2021-04-07 |
काठमाडाैं - एम्नेस्टी इन्टरनेसनलले नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा अत्यधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ।
एम्नेस्टीले बुधबार सन् २०२०/२०२१ को प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा हुँदै आएका शान्तिपूर्ण प्रदर्शनका प्रदर्शनकारी तथा अधिकारकर्मीहरुमाथि सुरक्षा बलले अत्यधिक बल प्रयोग गरी हिरासतमा लिने काम गर्दै आएको बताएको हो। प्रतिवेदनमा नेपाल सरकारले ‘नेपाल विशेष सेवा विधेयक’मार्फत् न्यायिक अनुमतिविना व्यक्तिको गोप्य जानकारी लिने व्यवस्था गर्न खोजेको उल्लेख गरेको छ।
नेपाल विशेष सेवा विधेयक संसद्को माथिल्लो सदनले गत जेठमा अनुमोदन गरेपछि तल्लो सदनमा विचाराधीन अवस्थामा रहेको छ। सूचना तथा सञ्चार मन्त्रालयले पर्याप्त कानुनी सुरक्षाविना नै अधिकारीहरुलाई व्यक्ति तथा संस्थामाथि निगरानी गर्ने, सूचना सङ्कलन र अभिलेख गर्ने गरी फराकिलो अधिकार दिने प्रावधानसहितको दूरसञ्चारसम्बन्धी विधेयक मस्यौदा तयार परेको विषय पनि प्रतिवेदनमा उल्लेख गरेको छ। सरकारले प्रस्ताव गरेको आमसञ्चार विधेयक, मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकमा संशोधन नभए नागरिकको अभिव्यक्ति स्वतन्त्रता घट्ने उल्लेख गरेको छ।
यस्तै, पत्रकारलगायत दर्जनौं व्यक्तिहरुलाई गलत सूचना फैलाएको वा कोभिड-१९ महामारीका सन्दर्भमा सरकारको आलोचना गरेकोमा पक्राउ गरेको र ३० वटा भन्दा धेरै वेबसाइट बन्द गरिएको पनि प्रतिवेदनमा उल्लेख छ।
सत्तारुढ दलले द्वन्द्वकालीन अपराधमा संलग्न भएकाहरुलाई पूर्ण र स्वतन्त्र अनुसन्धानविना शक्तिशाली पदहरुमा नियुक्ति गर्ने कार्य जारी राखेको पनि प्रतिवेदनमा उल्लेख छ। अक्टोबारमा राष्ट्रिय मानवअधिकार आयोगले २८६ जना आरोपित पीडक व्यक्तिहरुको नाम सार्वजनिक गरेको भए पनि सरकारले कारबाही नगरेको प्रतिवेदनमा औंल्याइएको छ।
कोभिड-१९ का कारण बन्दाबन्दी लागू भएपछि विदेशमा अलपत्र परेका लाखौं नेपाली आप्रवासी श्रमिकहरुको अधिकार संरक्षण गर्न सरकार विफल भयो। वैदेशिक रोजगार कल्याणकारी कोषको माध्यमबाट आप्रवासी श्रमिकहरुको संरक्षण र शुलभ स्वदेश फिर्ती प्रक्रिया सुनिश्चित गर्न सरकार असफल भएको पनि प्रतिवेदनमा उल्लेख छ। जेठमा कैलाली जिल्लाको क्वारेन्टिन सुविधास्थलमा बसेकी एकजना आप्रवासी महिला बलात्कृत भएको घटनालाई पनि प्रतिवेदनमा सामावेश गरिएको छ।
जुलाईमा अग्रिम सूचना नदिइकनै चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरुले दुईवटा घरमा आगो लगाउँदै र हात्ती प्रयोग गरी अन्य आठवटा घर ध्वस्त पार्दै आदिवासी जनजाति १० जेपाङ परिवारलाई जबर्जस्ती निष्कासन गरेको र देशैभरि अनौपचारिक रुपमा बसोबास गर्नेहरुलाई जबरजस्ती निष्कासन गरेको पनि उल्लेख गरेको छ।
नेपाल प्रहरीमा दुई हजार १०० भन्दा धेरै बलात्कार र यौन हिंसाका घटनाहरुका बारेमा उजुरी परेको र त्यसका पीडितहरु बालबालिका र दलितहरु रहेको उल्लेख छ। यद्यपि, सरकारले महिला र बालबालिकामाथि हुने एसिड आक्रमणलाई अन्त्य गर्ने उद्देश्यले असोजमा दुईवटा अध्यादेशहरु ल्याएको थियो।
सन् २०१७ मा जारी गरिएको मुलुकी अपराधसंहिताको यातना र अन्य दुर्व्यवहारलाई अपराधीकरण गरेको भएता पनि सन् २०२० को अन्त्यसम्ममा यस कानुनअन्तर्गत कसैलाई पनि दोषी ठहराएको देखिँदैन।
कास्की - नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले बताएका छन्। नेपाल ...
काठमाडौं- कोभिड-१९ (कोरोना) भाइरस संक्रमणको दोस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनचेतनामूलक अभियान सुरु गरेको छ। महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ...
काठमाडौं - आइतबार मात्र देशभर ३ सय ३ जना कोरोना संक्रमित भेटिए। जसमध्ये आधा संक्रमित काठमाडौं उपत्यकामा पुष्टि भएका संक्रमितहरु हुन्। गत २४ घण्टामा काठमाडौंमा ...