संघीय संसदमा बजेट प्रस्तुत आज, बजेटको प्राथमिकता के मा ?

2018-05-29

काठमाडौँ - सरकारले मंगलबार आगामी आर्थिक वर्ष ०७५/७६ को पूर्ण संघीय बजेट ल्याउँदै छ । संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

संविधानको धारा ११९ मा अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्ष १५ जेठमा राजस्व र व्यय अनुमान प्रस्तुत गर्ने प्रावधान छ । यस वर्ष सरकारले सार्वजनिक गर्ने बजेट पूर्ण संघीय बजेट हो ।

१५ जेठ ०७४ मा चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा स्थानीय तहको निर्वाचन सम्पन्न भइसके पनि प्रदेश र संघको निर्वाचन भइसकेको थिएन । सोहीकारण त्यसवेला स्थानीय तहका लागि संविधानअनुसार वित्तीय समानीकरण अनुदानसहितको बजेट आएको थियो ।

तर, प्रदेशका लागि कार्य सञ्चालन प्रयोजनका लागि थोरै मात्र रकम छुट्याइएको थियो । यस वर्ष भने केन्द्रीय बजेटले स्थानीय तथा प्रदेश तहलाई वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँडसहितको बजेट ल्याउँदै छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गर्ने सूत्रअनुसार वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँड हुनेछ ।

केन्द्रले छुट्याएको अनुदान, संविधानअनुसार प्राप्त हुने राजस्व बाँडफाँडको हिस्सा र आन्तरिक स्रोतलाई समेटेर १ असारमा प्रदेश सरकारहरूले बजेट सार्वजनिक गर्नेछन् । त्यसपछि केन्द्र र प्रदेशले छुट्याएको अनुदान तथा आन्तरिक स्रोतसमेतलाई समेटेर १० असारमा स्थानीय सरकारहरूले बजेट ल्याउनुपर्ने प्रावधान छ ।

बजेटको प्राथमिकता के हुनेछ ?
सरकारले अघिल्लो साता सार्वजनिक गरेको नीति तथा कार्यक्रमले चालू आर्थिक वर्षको बजेट नतिजामुखी कार्यक्रममा केन्द्रित हुने संकेत गरेको छ । सस्तो लोकप्रियताका लागि काम नगर्ने भन्दै अर्थमन्त्रीले दीर्घकालीन महत्वका कार्यक्रमलाई बजेटले प्रमुख प्राथमिकता दिने संकेत गरेका छन् । संघीयता कार्यान्वयनको सिलसिलामा प्रदेश तथा स्थानीय तहलाई बलियो र प्रभावकारी बनाउन बजेट केन्द्रित हुनेछ । सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई बजेटले प्राथमिकता दिनेछ ।

आगामी आवलाई आर्थिक समृद्धिको इतिहास रच्ने आधार वर्ष बनाउने घोषणा सरकारले गरेको छ । आगामी आवमा दोहोरो अंकनजिकको आर्थिक वृद्धि, कृषि, ऊर्जा, उद्योग, यातायात, भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन र सहरी विकासका कार्यक्रममा बजेट केन्द्रित हुने संकेतसमेत अर्थ मन्त्रालयले गरेको छ । अर्थमन्त्री खतिवडाले केही अघि सार्वजनिक गरेको श्वेतपत्रमा उल्लेख समस्या समाधानमा समेत बजेट केन्द्रित हुने बताइएको छ । राष्ट्रिय गौरवका आयोजना, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई समेत बजेटले उच्च प्राथमिकता दिने संकेत नीति तथा कार्यक्रमले गरेको छ ।

सरकारका आम्दानीका स्रोत के हुन् ?
-राजस्व
-सावाँ फिर्ता
-वैदेशिक अनुदान
-वैदेशिक ऋण
-आन्तरिक ऋण
-गत वर्षको मौज्दात

सरकारको खर्च गर्ने माध्यम के हुन् ?
-चालू खर्च
-पुँजीगत खर्च
-वित्तीय व्यवस्था

चालू आवको बजेट ६२ प्रतिशत कार्यान्वयन
सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने अघिल्लो दिनसम्म यस आवको बजेट खर्च भने सन्तोषजनक देखिएको छैन । महालेखा नियन्त्रकको कार्यालयका अनुसार १४ जेठसम्म कुल बजेटको ६२ प्रतिशत मात्रै खर्च भएको छ । संविधानअनुसार गत वर्षदेखि १५ जेठमा बजेट आउन थालेको हो ।

यस आर्थिक वर्षमा १२ खर्ब ७८ अर्ब ९९ करोड बजेट विनियोजन भएकोमा मध्यावधि समीक्षामा त्यसलाई घटाएर १० खर्ब ८३ अर्बमा झारिएको थियो । त्यसमध्ये सोमबारसम्म ७ खर्ब ९५ अर्ब २८ करोड रुपैयाँ खर्च भएको हो । त्यस्तै, सोमबारसम्मै सरकारले ८ खर्ब २४ अर्ब ४९ करोड रुपैयाँ आम्दानी गरेको पनि महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

सरकारी खर्चमध्ये पनि पुँजीगत खर्चको स्थिति झनै निराशाजनक देखिएको छ । कुल विनियोजित पुँजीगत बजेटमध्ये सोमबारसम्म ४३ प्रतिशत मात्रै खर्च भएको छ । तर, चालू खर्च भने उत्साहजनक अर्थात् ७३ प्रतिशत भएको छ । यस आर्थिक वर्षमा चालूतर्फ ८ खर्ब ३ अर्ब र पुँजीगततर्फ ३ खर्ब ३५ अर्ब बजेट विनियोजन भएको थियो ।


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ