कर्मचारीले आठ महिनादेखिको तलब पाएनन्

2018-05-07

काठमाडौँ - जुटमिल बन्द गरेर सञ्चालक फरार भएपछि कर्मचारीले आठ महिनादेखिको तलब पाएका छैनन् । करारका २२ कर्मचारीले आठ महिना र ज्यालादारी ७० कर्मचारीले चार महिनाको तलब नपाएका हुन् । गत फागुनमा मिल नै बन्द गरेर सञ्चालक समिति अध्यक्ष वसन्त बन र प्रबन्धक नीलहरि काफ्ले बेपत्ता छन् । लेखा शाखामा पनि ताला लगाइएको छ । कर्मचारीले हाजिर गर्न पाएका छैनन् ।

तलब नपाएपछि कर्मचारीले मिल सरसफाइ पनि गरेका छैनन् । शनिबार अनुगमनमा पुगेका उद्योगमन्त्री मातृका यादवले कर्मचारीलाई सफा गर्न लगाएका थिए । उनले छिट्टै मिल सञ्चालन गर्ने पनि बताएका छन् । मिल सञ्चालन गर्नुअघि काम नगरी बसेका कर्मचारीलाई तलब खुवाउनुपर्नेछ । कर्मचारीलाई दिनुपर्ने तलब एक करोड पुगिसकेको छ ।

स्रोतका अनुसार सञ्चालक समितिले बन्द रहेको मिल सञ्चालनका लागि ४० करोड मागेको थियो । तर, सञ्चालकले नै मिलको सरकारी सेयर आफ्नो नाममा गराउन खोजेको विषय बाहिर आएपछि अध्यक्ष र प्रबन्धकबीच विवाद भएको थियो । विवाद समाधान नहुँदै दुवैजना मिल बन्द गरेर बेपत्ता भएका हुन् ।

अहिलेको सञ्चालक समितिले बन्द जुट मिल १० मंसिर ०७४ देखि आंशिक रूपमा सञ्चालनमा ल्याएको थियो । तीन महिनापछि पूर्ण अवस्थामा मिल सञ्चालन गराउने भन्दै अध्यक्ष वसन्त बन र प्रबन्धक निलहरि काफ्लेको सञ्चालक समिति बनेको थियो । मिल सञ्चालनका लागि दैनिक ७० ज्यालादारी कर्मचारी खटाइएको थियो । तर, मिललाई पूर्ण अवस्थामा सञ्चालन गर्ने मिति नजिकिएपछि अध्यक्ष बन र प्रबन्धक काफ्ले बन्द गरेर फरार भए ।

यसअघि लामो समय बन्द रहेको मिलका कर्मचारीलाई बाबुराम भट्टराई सरकारले ५० करोड खर्चेर ‘गोल्डेन ह्यान्डसेक’मार्फत बिदा गरेको थियो । त्यसपछि ०७० सालमा भारतीय कम्पनी बिमसमले मिल सञ्चालन गर्न २५ वर्षका लागि लिजमा लिएको थियो । तर, विद्युत् आपूर्तिको समस्या देखाउँदै बिमसमले एक वर्षमै ताला लगाएको थियो ।

४० लाखको पटुवा अलपत्र
गत मंसिरदेखि आंशिक रूपमा सञ्चालन भएको जुटमिल फेरि बन्द भएपछि ४० लाखबराबरको ८६ टन पटुवा अलपत्र छ । पानीले भिजाउने ठाउँमा भण्डारण गरिएकाले पटुवा कुहिएर नष्ट हुने अवस्थामा रहेको एक कर्मचारीले बताए । मिलभित्रै पनि पानी चुहिने उनको भनाइ छ ।

दुई सय बन्डल सुतली मात्र उत्पादन
नयाँ सञ्चालक समितिले जिम्मा लिएर मिल आंशिक सञ्चालन गरेपछि तीन महिनामा जम्मा दुई सय बन्डल सुतली उत्पादन भयो । एउटा पनि बोरा उत्पादन भएन । एकैदिनमा पटुवा प्रशोधन गरेर हजारौँ बोरा उत्पादन गर्न सकिने भए पनि सञ्चालक समितिको नियत मिल सञ्चालन गर्ने नदेखिएको कर्मचारीको भनाइ छ ।


नयाँ पत्रिकाबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ