प्रदेश ५ मा २० अर्बभन्दा बढीको बजेट

2018-05-07

काठमाडौँ - प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७५, ०७६ का लागि नीति तथा कार्यक्रम र बजेटको तयारी गरेको छ । आगामी आर्थिक वर्षमा केन्द्रको अनुदान तथा प्रदेशको राजस्व गरी २० अर्बभन्दा बढीको बजेट ल्याउने तयारी छ ।

प्रादेशिक योजना आयोगले आवश्यकता र प्राथमिकता निर्धारण गर्न तथा बजेटको स्रोतबारेमा सांसदलगायत सरोकारवालासँग छलफल सुरु गरेको छ । आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले सांसदहरूसँग बजेटका विषयमा छलफल सुरु भएको बताए ।

उनका अनुसार, १९ वैशाखपछि प्रदेशका सांसदसँग पटक–पटक छलफल गरी विभिन्न सुझाब संकलन गरेको छ । सांसदहरूको ५ समूह बनाएर छलफल गरिरहेको छ । अहिलेसम्म आयोगले तीन समूहसँग छलफल गरेको र अब दुई समूहसँग छलफल गर्ने तयारीमा छ ।

जिल्लाहरूमा छलफल गर्ने

आयोगले सांसदहरूसँग छलफल सकेपछि २६ र २७ वैशाखमा दाङ र नेपालगन्जमा छलफल गर्ने तयारी छ । त्यस्तै, बुटवल तथा पाल्पालगायतका जिल्लामा पनि छलफल गर्ने तयारी छ । सरोकारवाला निकायसँग छलफल गर्ने आयोगले उद्योगी व्यवसायीआबद्ध संघ संस्थाका प्रतिनिधिसँग पनि छलफल गर्ने तयारी छ ।

स्थानीय तहका पदाधिकारी, बुद्धिजीवीहरूसँगसमेत छलफल गर्ने कार्यक्रम छ । छलफलमा विकासका आवश्यकता र त्यसका लागि के गर्ने भन्ने सुझाब संकलन गर्ने आयोगका उपाध्यक्ष डा. श्रेष्ठले नयाँ पत्रिकासँग बताए ।

प्रदेशको अधिकारभित्र राजस्वको स्रोत खोजी

प्रदेश ५ मा राजस्व संकलनका स्रोतको खोजी भइरहेको छ । प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठको संयोजकत्वको टोलीमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, राष्ट बैंक भैरहवाका निर्देशक, प्रदेश कोष तथा लेखा नियन्त्रकरहेको स्रोत कमिटीले काम गरिरहेको छ । कमिटीले दुईपटक बैठक बसेर छलफल गरेको छ ।

प्रदेशको अधिकारभित्र सवारीसाधनसम्बन्धी कर र घरजग्गा रजिस्टे«सन कर पर्दछ । यसका लागि प्रदेशमा रहेका यातायात कार्यालयहरूमा विगतमा संकलन हुने गरेको राजस्वका बारेमा अध्ययन भइरहेको छ । त्यसैगरी घरजग्गाको मालपोतसहित सम्बन्धित कार्यालयबाट कति राजस्व संकलन भएको थियो सो अध्ययन गरेर बजेटमा अनुमानित रकम उल्लेख हुनेछ ।

प्रदेशमा राजस्वका नयाँ क्षेत्र र केन्द्रबाट आउने रकमसमेतका आधारमा बजेटको सिलिङ तोकिनेछ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले आन्तरिक राजस्व चार÷पाँच अर्बभन्दा माथि हुने सम्भावना रहेको बताए । उनले थप अध्ययनपछि अनुमान गर्न सकिने बताए । केन्द्रबाट समानीकरण अनुदानबाहेक पनि रकम आउने उनको भनाइ छ । समपूरक, ससर्त र विशेष गरी थप तीन शीर्षकमा बजेट प्राप्त हुने उनी बताउँछन् । तर, यी शीर्षकमा कति बजेट प्राप्त हुन्छ भन्ने यकिन छैन ।

प्रदेश सरकारले कृषि र पर्यटनमा पनि कर लगाउन पाउने व्यवस्था छ । प्रदेश ५ मा यस विषयमा छलफल सुरु भइसकेको छ । सरकारले कृषि आय करमा ठूला कृषकहरूले आफँै आम्दानी घोषणा गरी कर तिर्न सक्ने किसिमको संरचना बनाउने तयारी गरेको छ । त्यस्तै, पर्यटन शुल्कका बारेमा समेत अलमल छ । आयोग उपाध्यक्ष श्रेष्ठले प्रदेशले बनाएको संरचनामा पर्यटन शुल्क लगाउन पाइने व्यवस्था भएकाले छलफल गरी टुंग्याउने बताए ।

प्रदेश पाँचमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवको संयोजकत्वमा राजस्व परामर्श समिति गठन भएको छ । सो समितिमा करसम्बन्धी विज्ञसमेत राख्ने तयारी छ ।

प्रदेशको बजेट खर्च गर्ने बाटो खुला

प्रदेश ५ सरकारको आफ्नो बैंक खाता आइतबार टुंगो लागेको छ । बैंक खाताको टुंगो नलाग्दा चालू आर्थिक वर्षका लागि तीन साताअघि ल्याइएको बजेट कार्यान्वयन हुन सकेको थिएन । केन्द्रबाट आउनुपर्ने रकम खाताको अभावमा चैतको पारिश्रमिकसमेत कर्मचारीले पाउन सकेका थिएनन् ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले नेपाल राष्ट्र बैंक भैरहवामा सञ्चित कोष खाता रहने टुंगो लागेको बताए । प्रदेश सरकारको सञ्चित कोष खाता राष्ट्र बैंक भैरहवामा र कारोबार वाणिज्य बैंक बुटवलबाट हुने गरी टुंगो लागेको अर्थसचिव गौतमले नयाँ पत्रिकालाई बताए ।

चालू आर्थिक वर्षको बजेट एक अर्ब दुई करोड

प्रदेश सरकारले ३० चैतमा चालू आर्थिक वर्षका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । केन्द्र सरकारले समानीकरण अनुदानअन्तर्गत प्रदेश सरकारलाई दिएको सो रकममध्ये पारिश्रमिक र भौतिक पूर्वाधारबाट बचेको रकम सम्भाव्यता अध्ययनमा खर्च गर्ने गरी रकम विनियोजन गरेको छ ।

खाता सञ्चालनमा आएर बजेट आए पनि विकास बजेट खर्च हुने सम्भावना भने कम रहेको छ । प्रदेश ५का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले कार्यान्वयन गर्ने संरचना नहुँदा बजेट खर्चमा समस्या भएको बताए ।

केन्द्रबाट १५ अर्ब ४२ करोड अनुदान

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा आगामी आर्थिक वर्षका लागि प्रदेश ५ सरकारले केन्द्रबाट १५ अर्ब ४२ करोड अनुदान पाउने भएको छ । राजस्व बाँडफाँड तथा वित्तीय समानीकरण अनुदानबापत सो रकम पाउने भएको हो ।

प्रदेश सरकारले केन्द्रबाट आउने रकम तथा प्रदेशको आफ्नै स्रोतलाई थप गरी बजेट ल्याउने तयारीमा छ । तर, प्रदेशले अहिलेसम्म राजस्व संकलन गर्ने स्रोत तथा कति राजस्व संकलन गर्ने भन्ने यकिन गर्न सकेको छैन । प्रदेशमा १ असारसम्ममा बजेट ल्याउनुपर्ने व्यवस्था छ ।


नयाँ पत्रिकाबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ