वाम एकता, केमा अड्कियो गाँठो ?

2018-04-27

काठमाडौँ - दुई प्रमुख वाम पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता मुख्य विषयमा सहमति भएर प्राविधिक कुरामा गएर अड्किएको छ । दुई कम्युनिस्ट पार्टीबीच सबैभन्दा जटिल विषय सैद्धान्तिक तथा वैचारिक विषयमा सहमति जुटे पनि नेतृत्व तथा सांगठनिक व्यवस्थापनमा गएर कुरो अड्किएको हो ।

गत ७ फागुनमा नै पार्टीको लक्ष्य समाजवाद रहने र विचार तथा मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद (माले) रहने सहमति गरेका दुई दल मुख्य गरेर पार्टी नेतृत्व र एकतापछिको एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने भन्ने विषयमा पुगेर अड्किएका छन् ।

दुई पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण २३–२५ चैत अघि नै एकता सम्पन्न गर्ने तयारी गरे पनि सम्भव भएन । त्यसलगत्तै ९ वैशाखमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस तथा लेनिन दिवसको दिन पारेर एकता घोषणा गर्नेमा तयारीमा जुटे पनि विवादित विषय मिल्न बाँकी रहेपछि एकता प्रक्रिया झनै पछाडि धकेलिन पुगेको छ ।

फरकफरक पृष्ठभूमि र अलग सिद्धान्त तथा विचार अँगाल्दै आएका दुई पार्टीले सिद्धान्त र विचारमा त्याग गरे पनि अन्तिम समयमा नेतृत्व र संगठनात्मक व्यवस्थापन, निर्वाचन चिह्न र जनयुद्ध शब्दको विषयमा अड्डी लिँदा एकता घोषणा हुन नसकेको हो ।

९ वैशाखमा एकता घोषणा नभएपछि अब एकता कहिले हुने भन्नेसमेत अन्योल बनेको छ । कम्युनिस्ट स्थापना दिवसको दिन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले अब एकता तिथिमिति तोकेर नहुने भन्दै जुन दिन एकता हुन्छ भनिन्छ त्यो दिन नहुन सक्ने र जुन दिन हुन्न भनिन्छ त्यो दिन ड्याम्मै हुने भन्दै कार्यकर्तामाझ एकता जुनसुकै दिन हुन सक्ने सन्देश प्रवाह गरेका थिए ।

एकताको विकल्प नरहेको बताउने माओवादी केन्द्रका एक नेताका अनुसार दाहालको उक्त कुरा कार्यकर्ता तथा शुभचिन्तकमाझ सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले गरिए पनि दुई पार्टीबीच मतभेद भने अझै धेरै रहेको बताउँछन् । दुई पार्टीबीच नेतृत्व तथा संगठनात्मक व्यवस्थापन जटिल विषय बनेको छ ।

एकताको खाका तय गर्न गठित दुई कार्यदलमध्ये सांगठनिक तथा विधान मस्यौदा कार्यदलले निर्वाचन चिह्न र विधानमा जनयुद्धको विश्लेषणको विषय टुंग्याउन बाँकी राखेर प्रतिवेदन बुझाएको थियो । एकता संयोजन समितिको बैठकमा निर्वाचन चिह्न र जनयुद्धको विषय अझै पनि मिल्न बाँकी छ । समितिमा सहमति जुट्न नसकेपछि ४ वैशाखमा बसेको समितिको बैठकले विवादित विषय टुंग्याउने जिम्मा दुई अध्यक्षलाई दिएको छ । त्यसयता पटकपटक दुई अध्यक्ष छलफलमा जुटे पनि सहमतिमा पुग्न सकेका छैनन् ।

एमाले नेता सुवासचन्द्र नेम्वाङ एकता हुनेमा कुनै शंका नरहेको भन्दै दुई अध्यक्षबीच आपसी छलफलपछि एकता प्रक्रिया टुंगोमा पुग्ने बताउँछन् । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल दुई पार्टीबीच एकता भएरै छाड्ने भन्दै दुई अध्यक्षबीच छलफल सकारात्मक रहेको र छिट्टै एउटा निष्कर्षमा पुग्ने बताउँछन् ।

पछिल्लोपटक दुई पार्टीबीच एकतामा केही धरमरसमेत देखिन थालेको छ । ९ वैशाखमा एकता संयोजन समितिको आयोजनामा राष्ट्रिय सभामा आयोजित संयुक्त कार्यक्रममा ब्यानरको विषयमा तुष पैदा भयो ।

 

राजधानीबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ