झापा कारागारका ८ जना कैदीबन्दीलाई कोरोना देखिएपछि जेलमा त्रास

2020-09-26

झापा - झापा कारागारमा सात जना कैदीबन्दीलाई एकैपटक कोभिड–१९ को संक्रमण पुष्टि भएपछि त्रास फैलिएको कैदीबन्दीले बताएका छन् ।

क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको झापा कारागारमा एक सातादेखि सयौँ जनामा कोभिडको जस्तै ज्वरो, रुघाखोकी र पखालालगायतका लक्षण देखा परेको उनीहरुको भनाइ छ। गत साता काठमाडौँ लैजान लागिएका एक कैदीमा कोरोना संक्रमण पुष्टि भएको थियो। शुक्रबार सात जना थपिएपछि अब झापा कारागारमा संक्रमितको संख्या आठ पुगेको छ। उनीहरुको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा उपचार भइरहेको छ।

‘कोभिडको जस्तै लक्षण भएका बिरामीको संख्या दिनहुँ बढिरहेको छ’, झापा कारागारका कैदीबन्दीको नेतृत्व गर्दै आएका आन्तरिक प्रशासन प्रमुख मोहन धितालले भने, ‘राज्यका तर्फबाट स्वास्थ्य सुरक्षा र उपचारका विषयमा भरपर्दो कुनै उपाय अवलम्बन नगरिँदा हामीले असुरक्षित महसुस गरेका छौँ ।’

उनले हाल झापा कारागारमा ८२ महिला र एक हजार ६१ पुरुष गरी कैद भुक्तान गरिरहेका र पुर्पक्षका लागि थुनामा राखिएका जम्मा एक हजार १४३ कैदीबन्दी रहेको बताए। जबकि यो कारागारको क्षमता ३५० मात्र हो । पालो गरेर सुत्नुपर्ने र कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहेको, कारागारमा सामाजिक दूरी कायम हुन असम्भव रहेको, उपचारको नाममा एक जना अहेवले जाँचेर सिटामोलमात्र दिने गरेको, साबुनपानी तथा स्यानिटाइजर उपलब्ध नभएको उनले गुनासो गरे।

अर्का कैदी रमेश पोखरेलले थुनेर राखेका कैदीबन्दीको पनि बाँच्न पाउने नागरिक हक भएकाले राज्यले तत्काल कारागारमा कैदीबन्दीको चाप घटाएर स्वास्थ्य सुरक्षा र उपचारको प्रबन्ध मिलाउनुपर्ने माग गरे। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार कैदीबन्दीमा सामाजिक दूरी कायम हुन नसक्ने अवस्था भएकाले सर्वोच्च अदालतले गत महिना दिएको आदेशअनुसार सरकारले कारागारमा कैदीबन्दीको चाप घटाउनु पर्ने उनको धारणा छ । ‘हामी पनि राज्यका नागरिक नै हौँ’, संक्रमणका बेला बाँच्न पाउने कैदीबन्दीको हकको हनन भइरहेको दाबी गर्दै पोखरेलले भने।

झापा कारागारमा हाल कोभिडले धेरै सताउने ठानिएको स्वासप्रस्वास (दम) का १००, टिबीका २०, किड्नीका आठ, मुटुका १२ , मानसिक बिरामीका ३५, एचआइभीका चार, मधुमेहका ३० र ज्येष्ठ नागरिक ९० जना कैदीबन्दी छन्।

कैदीबन्दीमा कोरोनासँगै मौसमी ज्वरो फैलिएको जनाउँदै झापा कारागारका प्रमुख राजेन्द्र गौतमले अत्यधिक चापका कारण कैदीबन्दीमा सामाजिक दूरी कायम गर्न नसकिने बताए। उनले सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले कारागारभित्रकै एउटा ब्लकलाई आइसोलेसनको रुपमा सञ्चालन गर्ने तयारी भइरहेकोे बताए। रासस




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ