महासंघको ५४ औँ साधारणसभा राजधानीमा शुरु हुँदै, ६२ पदका लागि १२१ जनाबीच प्रतिष्पर्धा

2020-11-26

काठमाडौँ - अन्ततः नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभा तथा महासंघको नयाँ कार्यसमितिको निर्वाचन हुने भएको छ । कोभिड–१९ का कारण गत चैतदेखि प्रभावित हुँदै आएको महासंघको साधारणसभा तथा नेतृत्व चयनको प्रक्रियाले अन्ततः ८ महिनापछि औपचारिकता पाउने भएको हो ।

महासंघको ५४ औँ साधारणसभा बिहीबारबाट राजधानीमा शुरु हुँदै छ । वार्षिक साधारणसभासहित महासंघको नयाँ कार्यसमिति समेत चयन गर्ने सो सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै उद्घाटन गर्दैछन् । भर्चुअल माध्यमबाट हुने सोसभाको उद्घाटन बिहान साढे ११ बजेलाई तोकिएको छ ।

महासंघको कार्यतालिका अनुसार बिहीबार अर्थात् मंसिर ११ गते प्रधानमन्त्री मार्फत जुमबाट साधारणसभाको उद्घाटन गर्ने, मंसिर १२ गते (शुक्रवार) बिहान १० बजे जुमबाटै महासंघको साधारणसभाको बन्द सत्र कार्यक्रम सञ्चालन गर्ने र मंसिर १३ गते (शनिवार) बिहान ८ बजेदेखि ५ बजेसम्म निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

साधारणसभाका दुई कार्यक्रम जुममार्फत् महासंघबाटै गर्ने कार्यक्रम रहेपनि नयाँ कार्यसमिति छनोटको निर्वाचनका लागि भने महासंघले छुट्टाछुट्टै तीन स्थानको व्यवस्था गरेको छ । महासंघले उद्योग वाणिज्य समूहका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, एशोसिएट समूहका लागि कार्की व्याङ्क्वेट माइतीघर र वस्तुगत संघ समूहका लागि महासंघको आफ्नै सचिवालय, टेकुमा निर्वाचन केन्द्र रहने गरी व्यवस्था मिलाएको छ ।

कोभिड–१९ को महामारीकै बीच आयोजना हुँदै गरेको महासंघको साधारणसभा तथा निर्वाचनका लागि स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै छुट्टाछुट्टै समूहका लागि छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।

त्यसो त कोभिड–१९ को संक्रमण तथा स्वास्थ्य सुरक्षालाई नै ध्यानमा राख्दै कोभिड—१९ पोजेटिभ देखिएका मतदाताहरूलाई भने सबै समूहका लागि एउटै निर्वाचन केन्द्र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीबाटै मतदान गर्न पाउने गरी व्यवस्था मिलाईएको निर्वाचन अधिकृत लिलामणि पौडेलले बताए ।

यदि त्यस्ता मतदाताहरू भए आफै वा आफ्नो संस्था मार्फत यथाशक्य चाँडो निर्वाचन समितिलाई जानकारी गराउन समेत सबै व्यवसायी मतदाताहरुमा अनुरोध गरिएको अधिकृत पौडेलले बताए ।

६२ पदका लागि १२१ जना चुनावी मैदानमा

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष सहित तीन उपाध्यक्ष र ६० अन्य कार्यकारिणी सदस्यहरु गरि कुल ६४ पदका लागि निर्वाचन हुदैछ । प्रारम्भिक चरणमा कुल ६४ पदका लागि १२७ जनाले आंकक्षा देखाए पनि अन्तिम समयमा ४ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेपछि र २ जना निर्विरोध हुदा अहिले बाँकी ६२ पदका लागि १२१ जना चुनावी मैदानमा छन् ।

जस मध्यबाट १ वरिष्ठ उपाध्यक्ष, ३ विषयगत उपाध्यक्ष, ७ प्रदेश प्रतिनिधि सदस्य, १८ जिल्ला/नगर सदस्य, १४ वस्तुगत संघ सदस्य, १९ एशोसिएट सदस्य, २ द्विराष्ट्र सदस्य र १ संस्थापक सदस्य गरी कुल ६४ पदाधिकारी निर्वाचित भएर आउने छन् ।

अध्यक्षमा भने हालका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधानका कारण हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नै ५४औं साधारणसभा पश्चात् महासंघको अध्यक्ष बन्ने छन् ।

१ हजार १ सय ५७ जनाले मतदान गर्ने

महासंघको नेतृत्व चयनका लागि ६२ पदका लागि १२७ जना चुनावी मैदानमा लडिरहँदा कुल ६२ पदका लागि १ हजार १ सय ५७ जनाले मतदान गर्ने भएका छन् ।

महासंघको निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार १ हजार १ सय ५७ जना मतदाहरुको नाम भोटिङ लिस्टमा सूचीकृत भएको छ । जसमध्य जिल्ला र नगर तर्फबाट १०७, वस्तुगत तर्फबाट १०३ , एशोसिएट तर्फबाट ९२३ मतदाताहरु रहेका छन् ।

त्यस्तै, द्विराष्ट्रियबाट १२ र संस्थागत तर्फबाट पनि १२ गरी कुल १,१५७ मत रहनेछन् । यद्यपि यो नै अन्तिम मत रहने वा नरहने निश्चित छैन । निर्वाचन अधिकृत पौडेलका अनुसार मतदाताहरुको नामावली अन्तिम पटक अद्यावधि गर्दा यो संख्या घट्न पनि सक्छ । समितिले बिहीबार बिहानसम्म मतदाताको अन्तिम नामावली अद्यावधि गरी प्रकाशित गर्दैछ । जसमध्ये एसोसिएटतर्फका १२ देखि २० मतदाता रद्द हुने सम्भावना रहेको पौडेलले बताए ।

‘अहिलेसम्म हामीसँग भएका लिस्टेड मतदाताहरुको नामावली अनुसार सबै समूहमा गरी कुल १,१५७ मत हो । तर यो नै अन्तिम मत भने होइन । यसमा केही मत घट्न पनि सक्छन् ।’

निर्वाचन अधिकृत पौडेलले भने, ‘मर्जरमा गएका वा अस्तित्वमै नभएका कम्पनीको मताधिकार रद्द हुन सक्छ । यसले केही मतदाता संख्या घट्न सक्छ । के कति घट्छन् त्यो भने बिहीबार बिहान प्रकाशित हुने अन्तिम नामावली पछि मात्र थाहा होला’ पौडेलले भने ।

पौडेलका अनुसार यस्तो संख्या एशोसिएट समूहबाट १५–२० वटा सम्म घट्न सक्छ ।

यता मतदान प्रक्रियामा भने जुन समूहको निर्वाचन हो सोही समूहका सदस्यले मात्रै समूहगत रुपमा उठेका उम्मेदवारलाई मतदान गर्न पाउँछन् । तर वरिष्ठ उपाध्यक्षलाई भने सबैले मत दिन पाउने व्यवस्था गरिएको छ ।

निर्वाचनका लागि ५ किसिमको मतपत्र

निर्वाचनका लागि समितिले ५ किसिमको मतपत्रको व्यवस्था गरेको छ । छुट्टाछुट्टै ५ रङ्गमा उपलब्ध हुने मतपत्र विषयगत उम्मेदवारका छुट्टाछुट्टै पदका लागि प्रयोग गर्ने तयारी गरिएको समितिले जनाएको छ । तर कुन रङ्गको मतपत्र कसका लागि हुने भन्ने यकिन भइसकेको छैन । यसको निर्क्यौल बिहीबार मात्रै हुने निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए ।

महासंघको नेतृत्वका लागि दुई प्यानमा हुँदै गरेको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान भिड्दै छन् भने, जिल्ला÷नगर तर्फ दिनेश श्रेष्ठ र गुणनिधि तिवारी, वस्तुगत संघतर्फ पुष्पलाल श्रेष्ठ र अन्जन श्रेष्ठ र एशोसिएट तर्फ सौरभ ज्योति र रामचन्द्र संघाई भिड्दै छन् ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ