचिव मनीष सुमन बताउँछन् । संविधान संशोधनको मुद्दा किनारा लगाउने र प्रदेश २ को सरकार पनि ढल्ने अवस्थामा जनताको बीचमा जानुको विकल्प नरहेको उनले बताए । यो कुरा राम्रोसँग बुझेको फोरम प्रदेश सरकारलाई अस्थिर बनाउने पक्षमा नरहेको आर्थिक मामिला तथा योजनामन्त्री तथा फोरम नेता विजय यादवको भनाइ छ ।

फोरमभित्र दुई धार
संघीय सरकारमा सत्तारोहणको सन्दर्भलाई लिएर फोरमभित्र दुई धार देखिएको छ । त्यही धारका कारण सहअध्यक्ष राजेन्द्र श्रेष्ठ मन्त्री हुनबाट वञ्चित भए । अध्यक्ष उपेन्द्र यादव सहअध्यक्ष श्रेष्ठलाई साथ लिएर सरकारमा जाने सोचमा थिए । त्यो अवस्थामा फोरम राष्ट्रिय पार्टी भएको सन्देश दिन चाहन्थे । तर, पार्टीभित्र महासचिव रामसहाय यादव, रेणु यादवहरू श्रेष्ठलाई रोक्न चाहन्थे । खासमा यादव आफैँ मन्त्री हुन चाहेकी थिइन्, तर बन्न नपाउने भएपछि श्रेष्ठलाई रोक्न अन्य उपायको खोजी भयो । फोरमका एक नेताको भनाइमा मधेसीको भोटले पहाडिया समुदायका नेतालाई मन्त्री बनाउन नहुने भनेर पछिल्ला दिनमा सबैभन्दा बढी श्रेष्ठविरुद्ध लागेका थिए । सुरुमा महासचिव रामसहाय यादवले प्रत्यक्ष निर्वाचितबाहेकलाई मन्त्री बनाउन नहुने अडान लिएका थिए ।

 राजपासँग ३ विकल्प
संघीय समाजवादी फोरम संघीय सरकारमा सहभागी भएपछि राजपा र फोरमबीच सम्बन्धका तीन विकल्पको विश्लेषण हुन थालेको छ । प्रदेश २ को सरकार र राजनीतिक कार्यक्रमको सहकार्यसम्बन्धी तीन विकल्प देखिएको हो । फोरम र राजपा मिलेर प्रदेश २ मा सरकार बनाएका छन् ।

१. राजपा र फोरम दुवै संघीय सरकारमा
प्रदेश २ को आन्तरिक राजनीतिमा फेरबदल नगर्ने हो भने राजपा र फोरम दुवै दल संघीय सरकारमा सहभागी हुने विकल्पमा विश्लेषण भएको छ । राजपाका नेताहरूले पनि सकेसम्म संघीय सरकारमा सहभागी भए तत्कालको राजनीति नगिजोलिने टिप्पणी गरेका छन् । राजपाका नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादवसहितको एउटा पक्ष सरकारका सहभागी हुनुपर्ने पक्षमा छ । तर, राजपाका पहिलो तहका नेताहरूले यसबारे मुख खोलिसकेका छैनन् । तर, दोस्रो तहका नेताहरूले राजपामा संघीय सरकारमा सहभागी हुँदा राम्रो हुने टिप्पणी गरेका छन् । राजपा महासचिव केशव झाले सकेसम्म संघीय सरकारमा सहभागी भएर राजनीतिलाई संरक्षण दिने पक्षमा रहेको बताए ।

२. प्रदेश २ को सरकारमा राजपा र फोरम सरकारको निरन्तरता
प्रदेश २ को समृद्धि र राजनीतिक स्थिरताका लागि पनि मधेसकेन्द्रित दुई दल फोरम र राजपा मिलेर प्रदेश सरकारलाई निरन्तरता दिनुपर्ने कोणबाट विश्लेषण हुन थालेको छ । राजपा महामन्त्री मनीष सुमनले आफूहरू प्रदेश २ को वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउनुपर्ने पक्षमा रहेको बताए ।

३. प्रदेश २ मा नेकपा र फोरमको सरकार
अहिले चासो र शंका भने नेकपा र फोरम मिलेर प्रदेश २ मा सरकार बनाउँछन् भन्ने छ । तर, तत्काल त्यो सम्भावना भने देखिएको छैन । त्यसका लागि फोरम र राजपाको सम्बन्ध निकै चिसो बन्नुपर्नेछ । र, राजपाले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ । अहिले नै समर्थन फिर्ता लिने कुनै सम्भावना नभएको राजपा महामन्त्री झाको भनाइ छ । नेकपाले समर्थन फिर्ता लिएपछि फोरमलाई राजपाको समर्थन कायम राख्नुपर्ने बाध्यता छ ।

फोरम संघीय सरकारमा जानु उपयुक्त थिएन

विजयकान्त कर्ण, पूर्वराजदूत
संघीय समाजवादी फोरमको संघीय सरकारमा सत्तारोहणलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
संविधान संशोधन मधेसको मुख्य एजेन्डा हो । त्यो एजेन्डा पूरा गर्न राजपा र फोरमलाई जनताले निर्वाचनमार्फत म्यान्डेट दिएका हुन् । त्यो एजेन्डामा प्रतिबद्ध हुनु दलहरूको दायित्व हो । सत्ताका लागि दुवै दललाई जनताको म्यान्डेट थिएन । उनीहरूको म्यान्डेट भनेको संविधान संशोधन र अधिकार प्राप्तिका लागि संघर्ष नै हो ।


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ