घुस खुवाएर त्रिविको गोल्ड मेडल किन्ने काममा संलग्न ३ जनै दोषी ठहर

2020-09-30

काठमाडौं - विशेष अदालत काठमाडौंले घुस खुवाएर त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहका परीक्षामा गोल्ड मेडल लिएका विद्यार्थी र त्यसमा संलग्न पदाधिकारीलाई दोषी ठहर गरेको छ। विशेष अदालतले त्रिविको आंगिक क्याम्पस भक्तपुर बहुमुखी क्याम्पस दुधपाटी भक्तपुरमा शिक्षण सहायक (आंशिक) पदमा कार्यरत सुरेन्द्रप्रसाद कोइरालालाई एक वर्ष २ महिना कैद हुने फैसला सुनाएको छ।

कोइरालालाई बिगो र जरीवाना गरी चार लाख ५७ हजार रूपैयाँ जरिवाना गर्ने विशेषले फैसला गरेको छ। विशेषले मंगलबार उक्त मुद्दामा अन्तिम फैसला सुनाएको हो।

विशेषका न्यायाधीशहरू शिवराज अधिकारी, बालेन्द्र रूपाखेती र रवि शर्मा अर्यालको इजलासले फैसला सुनाएको हो। विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयका अनुसार कोइरालालाई प्रश्नपत्रको गोपनीयता भंग गरेको अभियोगमा ६ महिना कैद र सात हजार जरिवाना तथा घुस खुवाएको अभियोगमा ८ महीना कैद र चार लाख ५० हजार जरिवाना भएको हो।

कोइरालाले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय मानविकी संकायतर्फको एमए गोप्य शाखाका शाखा अधिकृत रामबहादुर कर्माचार्यलाई एक लाख ५० हजार घुस दिएर आफ्नो प्राप्तांक बढाउन लगाएका थिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एमए इकोनोमिक्समा गोल्ड मेडल ल्याउने उद्देश्यले अन्य विद्यार्थीको भन्दा बढी अंक हुने गरी अंक थप गराई प्रथम श्रेणीमा उत्तीर्ण गरेको अभियोग लगाएको थियो।

कोइरालाले एमए ग्रामीण विकासको परीक्षामा पनि त्यसैगरी नम्बर थप्न लगाएर प्रथम श्रेणी प्राप्त गरेका थिए भने एमए समाजशास्त्रको परीक्षामा अनुपस्थित हुँदाहुँदै पनि उत्तीर्ण भएका थिए। कोइरालाले एमएमा अर्थशास्त्र, ग्रामीण विकास र समाजशास्त्र संकायका १५ वटा विषयमा ३ नम्बरदेखि ५० नम्बरसम्म थप गर्न लगाएर कुल २२४ अंक थप गराएका थिए।

त्यसका लागि कर्माचार्यलाई एक लाख ५० हजार घुस खुवाएका थिए। त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुमा गोप्य शाखामा कार्यरत कर्माचार्यले त्रिभुवन विश्वविद्यालयको मर्यादाविपरीत गोपनियता भङ्ग गरी आफ्नो ओहोदा र पदको दुरूपयोग गरी परीक्षाको परिणाम फेरबदल गरेको ठहर विशेषले गरेको छ।

कर्मचार्यले केदार भट्टराईबाट पनि तीन लाख घुस लिएर उनको एमए अर्थशास्त्र संकायको पाँच वटा विषयमा १०/१० नम्बरको दरले ५० अंक थप गरिदिएका थिए। त्यसपछि भट्टराई पनि प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए। अख्तियारले चार लाख ५० हजार बिगो कायम गरी अदालतमा यी तीनै जनाविरुद्ध मुद्दा चलाएको थियो।

विशेष अदालतले केदार भट्टराईलाई ११ महिना कैद र तीन लाख ५ हजार रूपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।

त्रिविको मर्यादाविपरीत प्रश्नपत्रको गोपनीयता भंग गरेकोमा भट्टराईलाई चार महिना कैद र पाँच हजार रूपैयाँ जरिवाना तथा घुस दिएकोमा सात महिना कैद र तीन लाख रूपैयाँ जरिवाना हुने फैसला गरेको हो।

त्यस्तै, परीक्षा नियन्त्रण कार्यालय बल्खुमा गोप्य शाखामा कार्यरत रामबहादुर कर्माचार्यलाई ११ महीना कैद र १ लाख ५५ हजार रूपैयाँ जरिवाना हुने फैसला भएको छ।

अधिवक्ता समेत रहेका कोइरालालाई विशेषले ८० हजार धरौटीमा रिहा गरेको थियो। कोइरालासँग तीन वटा विषयमा पैसा खुबाएर नम्बर थप गरेको रहस्य खुलेको थियो। परीक्षा नियन्त्रण कार्यालयको गोप्य शाखाका कार्यरत अधिकृत राम कर्माचार्यसँग पनि ८० हजार रुपैयाँ धरौटी मागेको थियो।

आयोगले दुवै जनाविरुद्ध जनही चार लाख ५० हजार रुपैयाँको बिगो दाबी गरेको थियो। तीनवटा विषयमा स्नातकोत्तर गर्दा कोइरालाले त्यसभित्रका विभिन्न १५ वटा विषयको नम्बर सच्याएको आरोप लागेको थियो। गोप्य शाखाका प्रमुख कर्माचार्यले मार्क स्लिपबाट मार्क लेजरमा नम्बर सार्दा ‘थपेको तथा फेरेको’ अख्तियारको दाबी थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ