सत्ताको संवेदनहीनता र विरोधीका विच्छिन्न आन्दोलनहरु : नारायण शर्मा

2020-11-07

सत्ता शक्तिको श्रोत हो, शक्ति अहङ्कारको मूल र स्वार्थपूर्तिको साधन हो ! अहङ्कार अन्धोपनाको कारण हो र स्वार्थान्धता पनि बहिरोपनालगायत सिङ्गो संवेदनाहीनताको जननी हो ! जब सत्ता वा सत्ताका सर्वोच्च शासक सम्पूर्ण रुपले संवेदनाशून्य हुन्छन्, तब तिनका ज्ञानेन्द्रीय र विचारेन्द्रीय पनि निकम्मा हुन्छन् ! तिनका कर्मेन्द्रीयहरु भने खाली अजिङ्गर र कुम्भकर्णझैं खानेपिउने, सुत्नेउठ्ने र दिसापिसाव गर्नेमा मात्र सिमित हुन्छन् । तिनका वरिपरि र पेरिफेरिका आसेपासे र गासेदासेहरु अनि चाकरीवाज, चुक्लीवाल, चम्चा र चाप्लुस आदि चकारहरु अरिङ्गालको काममा मात्र आउँछन् !

सत्ताको यो सोंच, शैली र संस्कार सहितको अहङ्कार र हुङ्कारले गर्दा सत्तेतर शक्ति, सांसद, समूह र सरोकारवालाहरु समेत सत्येतर र शक्तेतर हुँदै गएका छन्, जो एउटा दुखद विडम्बना नै हो ।

आज देसमा जनता मात्र जागरुक, जिम्मेवार र जवाफदेही भै जम्जमाएर उठ्ने तर जनतालाई सचेत, संगठित र संघर्षरत बनाउने राजनीतिक पार्टी र मोर्चाका नायक-गायक र बाहक-धावकहरु भने आफूहरुभित्र रहेका सुधारवादी, संसदवादी र संशोधनवादी संकीर्णता र स्वार्थान्धताका कारण सत्ताविरोधी आन्दोलन नै अलमल , अन्यौल, अस्तव्यस्त र किंकर्तब्यविमूढ बन्न पुगेको छ ! यहाँसम्म कि सत्ताधारी पार्टीकै एउटा शक्तिशाली कार्यकारी अध्यक्ष र भूपू अध्यक्ष/प्रधानमन्त्री भएकाहरु पनि पार्टीमा अत्यधिक बहुमत हुँदा समेत विधिसम्मत बैठक बस्न र सिन्को भाँच्ने निर्णयसम्म गर्न नसक्ने हुनु लाचारीको विषय पनि भएको छ ।यसैगरी सरकार र सदनको प्रतिपक्षी ठान्ने राष्ट्रिय पार्टी पनि सरकारबाट एकाध नियुक्ती र सदनबाट एकाध सभापती प्राप्तिमै तुहिएर कुहिएको अवस्था पनि हालको नेपालको एक अर्को दुखद विडम्बना हो !

विगत एक-डेढ बर्ष अघिदेखी वर्तमान सत्ताले गरिरहेका राष्ट्रियता, जनतन्त्र, जनजीविका, विकास, समृद्धी र समाजवादविरोधी राष्ट्रघाती, भ्रस्टाचारजन्य? स्वैच्छाचारी, निरङ्कुस र शोषण-दमनकारी कृयाकलापहरुले जनतामा असन्तुष्टि र आक्रोशको मात्रा चुलिएको छ र विद्रोहनिम्ति वातावरण विष्फोटक नै बन्न पुगेको छ ! यस विष्फोटक स्थितिमा सलाई कोरेर आगो लगाउने र पुरानो सत्तालाई ध्वस्तखरानी बनाएर जनतालाई क्रान्तिको अनुभूति गराउने भन्ने दर्जनौं दलहरु र सयौं नेताहरुनै जान-अन्जान रुपमा संसदवादको डरलाग्दो दलदलमा फसेका छन् र सत्ताका विरुद्धमा न सरकारभित्रबाट, न सदनभित्रबाट न त सडकबाट नै कुनै निर्णायक संघर्ष गर्न सकेका छन् ! सत्ताको यही गैरजिम्मेवारिता, संवेदनहीनता र निरङ्कुशताकै कारणले त यसप्रकारको संसदीय व्यवस्था, संसद, संसदीय र सहरिया-शान्तिपूर्ण संघर्ष गर्ने दल/पार्टी र नेताहरु सबैका सबै यसरी निरीह र निकम्मा साबित भएका हुन् !

हाम्रो देसमा त अहिले यी दलहरुका आन्दोलनहरु विच्छिन्न मात्र होइन, विचित्रका पनि भएको पाइन्छ ! नेपालमा आज कोही पनि दल र नेता छैन, जस्ले संघर्ष, आन्दोलन, विद्रोह र क्रान्तिको कुरा नगर्ने होस् ! तर ती सबैका आन्दोलनका कुरा कुरैकुरामा सीमित वा बार्गेनिङमा आधारित संघर्षमा वा मात्रात्मक परिवर्तन र प्राप्तिजस्ता झिनामसिना तपसिलका विषयमा मात्र सिमित छन्, कुनै गुणात्मक र निर्णायक आन्दोलनको मुड र मनस्थितिमै छैनन् ! यहाँसम्म कि आफूलाई शान्तिपूर्ण संघर्षको सीमाबाहिर सशस्त्र संघर्षको हिसाबले सोंच्ने र तत्कालै केही गर्ने र देखाइदिने भन्दै हिंडेको विप्लव समूह पनि न शान्तिपूर्ण/सुधारवादी/मात्रात्मक परिवर्तनको आन्दोलन गर्नसक्ने न त क्रान्तिकारी/गुणात्मक/निर्णायक आन्दोलन गर्नसक्ने भएर किंकर्तब्यविमूढको अवस्थामा पुगेको दुखद अवस्था छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय वस्तुगत र आत्मगत अवस्था अनुकूल नभएर आन्दोलन गर्न नसक्नु एउटा कुफरा हो तर यहाँ त वस्तुगत अवस्था अत्यन्तै अनुकूल हुँदा पनि आत्मगत तयारी नगरेर नभएको देखाएर आन्दोलन निर्णायक बनाउन नचाहेको पाइनु विडम्बना भएको छ ! आफूलाई सदाबहार क्रान्तिकारी र मालेमावादी सच्चा कम्युनिस्ट ठान्ने स्थापित हस्तीहरु नै साँच्चिकै खतरा मोलेर आन्दोलन गर्ने मनस्थितिमा नहुनु तर आत्मगत तयारी नपुगेकोले संघर्षलाई निर्णायक बनाउन सकिएन र सकिन्न भन्नू वास्तवमा नेतापंक्तिदेखी कार्यकर्ता- जनतासम्म सबैलाई धोका नै हो ! कुरा, भाषण, वक्तव्य, अपिल, विधान, प्रतिवेदन र लेख-रचनाहरुमा क्रान्तिका चर्का, ठुला र भरमार कुरा गर्ने र इतिहासमा क्रान्तिकारीको रुपमा आफूलाई दर्ज गराउन त खोज्ने तर क्रान्तिका नाममा भूमिगत बन्ने, दुखकष्ट खप्ने, खतरा मोल्ने र त्यागबलिदान गर्न यो वा त्यो बहानामा तयार नहुने रक्तहीन क्रान्तिको यो सोंच क्रान्तिकारी त होइन र हुनैसक्तैन बरु क्रान्तिप्रेमी सोंच भने हो भन्न सकिन्छ !

यसरी व्यवहारमा माखो पनि नमार्ने र कुनै क्षतिबिना नै क्रान्तिकारी बन्न र देखाउन खोज्ने यो चिन्तन र चरित्र अन्ततः, सारत:, व्यवहारत: र परिणामत: छद्म संशोधनवादी अवसरवाद नै हो ! सहर र राजधानीका सुविधासम्पन्न घरहरुमा बसेर, प्राइभेट गाडिमा हुइँकिएर, पाँचतारे होटेलहरुमा आयोजित कार्यक्रमहरुमा भीषण-भाषण ठोकेर, माइतिघर मण्डलामा र शान्तिबाटिकामा सौ-दुई सौ नेता र सोझा कार्यकर्तालाई उफारेर, देसविदेसका अवान्छित व्यक्ती र शक्तिहरुबाट "सहयोग" लिएर वा मेयर, सांसद र मन्त्री लिएर, वर्गीय आन्दोलनको माथी वा समकक्षमा जातीय, क्षेत्रीय, लिंगीय, भाषिक, धार्मिक र सांस्कृतिक आन्दोलनहरुलाई राखेर भावनालाई प्रधान र निर्णायक बनाएर कम्युनिस्ट विद्रोह र क्रान्ति हुने भए आजसम्म भैसक्थ्यो ! कुरा सँधै चर्का र ठुला गर्ने तर संघर्ष चर्काएर ठूला-ठुला गर्नेभन्दा तर्क, वितर्क र कुतर्क गरेर वा कुनै बहानावाजी गरेर दुला-दुला पस्ने यो प्रवृत्ती "धाकधम्की ठुलैठुला, हिंड्न लागे खुट्टै लुला" गर्ने चिन्तन र प्रवृत्तिसित खुबै मेल खान्छ !

अर्को विडम्बना यो पनि छ कि केही आन्दोलनरत राजनीतिक शक्ति र व्यक्तिहरु यतिसम्म संकीर्ण छन् कि संयुक्त आन्दोलनको नामै सुन्न चाहन्नन् र जो चाहन्छन् तिनले फेरि आन्दोलनलाई उत्कर्ष र निष्कर्षमा पुराउन चाहँदैनन् र यसलाई विस्तार, सुदृढ, व्यापक र सशक्त बनाउन आवस्यक मेहनत नै गर्दैनन् ! यो परिस्थिति र मनस्थितिले उनीहरुले निर्मम आन्दोलन गर्न सक्ने कुरै भएन । सत्ताको यो संवेदनहीनताको अवस्थामा जहाँ आँखाकान फुट्नेगरी उस्लाई बजाएर सुन्ने, गुन्ने र मान्ने गराउन अथवा अठ्ठा जोकर बनाउन जरुरी छ, त्यहाँ सामान्य पार्टी भित्री संघर्ष, संसदभित्रको संघर्ष र सडकको संघर्ष पनि प्रभावकारी र परिणाममुखी हुन-गराउन नखोज्नु-नसक्नु र विल्कुल व्यक्तिगत, विकेन्दृत, विशृङ्खलित, विभाजित र विच्छिन्न हुनु विस्मयपूर्ण बाटो हो !

त्यसैले अब अन्तिम पटक सम्बन्धित सबै संघर्षशील व्यक्ती र शक्तिहरुले आआफ्ना सीमा, समस्या र सोंचहरुलाई सच्चाउने, शुद्धीकरण गर्ने र रुपान्तरित भएर विच्छिन्न आन्दोलनहरुलाई एकीकृत र केन्द्रीकृत गरी निर्णायक र परिणाममुखी बनाउनु अहिलेको ठोस र वस्तुवादी आवश्यकता हो । यतिबेला यत्ती कुरा पनि गर्न नसक्ने हो भने संवेदनाहीन सत्ताले सबै संघर्षरत शक्तिहरुलाई सधैभरिको लागि सुताउने सुनिश्चितजस्तै हुनेछ र त्यतिबेला कि त यही संवेदनाशून्य सत्ताको सेवामा सहर्ष समर्पित हुनुपर्नेछ कि भने पश्चात्तापको भूमरीमा लामोसमयसम्म पिल्सिरहनु पर्ने पक्का छ ।
धन्यवाद !

 

लेखक नारायण शर्मा नेकपाका नेता हुन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ