विना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेका विश्वकीर्तिमानीको निधन

2020-09-21

काठमाडाै‌ - प्रख्यात आरोही आङरिता शेर्पाको निधन भएको छ। आज बिहान १० बजे उनको जोरपाटीस्थित छाेरीकाे निवासमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए।

सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय आङरिताको पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ। बुधबार बौद्धधर्म अनुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ।

उनले सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका थिए। सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो। सर्वोच्च शिखर सगरमाथामात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट के२ तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटकपटक आरोहण गरेका थिए।

आङरिताको आरोहण यात्रा

सन् १९४८ मा जन्मिएका आङरिताको पुख्र्यौली पेशा चौरीपालन भए पनि १५ वर्षकै उमेरदेखि उनी आरोहणमा लागेका थिए। पहिलो पटक करीब २० वर्षका उमेरमा चोयु हिमाल आरोहण गरेका उनले विनाअक्सिजन पहिलो पटक १९८३ मा सगरमाथा चुचुरामा पाइला टेकेका थिए।

आरोहणका क्रममै रहेका बेला बिरामी भएपछि उनको आरोहण यात्रा रोकिएको थियो। उनी बिरामी भएका बेला तत्कालीन राजा वीरेन्द्रले युवराज दीपेन्द्रलाई घरैमा भेट्न पठाएका थिए। गोपीकृष्णस्थित भाडाका कोठामा बसेका शेर्पालाई भेट्न आएका दीपेन्द्रले ‘बुबा (वीरेन्द्र) ले आरोहणबाट सन्न्यास लेऊ भन्ने हुकुम भएको छ’ भनेका थिए। त्यसपछि उनी आरोहणमा नगएको परिवारको भनाइ छ ।

त्यसबेला राजा वीरेन्द्रले चाहना र आवश्यकता के छ भनेर सोधे पनि आफूले केही पनि चाहना व्यक्त नगरेको आङरिताले पत्रकारसँगको भेटमा भन्ने गरेका थिए। सन् १९९६ तिर दीपेन्द्रले ‘दरबार आउनू’ भनेको भए पनि दरबार नगएको बताउने शेर्पा नेपाल सरकारबाट त्यसबेला त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहुजस्ता तक्माबाट भने सम्मानित भएका थिए।

उनको विना अक्सिजन दश पटक सगरमाथा आरोहणको विश्वकीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन्। नेपालको नाम विश्वभरि फैलाउन सफल आफूलाई भारत सरकारले उतै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव राखे पनि नगएको बताउने शेर्पालाई नेपाल सरकारबाट भने खासै सहयोग प्राप्त नभएको उनकी छोरी डोमाले बताइन्।

यद्यपि उनको आर्थिक अवस्था दयनीय भएको जनाउँदै नेपाल पर्वतारोहण सङ्घले नियमित सहयोग गर्दै आएको थियो। छोरीका अनुसार पर्वतारोहण सङ्घले मासिक रु १५ हजार दिँदै आएको थियो। आङरिताका तीन छोरा र एक छोरी छन् । जेठ छोरा कर्साङ आरोहण पेशामै छन्। माहिला छोरा छेवाङ दोर्जे भने अमेरिकामा छन्। कान्छा छोरा फुरानुरु भने खुम्बुमै चौरी धपाउने काम गर्छन्। छोरी डोमा जोरपाटीमा छिन्। आङरिता उनै छोरीसँग बस्दै आएका थिए। आङरिताको सात वर्षअघि पत्नीको निधन भएको थियो। रासस




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ