समन्वयकारी भूमिका खेल्दै शशांक, यसकारण सर्यो कांग्रेस बैठक !

2018-05-01

काठमाडौं - कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र डा.रामशरण महतले मोर्चाबन्दी गरिरहेका बेला महामन्त्री डा.शशांक कोइरालाले समन्यवकारी भूमिका निर्वाह गर्न थालेका छन्। बिहीबारसम्म सोही मोर्चामा रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला भने शुक्रबारदेखि देउवाको पक्षमा उभिँदै पार्टीलाई वामपन्थीबीच धेरै बेइज्जत गर्न नहुने पक्षमा देखिएका छन्।

प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावमा कांग्रेस हारको जिम्मा पार्टी सभापतिले लिनुपर्ने अडानमा रहेका आफ्नै क्याम्पका नेता पौडेलले लिएको अडानलाई ‘आवेगको अभिव्यक्ति’ भन्दै शशांकले केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवालाई साथ दिएका छन्।

महामन्त्री कोइरालाको भूमिकालाई लिएर अहिले कतै उनले क्याम्प परिवर्तन गर्न खोजे वा आफै नयाँ क्याम्प सुरु गर्न लागेका त होइनन् प्रश्न पनि कांग्रेसभित्र उठ्न थालेको छ। आइतबार पार्टी पदाधिकारी मनोनयन गर्न बोलाएका बैठकसमेत महामन्त्री कोइरालाकै आग्रहमा ५ दिन पछि सार्न सभापति देउवा सहमत भएका छन्।

नेता पौडेल र सिटौला पक्षले निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको बैठक बहिष्कार गर्ने सन्देश सोमबार बिहानै पार्टी कार्यालय पठाएपछि महामन्त्री कोइरालाले पार्टीमा थप मोर्चाबन्दी र गुटबन्दी झाँगिन नदिन केही दिन बैठक सार्न देउवासामु प्रस्ताव गरेका थिए। उनले पौडेल सहितका नेताहरूसँग आफूले छलफल गर्ने र सहमतिको प्रयास गर्ने बताउँदै अर्काे दिनको बैठकमा सहभागी गराउने वचन दिएपछि देउवा बैठक सार्न तयार भएका थिए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीकै आग्रहमा सभापतिले बैठक शुक्रबारसम्म स्थगित गरिएको जानकारी दिए। ‘सहमतिको वातावरण बनोस् भनेर बैठक केही दिन पछि सारिएको हो’, उनले भने। आइतबार मात्र कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चुनावमा हारको जिम्मा सिंगो केन्द्रीय समितिले लिने, जिल्ला सभापतिको भेला जेठ मसान्तसम्म गर्ने र महासमिति बैठक आगामी भदौमा गर्नेलगायत निर्णय गर्दै सकिएको थियो।

पौडेल पक्षले ती निर्णय बहुमतको निर्णय भन्दै आफूहरूको असहमति कायमै रहेको बताएको थियो। बैठकका निर्णय महामन्त्री कोइरालाले नै लेखेका थिए।

उनी पार्टीको १३ औं महाधिवेशनमा पौडेल समूहबाटै उम्मेदवार महामन्त्रीमा विजयी भएका थिए। त्यसयता कांग्रेसभित्र सभापति देउवा र देउवासँगै महाधिवेशनमा पराजित पौडेलबीच अनेकौं टकराव भए पनि कोइरालाले मध्यमार्गी भूमिकामै आफूलाई प्रस्तुत गर्दै लगेका थिए। उनको भूमिका र प्रस्तुतीलाई कांग्रेस वृत्तमा कोइराला परिवार आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व लिने गरी समन्वयकारी भूमिकामा देखिएको टिप्पणी हुन थालेको छ।

रस्साकस्सीबीच गुट-गुटको प्रतिनिधित्व गर्दै पार्टीका विभिन्न नेताहरूले केन्द्रीय समिति बैठकमा धारणा राखिरहँदा पनि महामन्त्री कोइरालाले कुनै गुटको पक्षमा नलागी पार्टीमा गुटउपगुटभन्दा माथि उठेर पार्टीको हितमा आफ्नो भूमिका रहने र काम गर्ने बताएका थिए।

उनको भूमिकालाई लिएर सोमबार पनि पार्टी कार्यालयमा महामन्त्री कोइरालासँग सञ्चारकर्मीहरूले क्याम्प परिवर्तन गर्न खोजेको हो भनी सोधेका थिए। उनले कुटिल हाँसोका साथ आफ्नो भूमिकामाथि आशंका नगर्न आग्रह गरे। ‘म कुनै पनि गुटमा बसेर काम गर्दिनँ, पार्टीका लागि काम गर्छु’, उनले सञ्चारकर्मीसँग भने, ‘अनि मेरो भूमिकामा किन आशंका गर्ने ? ’

विश्लेषकहरूका अनुसार महामन्त्री कोइराला पार्टीमा आफ्नो भूमिका देखाउन खोजिरहेका छन्। चुनावी पराजयको आरोप-प्रत्यारोपमा रमाउने, एक अर्काेलाई दोषारोपण गर्नेभन्दा उनी सबैको सहानुभूति बटुलेर आगामी महाधिवेशनको तयारीमा लागेका छन्। कोइराला परिवारबाहिर गएको पार्टी नेतृत्व परिवारमा फिर्ता ल्याउन केही समययता उनीसहित डा.शेखर कोइराला, सुजाता कोइराला लगायतले ‘होमवर्क’ समेत गरेका छन्। यसबीच मिल्दै नमिल्ने र एक अर्काका प्रतिस्पर्धी ठानिएका कोइराला त्रयको मिलापले त्यही सन्देश दिएको छ।

कोइराला परिवारका नेताहरू अब पौडेललाई मात्र बोकेर राजनीति नचल्ने निष्कर्षमा पुग्न लागेको संकेत महामन्त्री कोइरालाले अहिले निर्वाह गरेको भूमिकाबाट बुझ्न सकिने विश्लेषक बताउँछन्।

‘१३ औं महाधिवेशनबाट देउवाको हातमा कांग्रेस नेतृत्व गएदेखि नै कोइराला परिवारले पार्टीभित्र आफूहरूले भूमिका देखाउने ठाउँ खोज्न थालेका थिए’, कांग्रेसको इतिहासबारे पुस्तक लेखेका राजनीतिशास्त्रका प्राध्यापक राजेश गौतम भन्छन्, ‘त्यसैले सुजाता, शेखर र शशांक एक पनि भए। उनीहरू आफ्नो खाँचो कांग्रेसलाई छ भन्ने देखाउन एकढिक्का भएका देखिन्छन्। सारमा उनीहरू अर्को महाधिवेशनमा कोइराला परिवारको नेतृत्व पार्टीमा कसरी स्थापित गर्न सकिन्छ भन्ने दाउमा छन्।’

कांग्रेसका युवा नेता प्रदीप पौडेल अहिले महामन्त्रीले निर्वाह गरेको भूमिका दुई पक्ष (देउवा-पौडेल) बीच समन्वयकारी नै देखिएको बताउँछन्। ‘पार्टीमा देखिएको दुई पक्षीय आरोप-प्रत्यारोप र बैठक बहिष्कार सम्मका कुरा महामन्त्रीकै कारण सहमतिको वातावरण उन्मुख देखिन थालेको छ’, उनले भने, ‘यसले पनि महामन्त्रीको भूमिका समन्वयकारी र पार्टी मिलाएर लैजाने खालकै देखिएको छ।’

महामन्त्री कोइरालाको पछिल्लो भूमिकाप्रति पौडेल र सिटौला भने सन्तुष्ट छैनन्। पौडेल पक्षका नेताले शशांकको भूमिकामाथि मुखै फोडेर प्रतिक्रिया नजनाए पनि आशंकारहित नभएको टिप्पणी गर्छन्। यसअघि वरिष्ठ नेता पौडेलले होलीका अवसरमा पार्टीका सासंदलाई आफ्नै निवासमा दिएको चियापानमा सभापति देउवा सहभागी भएका थिएनन्। त्यसलगत्तै महामन्त्री कोइरालाले आफ्नो निवासमा आयोजना गरेको चियापानमा भने देउवाले जनाएको सहभागितालाई लिएर पनि पौडेल क्याम्पमा आशंका उब्जिएको थियो।

महामन्त्री कोइरालाले असन्तुष्ट पौडेल पक्षलाई सोमबार पनि बैठकमा सहभागी गराउने जिम्मा नै लिए। उनले भने, ‘शुक्रबारको बैठकमा वरिष्ठ नेता पौडेललाई ल्याउने जिम्मा मेरो हो।’ उनले पार्टीका सबै शीर्ष नेता मिलेर अघि बढ्नुको विकल्प नभएकोमा पनि जोड दिएका थिए।

कोइराला नेतात्रय सुजाता, डा.शेखर र डा.शशांकबीच पटकपटक सुजाता र शशांक निवासमा वार्ता भइरहेको छ। सुजाता र शशांक निवासमा पटक पटक भएका वार्तामा महामन्त्रीमाथि सुजाता र शेखरले एउटै आरोप लगाउने गरेका छन्, ‘शशांक ऐनमौकामा देउवाकै पक्षमा उभिन्छन्।’

 

अन्नपुर्णबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ