संघीय संसद्को बजेट अधिवेशन सुरु

2018-05-07

काठमाडौँ - संघीय संसद्को बजेट अधिवेशन आइतबारबाट प्रारम्भ भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा चारवटा अध्यादेश प्रस्तुत गरिएको छ । दुवै सभाको नियमावली मस्यौदाको प्रतिवेदनसमेत समितिले पेस गरेका छन् ।

चार अध्यादेश प्रस्तुत

प्रतिस्थापन विधेयकको अभावमा निष्क्रिय भएका राष्ट्रिय सभा निर्वाचन अध्यादेश, बेपत्ता छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश र चिकित्सा शिक्षा अध्यादेश सरकारले पुनः संघीय संसद्मा प्रस्तुत गरेको छ ।

यसअघि पहिलो अधिवेशनले स्वीकृत गरिसकेको भए पनि अधिवेशन नभएको समयमा सरकारले प्रतिस्थापन विधेयक ल्याउन सकेको थिएन । सरकारबाट जारी भएको अध्यादेश दुवै सदनको बैठक बसेको ६० दिनसम्म निष्क्रिय वा खारेज नभए अध्यादेश स्वतः निष्क्रिय हुने व्यवस्था छ ।

संघीय संसद्को पहिलो बैठक बसेको २० वैशाखमा ६० दिन पुगेको, तर अधिवेशन प्रारम्भ नभइसकेकाले सरकारले पुनः अध्यादेश ल्याएको गृहमन्त्री रामबहादुर थापाले बताए ।

‘तत्कालीन अवस्थामा संसद्को बैठक नबसेकाले त्यसअघि ल्याएको अध्यादेशमा भएका व्यवस्थालाई निरन्तरता दिन सरकारको सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी भयो । संसद् अधिवेशन प्रारम्भ भएकाले संसद्मा ल्याइएको हो,’ उनले भने ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठकमा गृहमन्त्री थापाले राष्ट्रिय सभा निर्वाचन अध्यादेश पेस गरेका थिए । चिकित्सा शिक्षा अध्यादेश शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पेस गरेका छन् । अध्यादेश पेस गर्दै शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा क्षेत्रमा राज्यको लगानी वृद्धि गर्दै चिकित्सा शिक्षाको नियमनलाई एकीकृत गर्न यो अध्यादेश ल्याइएको बताए ।

‘चिकित्सा शिक्षा आयोगको स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा तत्काल कानुनी व्यवस्था गर्नुपर्ने र संसद्को अधिवेशन चालू नभएकाले अध्यादेश ल्याएको हो,’ उनले भने ।

कानुनमन्त्री शेरबहादुर तामाङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश दुवै सदनमा पेस गरे । कानुनमन्त्री तामाङले संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी अध्यादेशसमेत संसद्मा प्रस्तुत गरेका छन् ।

दुवै सदनको नियमावली मस्यौदा संसद्मा प्रस्तुत

संघीय संसद् सञ्चालन भएको दुई महिना बितिसकेको छ । तर, दुवै सभाको नियमावली बनिसकेको छैन । नियमावली मस्यौदा बनाउन गठित प्रतिनिधिसभा नियमावली मस्यौदा समिति र राष्ट्रिय सभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदन भने संसद्मा प्रस्तुत भएको छ ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा समिति सभापति कृष्णभक्त पोखरेलले प्रतिनिधिसभाको नियमावलीको मस्यौदासहितको प्रतिवेदन पेस गरे । त्यस्तै, राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा नियमावली मस्यौदा समिति सभापति पर्शुराम मेघी गुरुङले नियमावली मस्यौदाको प्रतिवेदन पेस गरे । दुवै सदनमा प्रस्तुत नियमावलीको मस्यौदामाथि सांसदहरूले २५ गते अपराह्नसम्म संशोधन हाल्न सक्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद्मा आगामी २६ वैशाखबाट प्रि–बजेट छलफल हुने भएको छ । प्रतिनिधिसभामा बुधबारबाट तीन दिन प्रि–बजेटमाथि छलफल हुने सभामुख कृष्णबहादुर महराले बताए । १५ जेठमा सरकारले बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्थाका कारण त्यसअघि संसद्मा प्रि–बजेटमाथिको छलफल तथा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत र त्यसमाथि छलफल हुनुपर्ने व्यवस्था छ ।

राष्ट्रिय सभाको छुट्टै अधिवेशन बस्न सक्ने

प्रतिनिधिसभा विघटन भएको अवस्थामा समेत अब राष्ट्रिय सभाको अधिवेशन बस्ने भएको छ । राष्ट्रिय सभा नियमावली मस्यौदा समितिले विशेष अवस्थामा राष्ट्रपतिले राष्ट्रिय सभाको मात्रै अधिवेशन बोलाउन सक्ने प्रस्ताव सदनमा गरेको छ ।

राष्ट्रिय सभा नियमावली मस्यौदा समितिले सदनमा प्रस्तुत गरेको प्रतिवेदनमा सभाका सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा राष्ट्रपतिले राष्ट्रिय सभाको अधिवेशन, बैठक बस्ने मिति र समय तोक्ने प्रस्ताव गरिएको छ । समितिले यसअघि नै सहमति जुटाइसकेको यस विषय सदनको सहमतिका लागि प्रस्तुत गरिएको हो ।

यसअघिको प्रतिनिधिसभामा यस्तो व्यवस्था नरहेको र संविधानअनुसार नै यो व्यवस्था प्रस्ताव गरिएको राष्ट्रिय सभा नियमावली मस्यौदा समिति सदस्य एवं कांग्रेस सांसद राधेश्याम अधिकारीले बताए । ‘संविधानमा कुनै एक सदनको अधिवेशन आह्वान गर्न सक्ने भन्ने व्यवस्था छ ।

तर, राष्ट्रिय सभाको छुट्टै अधिवेशन बोलाउने भन्ने स्पष्ट व्यवस्था नभएकाले नियमावलीमा ल्याउन लागिएको हो । यो नितान्त नयाँ हो,’ उनले भने । अधिकारीका अनुसार खास परिस्थितिमा सांसदहरूको २५ प्रतिशतले चाहेमा राष्ट्रिय सभाको छुट्टै अधिवेशन आह्वान हुनेछ । उनले राष्ट्रिय सभा स्थायी सदन भएकाले यो व्यवस्था महत्वपूर्ण हुने बताए ।

प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिले समय समयमा दुबै वा कुनै सदनको अधिवेशन आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था भएकाले नियमावलीमा यो व्यवस्था ल्याइएको राष्ट्रिय सभा नियमावली मस्यौदा समिति सभापति पर्शुराम मेघी गुरुङले बताए ।


नयाँ पत्रिकाबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ