नेपालमा कोरोना भ्याक्सिन भित्र्याउन द्रुत कार्ययोजना पारित

2020-12-05

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापनका लागि द्रुत कार्ययोजना पारित गरेको छ।

विभिन्न देशले बनाएका कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रभावकारी हुँदै गएको र प्रयोगमा आउने देखिएपछि मन्त्रालयले नेपालमा पनि खोप भित्र्याउन, भण्डारण गर्ने, प्रयोगमा ल्याउन तथा उचित व्यवस्थापनका लागि द्रुत कार्ययोजना पारित गरेको हो।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उक्त योजना पारित गरेको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए। उनका अनुसार उक्त द्रुत कार्ययोजना अनुसार कोरोना भाइरसविरुद्धको भ्याक्सिनको व्यवस्थापनका लागि विभिन्न आठवटा क्षेत्र पहिचान गरी समिति गठन गरिएको छ।

मन्त्रालयले खोप व्यवस्थापनका लागि छुट्टै सचिवालयको व्यवस्थापन समेत गर्ने भएको छ। उक्त सचिवालयको संयोजक स्वास्थ्य सेवा विभागका महानिर्देशक हुनेछन्। विभागको महानिर्देशकमा हाल डा दिपेन्द्ररमण सिंह छन्।

मन्त्रालयले बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा श्यामराज उप्रेतीको संयोजकत्वमा खोप व्यवस्थापन प्राविधिक तयारी समिति बनाएको छ। उक्त समितिमा अन्य विज्ञहरु राखिएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।

उनका अनुसार मन्त्रालयले स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक चूडामणि भण्डारीको संयोजकत्वमा पूर्वाधार विश्लेषण तथा आवश्यकताको आँकलन गर्ने समिति बनाइएको छ। यो समितिले खोप भण्डारण गर्न आवश्यक पूर्वाधार कस्तो हुनुपर्छ? हाल नेपालमा भण्डारणको अवस्था के कस्तो छ? कोरोना भ्याक्सिनलाई भण्डारण गर्न कस्तो कोल्ड चेन चाहिन्छ? कसरी भण्डारण प्रभावकारी बनाउने लगायथका विषयमा काम गर्ने छ।

अनुगमन नियमन, अनुसन्धान तथा क्लिनिकल व्यवस्थापन गर्न मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा विकास देवकोटालाई जिम्मेवारी दिइएको छ ।

मन्त्रालयका नीति योजना अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनीलाई खोप कोष सञ्चालन समिति र सार्वजनिक सूचना प्रभाव संयोजक तोकिएको छ।

यस्तै मन्त्रालयले कोरोना भ्याक्सिन नेपाल भित्रिएपछि उक्त खोप कसलाई लगाउने भन्ने विषयमा प्राथमिकता निर्धारण गर्न अर्को समिति बनाएको छ। मन्त्रालयले उपचारात्मक सेवा महाशाखाका निर्देशक डा तारानाथ पोखरेलको संयोजकत्वमा समिति बनाएको छ।

मन्त्रालयले परिवार कल्याण महाशाखाका प्रमुख डा भीमसिंह तिंकरीको संयोजकत्वमा परिचालन योजना समिति बनाएको छ।

नेपालले कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिइने योजना बनाएको छ। कोभिडको भ्याक्सिन १५ वर्षभन्दा माथिका व्यक्तिहरुलाई मात्र दिइने छ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख एवं कोभिड भ्याक्सिन खोप सल्लाहकार समितिका सदस्य सचिव डा झलक शर्मा गौतमले अहिले विश्वमा बनिरहेका कोभिड विरुद्धको भ्याक्सिन १४ वर्षमुनिका बालबालिकालाई ट्रायल नगरिएको बताए।


उनले भने, ‘१४ वर्ष मुनिका व्यक्तिमा भ्याक्सिन परीक्षण भएको छैन। यो उमेर समूहमा कोरोना भाइरसको संक्रमणदर, अन्यलाई सार्न सक्ने क्षमता, असर र मृत्युदर कम छ। अर्थात् यो समूह अन्य उमेर समूहभन्दा कम जोखिममा पर्ने भएकाले विश्वमा यो उमेरलाई खोप दिइने छैन।’

कोभिड भ्याक्सिन सल्लाहकार समितिले नेपालमा भ्याक्सिन पाउने मानिसको संख्या, आवश्यक भ्याक्सिनको परिणाम, लागतको टुंगो लगाइसकेको छ।

नेपालले कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिइने योजना छ भने कोभ्याक्स फ्यासिलिटीमार्फत् २० र बाँकी सरकारले आफैं खरिद गर्ने गरी ४८ अर्ब रुपैयाँ बराबरको खर्च लाग्ने अनुमान गरेको छ। कोभ्याक्स फ्यासिलिटी खोपमा काम गर्ने संख्याहरु विश्व स्वास्थ्य संगठन, गाभी लगायतका संस्था मिलेर कोभिड खोपको लागि बनेको संस्था हो।

सुरुमा २० प्रतिशत भ्याक्सिन नि:शुल्क आउने बताइएको छ। त्यसमा पहिलो पहिलो चरणमा आउने ३ प्रतिशत भ्याक्सिन जोखिमका आधारमा स्वास्थ्यकर्मीलाई दिइने छ।

त्यसपछि आउने १७ प्रतिशत भ्याक्सिन सामाजिक दूरी कायम गरेर काम गर्न नसक्ने व्यक्तिहरु, दीर्घरोगी र वैदेशिक श्रममा जाने श्रमिकका लागिका दिइने योजना बनाइएको छ।

त्यसबाहेक, सरकारले खरिद गर्ने खोप लागि पनि सरकारले जोखिमको आधारमा दिने योजना बनाएको छ।

नेपालमा फाइजरको खोप आउने सम्भावना नभए पनि अन्य थर्ड फेजमा ट्रायल भइरहेका खोपहरु आउने छन्।

फाइजरको खोप नेपाल नआउने कारण भने खोप भण्डार गर्ने माइनस ७० डिग्री सेल्सियसको कोल्ड चेन नेपालमा छैन। तत्काल बनाउन समेत सम्भव नभएको स्वास्थ्य मन्त्रालयको भनाइ छ।

सरकारले माइनस २० डिग्री सेल्सियससम्म तापक्रममा भण्डारण गर्नुपर्ने खोपको लागि तयारी गरेको छ।

हाल नेपालमा दिइने खोपहरु २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गरिन्छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ