ओली सहमत नभए बिहीबार सचिवालयको औपचारिक बैठक बोलाउने प्रचण्डको तयारी

2020-11-11

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित बहुमत सचिवालय सदस्यहरुले बिहीबार सचिवालयको औपचारिक बैठक बस्ने तयारी गरेका छन्। त्यसका लागि बिहीबार बिहान छलफल गरी धारणा तय गर्नेछन्।

‘सायद बिहीबार सचिवालयको औपचारिक बैठक बस्छ होला’, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यदि प्रधानमन्त्रीज्यू बैठकमा बस्न मान्नु भएन भने बिहीबार बिहान छलफल गरी एउटा निष्कर्षमा पुग्छौं।’

प्रचण्डले बोलाउने बैठकमा केपी ओली पक्षका नेताहरु उपस्थित नभए पनि केही निर्णयहरु गरेरै अघि बढ्ने तयारी बहुमत पक्षको छ।

तर प्रधानमन्त्री ओली पक्षका स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री गुटको भेलामा सहभागी नहुने दाबी गरे। ‘नेकपा पार्टी विधानमा बैठक बस्नुपर्ने भएमा दुई अध्यक्षको परामर्शमा एजेण्डा तय गर्ने र त्यसैका आधारमा महासचिवले बैठक बोलाउने व्यवस्था छ', उनले भने, ‘विधानभन्दा बाहिर गई कुनै नेताले बैठक बोलाए भन्दैमा प्रधानमन्त्री जाने भन्ने हुँदैन।’

पार्टी विधान विपरीत बोलाइने जुनसुकै बैठक पनि गुटको भेला हुने गुरुङको भनाइ छ। ‘पार्टी विधानबाहिर गई प्रचण्ड कमरेडले बोलाए पनि गुटको भेला हुन्छ। त्यहाँ ओली जानुपर्छ भन्ने हुँदैन। ओलीले मात्रै बोलाए पनि गुटको भेला हुन्छ। त्यहाँ प्रचण्ड जानुपर्छ भन्ने छैन’, उनले भने, ‘यदि बिहीबार बस्ने सचिवालय बैठकमा दुई अध्यक्षबीच छलफल भई एजेण्डा तय भएमा औपचारिक बैठक बस्न सक्छ। त्यहाँ ओली पनि सहभागी हुनुहुन्छ।’

दुई अध्यक्षबीच छलफल नभई सचिवालय बोलाइए प्रधानमन्त्री ओली बैठकमा सहभागी नहुने गुरुङले बताए।

यसैबीच पार्टी महासचिव विष्णु पौडेलले बिहीबार बस्ने सचिवालय बैठकका विषयमा गृहकार्य भइरहेको बताए। ‘बिहीबार बस्ने बैठकका सम्बन्धमा अहिलेसम्म केही ठोस निर्णय भएको छैन’, पौडेलले भने, ‘यदि औपचारिक बैठक बस्ने भएमा सबैलाई खबर भइहाल्छ।’

पार्टी सचिवालयदेखि केन्द्रीय कमिटीसम्म ओली अल्पमतमा परेकाले बैठक बस्न आनाकानी गरेका छन्। पार्टी सचिवालयका ९ जनामध्ये ओली पक्षका ४ जना मात्रै छन्। त्यस्तै, स्थायी कमिटीका ४४ जनामध्ये उनको पक्षमा ११ जना छन्। केन्द्रीय कमिटीमा ओली पक्षभन्दा प्रचण्ड-नेपाल पक्ष बलियो छ। आफू अल्पमतमा पर्ने भएकाले उनी बैठकदेखि भागिरहेको प्रचण्ड-नेपाल पक्षका नेताहरुको भनाइ छ।

पार्टी कमिटीबाटै निर्णय गरी आफूलाई हटाउने भयका कारण उनले एकपछि अर्को बहाना गर्ने गरेको कतिपय नेताहरुको आकलन छ।

तर प्रवक्ता श्रेष्ठले मंगलबारको अनौपचारिक सचिवालय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै पार्टी कमिटीबाट प्रधानमन्त्री हटाउन थालेको रुपमा बुझ्न नहुने प्रतिक्रिया दिएका थिए। पार्टीमा छलफल गर्नुपर्ने एजेण्डा धेरै भएकाले बैठक राख्न आतुर भएको श्रेष्ठको भनाइ थियो।

गत शुक्रबार प्रचण्ड सहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले औपचारिक बैठक बसी बैठक बोलाउन अर्का अध्यक्षलाई आग्रह गर्ने निर्णय गरेका थिए। निर्णय बमोजिम बहुमत सचिवालय सदस्यहरु शनिबार ओलीलाई भेटेर बैठकको लागि आग्रह गरेका थिए। उनीहरुले दुई पाने लिखित पत्र पनि ओलीलाई बुझाएका थिए। साथै, बैठकका लागि सहमति जनाउन दुई दिनको समयसीमा पनि दिएका थिए। तर ओलीले त्यसलाई बेवास्ता गरिदिए। बरु विधान अनुसार गर्न महासचिव पौडेललाई निर्देशन दिए।

बहुमत पक्षको मंगलबार पनि अनौपचारिक बैठक बसेको थियो। बैठकले २७ गते बैठक बस्ने आशा गरेको थियो।

मंगलबारको बैठकअघि प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा प्रचण्डले बिहीबार सचिवालय बैठक बस्न प्रस्ताव गरेका थिए। तर, ओलीले ठोस जवाफ नदिएकाले बिहीबार औपचारिक सचिवालय बैठक बस्ने सम्भावना न्यून देखिएको छ। ओली बुधबार विकास निर्माणको अवस्थाबारे अवलोकन गर्न पूर्वी नेपाल गएका छन्। बुधबार बेलुकासम्म काठमाडौं फर्किने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ। सचिवालय बैठकलाई दुवै पक्षले प्रतिष्ठाको विषय बनाइरहेका छन्।




थप समाचार


सनाखत गरेर कोशीमा मुख्यमन्त्री नियुक्त गर्ने सहमति

सनाखत गरेर कोशीमा मुख्यमन्त्री नियुक्त गर्ने सहमति

काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नुपूर्व समर्थन गर्ने प्रदेश सांसदहरुको सनाखत गरिने भएको छ । शनिवार सांसदहरुको सनाखत गरिने भएको छ ।  आजै कांग्रेसका केदार ...

कालोमोसो दल्ने अभियान चलाएका दुर्गा प्रसाईलाई नै कसले लगायो कालोमोसो ?

कालोमोसो दल्ने अभियान चलाएका दुर्गा प्रसाईलाई नै कसले लगायो कालोमोसो ?

काठमाडौं : चर्चित व्यवसायी दुर्गा प्रसाईलाई कालोमोसो दलिएको छ । कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि अज्ञात समुहले कालोमोसो दलेको जनाईएको छ । ...

को-कोले दिए संसदीय समितिको सभापतिमा उम्मेदवारी ?

को-कोले दिए संसदीय समितिको सभापतिमा उम्मेदवारी ?

काठमाडौं ।प्रतिनिधिसभाको विभिन्न संसदीय समिति सभापतिमा सांसदहरुले उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच संसदीय समितिको सभापतिमा भएको भागवण्डाको सहमति अनुसार आइतबार ...




ट्रेन्डिङ